खतिवडालाई नै आर्थिक सल्लाहकार राख्‍ने सम्भावना

|

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो कार्यकाल सकिएर मन्त्रिपरिषद्‍बाट बाहिरिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भावी अर्थमन्त्रीको अड्कलबाजी सुरु भएको छ। अर्थमन्त्रीका आकांक्षी धेरै भएकाले नेकपाका तीनै गुटमा यसबारे चर्चा सुरु भएको हो। 

अर्थमन्त्री खतिवडाले दुई वर्षे कार्यकालमा सोचे अनुरुप परिमाण दिन नसकेको भन्दै टिप्पणी भइरहेको छ। खतिवडाले आफ्नो साढे दुई वर्षे कार्यकालमा ३ वटा बजेट ल्याएर विदा भएका हुन्।

बाहिर चर्चा जे भए पनि राष्ट्रको कोष बलियो पार्न उनले प्रशस्त काम गरेको बताउने मत राख्ने पनि छन्। खतिवडाको पक्षमा बोल्नेहरूले  सांसदहरूका माग बमोजिम बजेट विनियोजन नगर्नु र उद्योगी व्यापारी छल्दै आएका करका छिद्र बन्द गर्नाले उनको बढी  बिरोध भएको बताउने पनि धेरै देखिन्छन्।

खतिवडा बाहिरिएसँगै नयाँ अर्थमन्त्रीबारे नेकपाभित्र विभिन्‍न विकल्पमा छलफल भइरहेको एकजना स्थायी कमिटी सदस्यले बताए। ‘अर्थमन्त्री खतिवडा बाहिरिएसँगै अहिले नयाँ अनुहारबारेमा छलफल भइरहेको छ', उनले भने।   

पहिलो विकल्प: प्रम आफैं, सल्लाहकार खतिवडा

खतिवडा बाहिरिएसँगै प्रधानमन्त्री ओलीले नै अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी लिएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं राखेर खतिवडालाई आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्ने सम्भावना धेरै छ। 

‘प्रधानमन्त्री ओलीले विभिन्‍न विकल्पमा अर्थमन्त्रीबारे छलफल गरिराख्नु भएको छ। पहिलो विकल्पमा उहाँले खतिवडालाई नै आर्थिक सल्लाहकार राख्ने योजना पनि एउटा विकल्प हुनसक्छ,’ स्रोतले भन्यो। यसो गर्दा उनले ल्याएका योजना कार्यान्वयन गर्न सहज हुने तर्क अगाडि सारिएको छ।

प्रधानमन्त्रीले राष्ट्रियसभामा खतिवडालाई दोहोर्‍याउने मनस्थिति राखे पनि पार्टीमा पनि प्रतिकूल परिस्थिति बनेपछि खतिवडा बाहिरिएका हुन्। यसरी खतिवडाको बहिर्गमन प्रधानमन्त्री ओलीका लागि पनि प्रतिकूल हुन गयो। शुक्रबारको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले उहाँले पदबाट राजीनामा दिए पनि कामसँगै हुने बताएर यसको संकेत गरेका छन्।

दोस्रो विकल्प : विष्णु पौडेल

सामान्यतया प्रधानमन्त्रीले अर्थ, गृह र रक्षा जस्ता महत्वपूर्ण मन्त्रालयमा आफू अनुकूल व्यक्ति छनोट गर्ने प्रचलन छ। ओलीले पनि नयाँ अर्थमन्त्री ल्याउने परेमा आफूनिकट नै रोज्‍नेछन्। बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रस्ताव गरेका थिए।  तर, बिष्णु पौडेल पार्टीको महासचिव पनि छन्। यस्तोमा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले उठाइरहेको 'एक व्यक्ति एक पद'को झमेलामा पर्ने भएकोले ओली दोधारमा देखिएका छन् । ​

'उहाँ (ओली) ले अर्थमन्त्रीको पहिलो विकल्प महासचिव बिष्णु पौडेललाई राख्नुभएको छ। तर, उहाँले अहिले सरकारभन्दा पार्टीको काममा लाग्ने जस्तो देखाउनुभएको छ,’ एक स्थायी कमिटी सदस्यले भने। 

तेस्रो विकल्प : वामदेव गौतम

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सदस्य बन्‍न तयार वामदेव गौतमको लक्ष्य सरकारमा जानु हो। नेकपा उपाध्यक्ष गौतम प्रधानमन्त्रीको तेस्रो विकल्पमा पर्छन्। पार्टीको समीकरण तथा ६ बुँदे प्रस्ताव ल्याएर आफूलाई गुण लगाएका गौतमलाई वरिष्ठ मन्त्री बनाउनुपर्ने बाध्यतामा छन् ओली।

सरकारमा उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारीका साथ गौतम सरकारमा जान चाहन्छन्। 'तर, प्रधानमन्त्रीले ओलीले अर्थमन्त्रालयमा ल्याइहाले पनि विश्वासको व्यक्ति खोजिरहनुभएको छ’ स्रोतले भन्यो, ‘वामदेवले सत्ता संकटको बेलामा पटक पटक ओलीको साथ दिइराख्नु भए पनि ओलीले अर्थ मन्त्री कै रुपमा भने खुलेर विश्वास गर्न सक्‍ने अवस्था छैन। नत संवैधानिक हिसाबले नैं उहाँलाई ल्याउन सजिलो छ'

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई नै भेटेर राष्ट्रियसभा सदस्यबाट सरकारमा जाने चाहना व्यक्त गरेको थिए। अध्यक्ष दाहाल र नेता माधव नेपालको पनि साथ पाएकोले बाट नै उपाध्यक्ष गौतम राष्ट्रियसभामा जान सहज भएको स्रोतको दाबी छ। 

बिहिबारको बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। 

तर, प्रधानमन्त्री ओलीले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकमा गौतमलाई राष्ट्रियसभामा पठाउने बारे कुनै जानकारी समेत गराएनन्। राष्ट्रियसभाबाट सरकार जाने इच्छा प्रकट गरिरहेको अवस्थामा सचिवालयबाट निर्णय भइसक्दा पनि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रपति समक्ष सिफारिस नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि वामदेवको इतिहास र उनले पटकपटक गरेको सहयोगलाई प्रधानमन्त्री ओली अहिले चाहिं बिर्सने पक्षमा नरहेको अनुमान गरिएको छ ।    

चौथो विकल्प : सुरेन्द्र पाण्डे, शंकर पोखरेल

अर्थ मन्त्रालय सम्हाल्नेको चर्चामा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि छन्। तर, उनी वरिष्ठ नेता माधवकुमार नेपालनिकट हुन् भने अर्का वरिष्ठ नेता झलनाथ खनालका साढु भाइ पनि। प्रधानमन्त्री ओलीले आफ्नो विश्वास पात्र ल्याउन चाहिरहेको बेला पाण्डेको सम्भावना दाहाल-नेपालको जोडबलमा भर पर्ने बताइन्छ। 

तर, पाण्डेभन्दा प्रधानमन्त्री ओलीले आफूनिकट महासचिव पौडेलपछि शंकर पोखरेलको नाम विकल्पमा राखेका छन्। पोखरेल हाल प्रदेश ५ को मुख्यमन्त्री छन्। मुख्यमन्त्रीबाट राजीनामा गराएर उनलाई संघीय राजधानीमा ल्याउने मुड पनि ओलीले बनाएको बताइन्छ।

तर प्रदेशसभा सदस्य रहेका उनलाई मन्त्रीमा भन्दा सल्लाहकारका रुपमा ओलीले काठमाडौंमा अवतरण गराउन खोजेका छन्। प्रदेशसभा छाडेर काठमाडौं ल्याउँदा पोखरेलका लागि एकजना राष्ट्रियसभा सदस्य खाली गर्नुपर्ने हुन्छ। अन्य कानुनी झमेला त छँदैछन्। 

यस अर्थमा सुरेन्द्र पाण्डे, वामदेव र शंकर पोखरेलको सम्भावना कम देखिन्छ। अर्कातिर वामदेवलाई मन्त्री बनाउन संवैधानिक तगारो पनि रहेकोले सहज नहुने धेरैको अनुमान छ।

योजनाबद्ध हेरफेर

पार्टीभित्रको विवाद समाधान गर्न निर्माण गरिएको कार्यदलले सरकार प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनका लागि संघीय मन्त्रिपरिषद् र प्रदेशका मुख्यमन्त्री समेत हेरेर गर्न सुझाएको थियो। तर, प्रधानमन्त्री ओलीले मुख्यमन्त्री तत्काल नफेरिने भएपनि संघीय सरकारका मन्त्रीपरिषद् हेरफेरबारे सोचिरहेको बताएका थिए। 

तर, शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नहुने भएकाले ढुक्कसँग काम गर्न आग्रह गरेका छन्।

पार्टीभित्रको विवाद मथ्थर भएसँगै अर्थमन्त्री नियुक्तिको बिषयमा पार्टीभित्र विवाद बढ्ने हुनसक्ने देखिएपछि ओली तत्कालका लागि योजनाबद्ध हिसाबले मात्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा रहेको ओली निकट एक नेताको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.