|

जाजरकोट : सहर र सुविधा सम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले ६ महिना मुस्किलले खोप पाउने गरेका छन्।

भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिका ६ महिना खोपविहीन बन्नु परेको हो। वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप पाउने गरेको स्वास्थ्य सेवा कार्यालय, डोल्पाले जनाएको छ।

उच्च भूगोल रहेको ठाउँमा चासो मौसममा भारी हिमपात हुने भएकाले खोप ढुवानी कार्य नहुँदा खोप सेवा पुर्याउन नसकिएको हो। हुने खानेहरु तल्लो डोल्पा तथा देशका अन्य ठाउँमा गएर खोप सेवा लिए पनि आर्थिक अवस्था कमजोर भएकाहरुले सबैले खोप सेवा लिन नपाउने अवस्था रहेको अवस्था छ।

हेलिकोप्टरबाहेक अन्य माध्यमबाट उपल्लो डोल्पामा खोप र अन्य औषधि पुर्याउन नसकिने स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य शाखाका प्रमुख अमरसिंह शाहीले बताए। उपल्लो डोल्पामा स्वास्थ्य संस्थाको संख्या समेत अत्यन्तै कम रहेको छ।

तीन स्थानीय तहमा छैन बर्थिङ सेन्टर

उपल्लो डोल्पाका तीन स्थानीय तहमा सुरक्षित सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर नै नभएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ। उच्च हिमाली क्षेत्रमा पर्ने फोक्सुण्डो गाउँपालिका, डोल्पोवुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बर्थिङ सेन्टर नै नभएको शाखा प्रमुख शाहीले जानकारी दिए। 

तल्लो र मध्यडोल्पाको ठूलीभेरी नगरपालिकामा दुईवटा, त्रिपुरासुन्दरी नगपालिका चार, काइके गाउँपालिकामा दुई, जगदुल्लामा दुई र  मुड्केचुला तीनवटा बर्थिङ सेन्टर रहेका छन्। बर्थिङ सेन्टर भएको ठाउँमा समेत सुत्केरी सेवा लिनेको संख्य कम रहेको छ। यी सेन्टरमा पनि उपकरण नहुँदा छामेर नै जाँच हुँदै सेवाग्राहीहरु बताउँछन्।

त्यस्तै, शे फोक्सुण्डोमा तीनवटा स्वास्थ्य संस्था, डोल्पोवुद्ध गाउँपालिकामा दुई, छार्का ताङसोङमा दुई र काइके गाउँपालिकामा  दुईवटा मात्र स्वास्थ्य संस्था रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र डोल्पा जिल्ला भरी नरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

डोल्पाका स्वास्थ्य सेवा व्यवस्थापक सिजन रावलका अनुसार उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने संख्य शून्य रहेको छ। यहाँ आम्चीको भरमा मात्र सुत्केरी सेवा उपलव्ध हुँदै आएको छ। अहिले पछिल्लो समयमा सुरक्षित मातृत्व नवराज शिशु तथा बालस्वास्थ्य र परिवार नियोजना लागू भएपछि केही सुधारका लागि पहल गर्न खोजिएको छ। हवाइ मार्गमार्फत १७ जना गर्भवतीको उद्धार गरिएको छ। राष्ट्रपति उद्धार कोषमार्फत उद्धार भएकामध्ये अधिकांश उपल्लो डोल्पामा रहेका छन्। 

अधिकांश घरमै सुत्केरी

डोल्पाका अधिकांश गर्भवतीहरु घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन्। पहुँचमा स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुँन बाध्य भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। यस्तै, स्टेचर समेत नभएका कारण डोकोमा बोकेर कोही, कोहीले स्वास्थ्य संस्था लिएर सुत्केरी गराउने गरेको स्थानीयवासीहरु बताउँछन्। 

धामी, झाँक्रीको विश्वासमा यहाँका अधिकांश गर्भवतीहरु स्वास्थ्य संस्था पुग्न बाधा उत्पन्न भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही बताउँछन्। बर्थिङ सेन्टरमा समेत आवश्यक उपकरणको अभावमा सबै सेवा दिन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ। उपल्लो डोल्पाका गाउँमा के भइरहेको छ भन्नेसम्म सदरमुकामस्थित दुनैमा महीना दिनपछि मात्र सूचना प्राप्त हुँने गर्दछ। स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन आग्रह गरे पनि कसैले आफ्नो कुरा भनेको नमान्ने गरेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.