|

काठमाडौं : सरकारले कोरोना नियन्त्रणका लागि भन्दै पहिलोपटक ०७६ चैत ११ गते लकडाउनबाट गर्‍यो। लामो समयसम्म भएको लकडाउनले दैनिक ज्यालादारी गर्ने र सडकपेटीमा बस्ने गरिबहरू भोकभोकै बस्न बाध्य भए। सरकारले बीचमा लकडाउन खोल्यो। कोरोना संक्रमण फैलँदै गएपछि सरकारले फेरि भदौ ३ गतेबाट निषेधाज्ञा जारी गरेसँगै मजदुर र गरिबी फेरि भोकभोकै र विचल्लीमा छन्। 

तर, केही व्यक्ति यो संकटको बेला पनि उनीहरूको सारथि बनिरहेका छन्, त्यसमध्येका एक हुन् अजय अधिकारी (सुशील)। बौद्ध, कुमारीगालमा रहेको समता स्कुलका प्रिन्सिपलसमेत रहेका समाजसेवी अधिकारी अहिले घरमै खाना बनाएर स्वयम्भू, कालीमाटी,सोह्रखुट्टे,बालाजु,पशुपतिलगायत स्थान पुगेर निःशुल्क खाना दु:खी गरिबहरूलाई खुवाइरहेका छन्। 

उनी भन्छन्,‘सडक पेटीमा जीवन बिताउने मान्छेहरूसँग म पहिलेदेखि नजिक छु। अरू बेलामा उनीहरूलाई जो कोहीले खाना दिन्छन्। तर अहिलेको यस्तो परिस्थितिमा मान्छेहरू बाहिर निस्किएका छैनन्। त्यसैले उनीहरूलाई समस्या परेको छ। आफूले सक्दो उनीहरूको भोक मेटाउन सक्यो भने पुण्य हुन्छ भनेर निःशुल्क खाना दिँदै आएको छु।’ उनी कलाकारसमेत हुन्।

प्रत्येक दिन २० देखि ३० जनालाई भोजन सेवा गर्दै आएको उनी बताउँछन्। ‘अहिले गरिरहेको भोजन सेवा व्यक्तिगत हो,’उनले भने,‘सधैँ मैले मात्रै त गर्न सक्दिनँ, त्यसैले कहिलेकाहीँ मेरा मनकारी मित्रहरूले सहयोग गर्नुहुन्छ। यो संकटको बेला यति मानवीयता धर्म देखाउनु ठूलो कुरा हो।’

दिउँसो कमाएर साँझ खानेहरू पनि अहिले सडकमा एक छाक खानकै लागि सडकमा निस्किने गर्ने गरेको उनले सुनाए। अजय थप्छन्,‘घरबाटै खाना बनाएर लानुपर्ने भएकाले अलिक कठिन छ। तर, अझै हार खाएको छैन। यो सेवा अझै बढाउने सोचमा छु।’

यस्तो संकटको बेला सरकारले मजदुरी गरेर जीवनयापन बिताउने गरिबीलाई सहयोग गरेको भए उनीहरूलाई सहज हुने उनको बुझाइ छ। अजय जस्तै यही संकटको बेला अर्का ‘छिरिङ डोल्मा शेर्पा फाउन्डेसन’का अध्यक्ष छिरिङ डोल्मा शेर्पा पनि मजदुरहरुलाई निःशुल्क खाना खुवाउँदै आएकी छन्। समाजसेवी उनी अहिले बौद्ध,जोरपाटी क्षेत्रका सडकमा रहेका मजदुरीहरूको भोक टारिरहेकी छन्। उनले भनिन्,‘यो संकटमा परेका गरिबी,मजदुरीलाई निःशुल्क खाना खुवाउँदै आएको छु। बुधबार मात्रै एक सय जनालाई खाना दिएँ।’

उनले अहिलेसम्म करिब १२ सय जनालाई खाना खुवाउँदै आएको सुनाइन्। ‘अहिले बाहिर सडकमा निस्कियो भने मजदुरीहरू सडकमा भोकै सुतिरहेका हुन्छन्,’उनले भनिन्,‘ती दृश्यले मनै पोल्छ। त्यही भएर खाना दिइरहेको छु। यस्तै हो भने कोरोनाले भन्दा पनि भोकले मर्ने रहेछौँ। यस्तोबेला सरकारले धर्म त निभाउनुपर्ने थियो। तर, छैन।’ उनका अनुसार निषेधाज्ञाले मजदुरहरू काम गर्न पाएका छैनन्। त्यसैले उनीहरू अहिले कतिपय भोकै रात काट्न बाध्य छन्।

अझै उनले सक्दो निःशुल्क खाना खुवाउने सोच बनाएको उनले सुनाइन्। ​उनले भनिन्,‘छिरिङ डोल्मा शेर्पा फाउन्डेसन स्थापना भएसँगै हामी विभिन्न सामाजिक कार्यमा अघि बढ्ने योजना लिएर लागिपरेका छौँ। आगामी दिनहरूमा अन्य विभिन्न सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्यमा हातेमालो गर्नेछौँ।’ उनी मोडलसमेत हुन। 

शेर्पाले हिमाल आरोहणदेखि पर्यटक पदयात्रामा जाँदा दुर्घटनामा परी निधन भएका गरिब नेपाली परिवारहरू शिक्षाबाट वञ्चिच हुन नपरोस् भनेर‘छिरिङ डोल्मा शेर्पा फाउन्डेसन’ कोष खडा गरी पर्यटन गाइडदेखि भरियाहरुको बालबालिकाहरुलाई कम्तीमा वर्षमा २ जनालाई निःशुल्क शिक्षा प्रदान गर्ने, विद्यालयमा पठनपाठन गराउने उद्देश्य बोकेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.