९ वटा संघसंस्थाले भागवण्डा लगाए, वनको नक्साबाटै ३० बिघा गायब

|

बारा : ‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ ? संरक्षणको जिम्मेवारी पाएका समाजका अगुवाहरुकै संग्लनतामा वनको जग्गा अतिक्रमण गरेर भोगचलन भएको छ भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ। 

निजगढ नगरपालिका–१ स्थित वनदेवि सामुदायिक वनका अध्यक्ष, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले  वन क्षेत्रको ३० बिघा जग्गा भागवण्डा गरी भोगचलन गरेको पाइएको छ। 

सामुदायिक वनका अध्यक्ष सिद्धबहादुर थापा, लोकप्रिय प्राविका प्रअ मुकुन्द विष्ट, वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद ढोडारी, मन्दिर निमार्ण समितिका राधाकृष्ण पुढासैनी र निजगढ २ बस्ने स्थानिय झलक बहादुर राईको संग्लनतामा वनक्षेत्र अतिक्रमण भएको हो। 

अतिक्रमित जग्गामा ९ वटा संघसंस्थाले ठेक्कामा केराखेती गरेका र लाखौंको आम्दानी समेत हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीपछि यो घटना सार्वजनिक भएको हो। 

आयोगले वनको जग्गा अतिक्रमण भएको विषयमा वन विभागसँग जवाफ मागेपछि विभागले डिभिजन वन कार्यालय बारालाई त्यसको स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। 

सोही निर्देशनका आधारमा वन कार्यालयका रेन्ञ्जर बुनिलाल बैठाले बुझाएको अध्ययन प्रतिवेदनमा वनदेवी सामुदायिक वन समूहका अध्यक्ष, वडाध्यक्ष, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव, मन्दिर निर्माण समिति पदाधिकारी लगायतको संग्लनतामा भएको र वन अतिक्रमण गरेको हुँदा  कारबाही माग गरिएको छ। 

उनीहरुलाई दोषी ठहर गरी वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम कारवाही गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ। सोही प्रतिवेदनका आधारमा वन कार्यालयले संग्लन सबै व्यक्तिउपर मुद्दा दर्ता प्रक्रिया सुरु गरेको वन अधिकृत मञ्जुर अहमदले जनाए। 

वनको जग्गामा विद्यालय, मन्दिर गुम्बाको रजाइँ 

अतिक्रमित वन क्षेत्रको जग्गामा विद्यालय, गुम्बा र मन्दिर लगायत ९ संघसंस्थाले ठेक्कामा जग्गा लगाएका छन्। जहाँ केरा खेती गरिएको छ। सामुदायिक र राष्ट्रिय वनको ३० बिघा जग्गामा टासी छेयोलिङ्ग गुम्बाले २ बिघा, शिव मन्दिरले १४ कठ्ठा, नेपाल राष्ट्रिय उमाविले ७ बिघा, कृष्ण प्रणामी मन्दिरले २४ कठ्ठा, सरस्वती निमावि ले ३ बिघा, नेपाल राष्ट्रिय प्राविले साढे २ बिघा, लोकप्रिय प्राविले ५ बिघा, बौद्ध गुम्बाले ३ बिघा ठेक्का लगाएका हुन्। त्यस्तै डेढ बिघामा भने सार्वजनिक पोखरीसमेत बनेको छ। 

वनको जग्गामा ती संघसस्थाले वार्षिक लाखौं रुपैयाँमा केरा खेती गर्न ठेक्का दिने र सो आम्दानी गुम्बा, मन्दिर र विद्यालयको नामबाट जथाभावी खर्च गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। संरक्षण गनुपर्ने जिम्मेवारी पाएका अगुवाले नै संस्थागत रुपमा वनको जग्गा अतिकम्रण गरेर आम्दानी हिनामिना गरेको वन कार्यालय बाराले जनाएको छ।

अध्यक्षमै संग्लनतामा वनको जग्गा हड्प्ने तयारी 

वन समूहका अध्यक्ष सिद्धबहादुर थापाले सामुदायिक वनको दोस्रो कार्ययोजनामार्फत अतिक्रमणमा परेको ३० बिघा नक्साबाटै हटाएका छन्। २०६७ वैशाख २४ गते दर्ता भएको १ सय ८६ दशमलव ५ हेक्टर क्षेत्रफल रहेको सो सामुदायिक वन अध्यक्षले दोस्रो कार्ययोजना २०७२ मार्फत अतिक्रमणमा परेको ३० बिघा जग्गा नै नक्साबाटै गायब बनाएका अध्ययन प्रतिवेदनमा उल्लेख छ।

‘उहाँहरुले हतार हतारमा सामुदायिक वनको नयाँ कार्ययोजनामार्फत ३० बिघा जग्गा नक्साबाट हटाउनुभएछ तर, वनको चारकिल्ला हेरफेर गर्न भुल्नुभएछ’, डिभिजन वन अधिकृत मञ्जुर अहमदले भने। 

वन क्षेत्रको चार किल्लामा पूर्वतर्फ सिंगोल जाने बाटो, पश्चिममा सरस्वती सामुदायिक वन, उत्तरतर्फ सिंगोल बस्ती, लोकप्रिय प्रावि तथा आवादी क्षेत्र छ। त्यस्तै दक्षिणतर्फ जनहित सामुदायिक वनको सिमाना र सुकेपोखरीको किनार रहेको छ। वन दर्ता प्रमाणपत्रमा उल्लेख भएको सो चार किल्ला हाल कायमै छ। 

‘सामुदायिक वनको दर्ता प्रमाणपत्रमा उल्लेख भएको चार किल्लालाई आधार मानी जिपिएस मेसिन प्रयोग गरी सर्भे रेखांकन गर्दा १९ दशमलव ७८ हेक्टर क्षेत्रफल भएको केराखेती गरेको र सो क्षेत्रभित्र रहेका ७ वटा घरटहरा समेत वनदेखि सामुदायिक वन क्षेत्रभित्र देखिएको र १.२२ हेक्टर अतिकम्रण भएको राष्ट्रिय वन क्षेत्र देखिएको छ’, प्रतिवेदनमा उल्लेख छ। वन कार्यालयले  सो प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वन विभाग पठाइसकेको छ।  

अतिक्रमित जग्गा सामुदायिक वनको होइन : अध्यक्ष थापा 

अध्यक्ष थापाले विभिन्न संघसंस्थाले ठेक्का लगाएर केरा खेती गरिरहेको ३० बिघा जग्गा वनको नभएको दाबी गरेका छन्। सामुदायिक वन दर्ता प्रमाण पत्र, अध्ययन प्रतिवेदन र चारकिल्लाले समेत वनको हो भनी प्रमाणित गरेको जग्गा वन समूहकै अध्यक्ष थापाले नभएको दाबी गरेका हुन्। 

‘यो जग्गा कुनै पनि हालतमा सामुदायिक वनको होइन, हामीलाई हस्तान्तरण गरेको लालपुर्जा सबै सुरक्षित छ, यो जग्गा जुन जुन संघसंस्थाले भोगचलन गरेका छन् उनीहरुकै हो सामुदायिक वनको होइन’, थापाले भने, ‘म अध्यक्ष भएपछि १ इन्च पनि कहीँ मिचिएको रहेछ भने म सजाय भोग्न तयार छु’। लोकप्रिय प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा निजगढ नगरपालिका–२ का वडाध्यक्ष केशव ढोडारीले सामुदायिक वन दर्ता हुनुपूर्व नै स्थानीयले वन फँडानी गरेर  संघसस्थाको नाममा केरा खेती गरेकोले  सो जग्गा वन क्षेत्रको नभएको दाबी गरेका छन्। 

‘१० वर्षे जनयुद्धमा यहाँ वन फँडानी गरेर बस्ती बस्न लागेपछि हामीले यो जग्गालाई विभिन्न संघसंस्थाको नामबाट भोगचलन गरेर संरक्षण गरेका हौं,’ वडाध्यक्ष ढोडारीले भने।  

यो संस्थागत अतिक्रमण हो : वन अधिकृत

डिभिजन वन कार्यालय बाराका प्रमुख वन अधिकृत मञ्जुर अहमदले सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गामा विभिन्न संघसंस्थाले नियोजित रुपमै संस्थागत अतिक्रमण गरेको जनाएका छन्। 

‘२ पटकको अध्ययन प्रतिवेदन र सामुदायिक वन हस्तान्तरण हुँदा त्यसको विधान र कार्ययोजनामा नै उल्लेख भएको ४ किल्लाले अतिक्रमण भएको भूभाग वन क्षेत्र हो भन्ने प्रस्ट हुन्छ, तर उहाँहरुले वन समूह नवीकरण गर्दा नियोजित रुपमै वन क्षेत्रलाई काटेर बाँकी भूभाग उल्लेख गनुभएको छ’, वन अधिकृतले भने, ‘नयाँ कार्यायोजनामा अतिक्रमण भूभाग हटाए पनि चारकिल्ला साविकमा जे थियो, त्यो सच्चाइएको छैन, यसको अर्थ वन क्षेत्रमा उहाँहरुले संस्थागत रुपमै अतिक्रमण गरेर भागवण्डामा भोगचलन गनुर्भएको हो।’  

तत्काल कारवाही बढाउनुस् : विभाग महानिर्देशक

वन विभागका महानिर्देशक मानबहादुर खड्का भने वनको जग्गा अतिक्रमण गरेर भागवण्डमा  भोगचलन गर्नेलाई तत्काल कारवाही बढाउन डिभिजन वन कार्यालयलाई निर्देशन दिइसकेको बताएका छन्। 

‘अहिले डिभिजन वन कार्यालय प्रदेशअन्तर्गत पर्दछ, तर, अख्तियारले यसबारे पटक पटक ध्यानाकर्षण जनाएकोले मैले लिखित रुपमै मुद्दा दर्ता गरेर तत्काल कारबाही बढाउन डिफओलाई निर्देशन दिइसकेको छु’, महानिर्देशक खड्काले भने। 

यता प्रदेश नं २ उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री  सुरेश मण्डलले पनि वन क्षेत्र अतिकम्रण गर्नेलाई जुनसुकै बेला पनि डिभिजन वन अधिकृतले कारवाही गर्ने बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.