|

कपिलवस्तु : कोरोना अस्पतालमा बुधवार ज्यान गुमाएकी मृतकका परिवारलाई ११ दिनयता क्‍वारेन्टाइनमै राखिएपनि अझै स्वाब संकलन र परीक्षण नगरिएको थाहा भएको छ। 

कृष्णनगर नगरपालिका-११ बस्ने ७० वर्षीय महिलामा भाद्र ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। मृत्यु हुनुअघि ढाड दुखाइको समस्या भोगिरहेकी ती महिला उपचारका लागि शिवराज अस्पताल पुगेकी थिइन्‌। तर, अस्पतालबाट फर्किउको ५ दिनपछि खाना खान मन नलाग्‍ने र स्वास फेर्न गाह्रो हुन थालेपछि पुन: उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको थिइन्‌। पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

कृष्णनगरदेखि ४ किलोमिटर पश्चिममा पर्ने रामनगर गाउँमा बस्ने मृतकका परिवारलाई ९ गते कर्मचारी पुगी कन्टयाक्ट ट्रेसिङ गरेका थिए। तर, त्यसयता नगरपालिकाले कुनै चासो नदेखाएको परिवारका सदस्यहरूले बताएका छन्‌। 

दुई दिन पछि स्वाब लिने जानकारी दिएर गएपनि त्यसपछि सम्पर्क समेत नगरेको लक्ष्मी नारायण कुर्मीले बताए। परिवारका सदस्यहरू बुधवारदेखि मृतकको काजक्रियामा बस्दैछन्।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता भट्टले परीक्षण गर्ने भिटिएम कम हुँदा स्वाब सङ्कलन नगरेको बताएकी छिन्। नगरपालिकाले शुक्रवारसम्म पीसीआर गर्ने तयारी गरेको छ। नगरपालिका सँग ५ सय भन्दा बढी भिटिएम स्टक रहेको छ।

‘पीसीआर परीक्षणको रिपोर्ट समयमा नआउँदा परीक्षण गर्न समेत असहज बनेको छ, नतिजा समयमा नआउँदा स्वाब सङ्कलन ढिलाइ भएको छ,' भट्टले भनिन्। 

छिमेकी टाढिए

लामो समयसम्म पीसीआर परीक्षण नहुँदा मृतकका परिवारसँग छिमेकी समेत टाढिएका छन्‌। घरअगाडी देखिनै छाडेका छन्।

मृतकको परिवारलाई घरमा आवश्यक सामान ल्याउन पनि समस्या परेको छ। ‘दूध ल्याउने कृषकले घर अगाडिबाट हिँड्न समेत बन्द गरेका छन्‌। डेढ वर्षको छोराले भैँसीको दूध नपाउँदा लाई अहिले ल्याक्टोजिन खुवाउन सुरु गरेका छौँ,’ कुर्मीले भने, ‘हजुरआमालाई प्लाज्मा थेरापीका लागी रगत दिनका लागी धेरै ठाउँमा पहल गरेँ, तर कोही पनि मानेनन्।'

विजयनगरका एक व्यक्ति तयार भएपनि परिवारले रोकेको अन्तिममा भैरहवाका एक पूर्व संक्रमितले रक्तदान गरेपछि प्लाज्मा थेरापी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.