|
तस्बिर स्रोत : गुगल ।

काठमाडौं : यो वर्ष सरकारले भदौ महिना सकिने बेलासम्म पनि रासायनिक मल ल्याउन नसकेको छैन। सरकारी अधिकारीहरूको भनाई पत्याउने हो भने यतिखेर कलकत्ता बन्दरगाहमा मल आइपुगेको छ। त्यो मल नेपाल ल्याएर देशका कुनाकाप्चामा रहेका किसानसम्म पुग्‍न निकै समय लाग्ने पक्कापक्की छ।

समयमै मल राख्न नपाउँदा उत्पादन घट्ने भन्दै किसानहरू चिन्तित छन्। पर्याप्त मनसुनी वर्षा भएपछि समयमै धान रोपिएपनि मल अभावमा रोपो अझै राम्ररी फस्टाउन सकेको छैन। 

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका-१० त्रिपुश्वरकोटीका किसान तारानाथ अवस्थी यस वर्ष समयमै मल हाल्न नपाउँदा धानखेती बिग्रिसकेको बताउँछन्। 'महङ्गो मुल्य तिर्न खोज्दा समेत मल नपाएपछि धानका बिरुवा नै सुकिसकेको छ, अब यसपाली के खाने?' चिन्तित हुँदै उनी भन्छन्‌, ‘मल अभावले गर्दा धान खेती गर्न निकै समस्या भयो, गरेको रोपाइँ पनि मल नपाएर त्यत्तिकै बिग्रियो।' बजारमा युरिया मलको भाउ ६० रुपैयाँ प्रतिकिलो पुगेको, तर त्यो पनि नपाउँदा यसपटक धानखेती बर्बाद भएको उनी बताउँछन्‌।

​सोही नगरपालिकाको वडा नम्बर १० स्थित झलारीकी कमला ओझाको गुनासो पनि तारानाथको जस्तै छ। समयमै मल उपलब्ध गराउन किसानले बारम्बार आग्रह गर्दा पनि सरकार गैह्रजिम्मेवार बन्दा आफूहरूको पसिना त्यत्तिकै खेर जाने अवस्था आएको उनी बताउँछिन्‌। 'न धानमा मल राख्‍न पाइयो, न त तरकारीमा !' उनी थप्छिन्‌, ‘चर्को मुल्य तिर्न खोज्दा पनि हामीले मल पाएनौं, सरकार नागरिकप्रति जिम्मेवार छैन भन्‍ने पुष्टि भयो।’  

नेपालमा वर्षेनी करिब साढे ७ लाखदेखि ८ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। रोपाइँको क्षेत्रफलका आधारमा ८ लाख टनसम्म माग भए पनि साढे ५ लाख टन आयात भए माग धान्छ। तर, हरेक वर्ष औसतमा साढे ३ लाख मेट्रिन टनभन्दा धेरै आयात हुने गरेको छैन।

पर्साको वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका किसान शम्भुप्रसाद यादव पनि सरकारसँग निकै आक्रोशित छन्। ‘लकडाउन र निषेधाज्ञा लगाउँदै छिमेकी मुलुक भारत गएर मल ल्याउन दिएन, न त आफैँले व्यवस्था गर्‍यो,' उनले भने, ‘स्थानीय तह, प्रमुख जिल्ला अधिकारी वा प्रदेश सरकार कसले हो मल दिने ?  समयमै दिनुपर्‍यो नि! हामीले सित्तैमा मागेका होइनौंँ, पैसा तिरेर किन्न खोज्दा पनि व्यवस्था मिलाउन नसक्ने यिनीहरूलाई कुर्सीमा राखिरहने ? हटाइदिए हुन्छ।’ 

अब सहजै पाइन्छ : मन्त्रालय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी भने हाल ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको बताउँछन्।

उनकाअनुसार नेपाल भित्रिएको मल वितरण सुरु भइसकेको छ। भदौ महिनाभर मल ल्याउने र वितरण गर्ने काम जारी रहनेछ। ‘ढिलो गरी मल आएकोले कतिपय जिल्लामा पुगिसकेको छैन, तर आपूर्ति हुँदै जाँदा वितरण व्यवस्था सहज हुँदै जान्छ,' उनले भने। 

नेपालमा वर्षेनी करिब साढे ७ लाखदेखि ८ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। रोपाइँको क्षेत्रफलका आधारमा ८ लाख टनसम्म माग भए पनि साढे ५ लाख टन आयात भए माग धान्छ। तर, हरेक वर्ष औसतमा साढे ३ लाख मेट्रिन टनभन्दा धेरै आयात हुने गरेको छैन।

बर्सेनि मलको हाहाकार भइरहेकै छ। यद्यपी, मल आपूर्ति नगर्दा व्यापक आलोचना भएपछि सरकारले बङ्गलादेशसँग ५० हजार मेट्रिक टन युरिया पैँचो मागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.