|

काठमाडौं : बच्चैदेखि नृत्यमा रूची राख्ने रुविसा र एलिसा श्रेष्ठ दिदी-बहिनीको नाम यतिखेर चन्द्रागिरी नगरपालिका-६ भन्दा धेरै परसम्म फैलिइसकेको छ। गिनिज विश्व रेकर्डधारी यी दिदी-बहिनीले नृत्यमार्फत नै आफूहरूलाई विश्वसामु चिनाइसकेका छन्‌। 

२०७६ साल जेठमा लगातार दुई दिन (४१ घण्टा पाँच मिनेट) सम्म युगल नृत्य गरेर यी दिदी-बहिनीले त्यसअघि अमेरिकाका हवाइका ब्रिट र जेनिफर ग्रिसवोल्डको जोडीले बनाएको रेकर्ड तोडिदिएका हुन्‌। ब्रिट र ग्रिसवोल्टको जोडीले सन्‌ २०१४, डिसेम्बरमा लगातार ३८ घण्टा ३० मिनेट नृत्य गरेर वर्ल्ड रेकर्ड कायम गरेका थिए।

सानै उमेरदेखि दिदी रुविसाको नृत्यमा निकै चाख थियो। घरमा गीत बज्यो की बहिनी एलिसालाई लिएर उनी नाच्‍न थालिहाल्थिन्‌। एलिसाले दिदीसँगै नाच्‍न नसकेपछि शरीर हल्लाउँथिन्‌। दिदी-बहिनीको नाच देखेपछि परिवार रमालो मान्थे। नाच्ने भनेपछि जहाँका कार्यक्रममा दुवैजना पुग्थे र सँगसँगै नाच्थे। एलिसा बाल्यकालका ती दिन सम्झिन्छिन्‌, ‘सानोमै नाच्‍ने भनेपछि भोक,प्यास र तिर्खा केही लाग्दैनथ्यो, सबै बिर्सेर नाच्‍न थाल्थ्यौँ, पुरस्कृत पनि भएका हुने गर्थ्यौं।’ 

बाल्यकालदेखिको सोही लगावको नतिजा- यतिखेर यी दिदी-बहिनीको नाम 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा छ। यसको अर्थ, नृत्य विधामा यी दिदी-बहिनीले प्रस्तुत गरेको प्रतिभा अहिलेसम्म कसैले देखाउन सकेका छैनन्‌। रुविसा र एलिसालाई उछिन्‍न खोज्नेले अब ४१ घण्टा ५ मिनेटभन्दा बढी समयसम्म लगातार नाच्‍नुपर्ने हुन्छ। साथै, यी दिदीबिहिनीले संसारभरका नृत्याङ्‌गना र यसमा रूची राख्नेहरूसामु नेपालको प्रतिष्ठा पनि बढाएका छन्‌।

नृत्य नै गरेर विश्‍वकै अब्बल बन्न त्यति सजिलो पक्कै थिएन। लगातार नाच्दा उनीहरूले अनेकथरी पीडा भोगे। एलिसा भन्छिन्‌, ‘नाच्दै गर्दा मेरो र दिदीको खुट्टा निकै सुन्निएको थियो। मान्छेहरु देख्दा पनि रिस उठ्थ्यो। अरुसँग हामी झर्किन्थ्यौँ। तर, हिम्मत हारेनौँ। किनकी, रेकर्ड तोड्ने लक्ष्य बोकेका थियौँ।’

परिवारको सहयोगले झनै हौसला बढेको उनी बताउँछिन्‌। उनका अनुसार स्वयम्भूस्थित क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा नाच्दै गर्दा प्रतिनिधि सभा सदस्य एवम्‌ पूर्व खेलकुदमन्त्री राजन कुमार केसी, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, १५ वटै वडाका अध्यक्ष र प्रदेश ३ का सांसद पुकार महर्जन लगायतको उपस्थिति थियो। यी व्यक्तिहरूको सहभागिताले उनीहरूमा झनै हौसला थपियो।

​२० वर्षीया रुविसा क्यापिटल एकेडेमीमा स्नातक तह दोस्रो वर्ष र १९ वर्षीया एलिसा एआइसी कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छिन्‌।

यसरी बन्यो विश्व रेकर्ड कायम गर्ने सोच

यी दिदी-बहिनी दुवैले नृत्यलाई बुझ्‍न थालेदेखि नै यही विधामा केही गर्नुपर्छ भन्ने सोच बनाएका थिए। नृत्यको दुनियाँमा अग्रपंक्तिमा उभिन चाहन्थे। लामो समयसम्म युगल नाचेर अमेरिकाले कायम गरेको रेकर्डबारे थाहा पाए। ‘अमेरिकाले राखेको रेकर्ड डान्स ३८ घण्टा भएको देख्यौँ,’ रुविनाले भनिन्‌,‘त्यसलाई तोडेर नेपालको नाम राख्‍न चाह्यौँ। त्यही सोचले आज वर्ल्ड रेकर्ड राख्न सफल भयौँ।'

नृत्य गरेको एक हप्तामा नयाँ रेकर्ड बनेको थियो। रेकर्ड कायम गरेको सर्टिफिकेट चाहिँ उनीहरूले भदौमा पाएका थिए। आफूहरूले कायम गरेको रेकर्ड देशका लागि भएको र यो सबै नेपालीका लागि गर्वको विषय भएको उनीहरू बताउँछन्‌। 

रेकर्डले जुराएको म्युजिक भिडियो

दिदी-बहिनीले वर्ल्ड रेकर्ड कायम राखेसँगै विभिन्न म्युजिक भिडियोमा नृत्य र अभिनय गर्न पाएका छन्‌। एलिसा भन्छिन्‌, ‘विभिन्न म्युजिक भिडियो र ठूला ब्यानरहरुमा डान्स गर्न पाएका छौँ, चर्चित गायक टंक बुढाथोकीजस्ता गायकहरुको गीतहरुमा नाच्न पाएका छौँ।’

लकडाउनले धेरै म्युजिक भिडियोहरू रोकिएको उनले सुनाइन। उनले भनिन, ‘हामीलाई धेरै म्युजिक भिडियोमा अफर आएको थियो, तर लकडाउनले गर्दा सबै रोकियो।’ 

लकडाउनमा समाजसेवा

अहिले कोरोना महामारी छ। चैत यता देशमा लकडाउन र निषेधाज्ञा नै छ। सरकारले अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन दिएको छैन।

यस्तो संकटका बेला यी दिदी-बहिनी सामाजिक कार्यमै व्यस्त छन्‌। ‘अहिले देशमा लकडाउन छ,’ एलिसाले भनिन्‌, ‘यही बेला क्यान्सर पीडित वृद्धवृद्धाको उपचारका लागि रकम जम्मा गरिरहेका छौं, सामाजिक कार्य गर्दा नृत्यमा जस्तै सन्तुष्टि प्राप्त हुन्छ। ’ 

राष्ट्रपतिबाट सम्मान पाउँदाको खुसी

वर्ल्ड रेकर्ड राख्न सफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान पाउँदा दुवै दिदी-बहिनी झनै खुसी छन्‌। रुबिसा भन्छिन्‌, ‘राष्ट्रपतिबाट सम्मान पाउँदा धेरै खुसी र भाग्यमानी थानेका छौँ। उहाँले पनि महिलाले यस्ता रेकर्ड राख्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। आगामी दिनहरुमा पनि यस्तै नयाँ नयाँ रकर्ड राख्नु भन्नुभयो।’ उनका अनुसार असारमा राष्ट्रपतिबाट सम्मान पाएका थिए।

अझै नयाँ विश्व कीर्तिमान राख्ने सोच भएको उनी बताउँछिन्‌। ‘आँट र इच्छा भयो भने नसकिने चीज केही छैन रहेछ भन्ने हामीलाई लागेको छ,’ एलिसाले भनिन्‌‌, ‘आगामी दिनमा अझै नयाँ-नयाँ विश्व रेकर्ड बनाउने हाम्रो लक्ष्य छ। म चाहिँ नृत्य विधामै स्नातक गर्ने योजनामा छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.