विज्ञले एक महिनाअघि नै समुदायमा फैलिएको बताएका थिए

|

काठमाडौं : नेपालमा  कोरोना भाइरस (कोभिड-१९) समुदायमा तह (कम्युनिटी लेभल) मा पुगिसकेको विज्ञहरुले बताइरहँदा सरकारले भने त्यसलाई नकारेको छ। एक महिनायता देशका विभिन्‍न जिल्लामा समुदाय संक्रमण भइसक्दा पनि सरकार भने त्यसलाई स्वीकार्न तयार नभएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पनि विश्‍व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा कोरोना संक्रमणको अवस्था अहिले पनि ‘क्लस्टर लेभल’ननाघेको जनाएको हो। 

शुक्रबारको ‘भर्चुअल’अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले यसबारेमा थप स्पष्ट पार्ने प्रयास गरेको छ। नेपालमा कोरोना संक्रमण क्लस्टर लेभलमा हो कि कम्युनिटीमा भन्‍ने पत्रकारको जिज्ञासामा मन्त्रालयका प्रमुख विशेषज्ञ एवम् कोरोना फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले देशव्यापी अवस्थामा हेर्दा क्लस्टर तथा जिल्ला र स्थानीय तहबाट हेर्दा समुदाय तहमा पुगेको बताए। 

‘देशभरको अवस्था हेर्दा 'क्लस्ष्टर'को अवस्थामा छ भने जिल्ला तथा स्थानीय तहलाई हेर्दा कम्युनिटी लेभलमा कोभिड-१९ संक्रमण छ,’उनले भने। 

उनले केही केही जिल्लामा 'कम्युनिटी तह'कै जस्तो संक्रमण देखिए पनि सबै जिल्लामा त्यस्तो नभएको तर्क गरे। 'यसरी हेर्दा संक्रमण जिल्लागत तथा स्थानीय तहमा मात्रै हेर्दा केहीमा कम्युनिटी ट्रान्समिसन हो भन्‍न सकिन्छ', उनले भने, 'तर देशभर संक्रमणको दर अहिले पनि 'क्लस्टर लेभल'मै छ।'

यस्तै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा कोरोना संक्रमण अहिले पनि 'क्लस्टर लेभल'मै रहेको बताए। उनले क्लस्टर र कम्युनिटी लेभलको संक्रमणबारे केहीमा भ्रम भएको हुनसक्ने भन्दै त्यसमा स्पष्ट हुन आग्रह गरे। 

पछिल्लो समय नेपालमा संक्रमण दर दैनिक औसत १ हजार १ सय पुग्‍न थालेको छ। त्यसमा करिब ९६ प्रतिशत संक्रमणको स्रोत स्थानीय नै भएको बताइएको छ। यस हिसाबले पनि संक्रमण स्थानीय तहमा गएको हो भन्‍ने तर्क विज्ञहरुले गरिरहेका छन्। 

मन्त्रालयले कोभिड-१९ को विषयमा सुझाव तथा जानकारी आदानप्रदान गर्न आज देखि हरेक साता पत्रकारसँग भर्चुअल जुम मिटिङ गर्ने बताएको छ। पछिल्लो समय काठमाडौं उपत्यकालगायत पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लाको अवस्था हेर्दा करिब ९६ प्रतिशत संक्रमित स्थानीयस्तरका छन्।

हाल काठमाडौं, ललितपुर चितवन, रुपन्देही, मोरङ, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र सुनसरीमा संक्रमितको संख्या ५ सयभन्दा माथि छ। यो अवस्थालाई हेर्दा कोरोना संक्रमण समुदायमा पुगेको विज्ञहरुले बताउँदै आए छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.