|
फाइल फोटो

बागलुङ : बुधबार राति ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बितण्डा मच्चाएको बाढीपहिरो मानवीय क्षतिले भयानक मात्रै भएन पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ। ढोरपाटन नगरपालिकाको वडा नं. २, ४ र ६ बाहेक बाढीपहिरोका कारण सबै वडाका सडक तथा विद्युतका संरचनामा क्षतविक्षत भएका छन्।

बाढीले नगरपालिकाका ११ वटा विद्युत गृहमा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ। स्थानीयको श्रमदान र वैकल्पिक उर्जा प्रबर्धन केन्द्रलगायत संस्थाको सहयोगमा विभिन्न समयमा निर्माण भएका लघुजलविद्युत योजनाहरु बगाएको हो। केही योजनाहरु कामै नलाग्ने गरी भत्काएको छभने केही योजना मर्मत गर्न मिल्ने गरी क्षति भएको छ।

बुधबार साँझदेखि नै ढोरपाटन नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, ८ र ९ का सबै ठाउँमा विद्युत आपूर्ति बन्द भएको स्थानीय शिक्षक याम बहादुर कायतले बताए।

विद्युत आपूर्ति बन्द हुँदा सञ्चार सम्पर्कसमेत प्रभाव परेको छ। ‘प्रभावित क्षेत्रमा सम्पर्क गर्नै कठिन भैरहेको छ’ ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने ‘सहज सम्पर्क नहुँदा उद्धार र राहतमा कठिन भएको छभने तथ्यांक संकलनमा समेत समस्या भएको छ।’ मोबाइल फोनमा चार्ज गर्न नपाएका कारण त्यहाँ सञ्चार सम्पर्क विच्छेद भएको हो।

केन्द्रीय प्रसारण लाईन विस्तारको चरणमा रहेकाले ढोरपाटन क्षेत्रमा उर्जाको स्रोत लघु जलविद्युत् आयोजना मात्रै हुन्। वैकल्पिक उर्जाको व्यवस्था गरेर वा लघु जलविद्युतहरुको मर्मत गरेर सहज बनाउने अवस्था तत्काल नरहेको पोखरेल बताउँछन्। ‘केही योजना पुरै संरचना बगाएको अवस्थामा छन्, केही योजनाको पुनःनिर्माण गर्दा मात्रै पनि महिनौ लाग्छ’ उनले भने ‘विकल्पविहिन अवस्थामा छौं।’

विद्युतसँगै बाढीले सडक बगाएपछि पैलदयात्रा समेत सहज छैन्। ‘कठिन भूगोल छ बाटोहरु क्षतविक्षत हुँदा हिँडिनसक्नु छन्’ पोखरेलले भने ‘ठुलाखोला तर्नै मुस्किल, पुलहरुको नामनिसाना छैन।’

बाढीले भुजीखोलामा रहेका ११ वटा काठेपुल बगाएको छ। जुन पुलहरु स्थानीयले सहज आवतजावतका लागि निर्माण गरेका थिए। काठेपुल बगाउँदा भुजीखोला वारपार गर्नै समस्या छ। जसका कारण बेपत्ताको खोजी र उद्धारका काममा कठिन भएको प्रहरीले जनाएको छ।

सोही खोलाका ३ वटा झोलुंगे पुल, ५ वटा पक्कि पुल, दुई विद्यालय भवनको नामनिसाना छैनभने एक स्वास्थ्य इकाई बाढीले बगाएको पोखरेलले बताए। १ सय ३० घर बस्न नमिल्नेगरी क्षति पुगेको अवस्थामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.