|

डडेल्धुरा : डडेल्धुरामा एकै गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–२ मणिलेकस्थित बगाल र भुलेउडा गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको हो।

पूरै बस्तीमा ज्वरो आएको सूचना आएपछि सोमबार र मंगलबार स्वास्थ्कर्मी त्यहाँ खटिएका छन्। मलेरियालगायत रोगको परीक्षण गर्न स्वास्थ्कर्मी सोमबारबाट त्यहाँ खटिएको नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखाका उप–संयोजक दीपेन्द्र विष्टले जानकारी दिए।

प्रभावित गाउँमा परिवारका सदस्य समेत गरी ६४ जनाको मलेरियाको जाँच गरिएको छ। उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनि १८ जनाको शंकास्पद बिरामी भएकाले मलेरियाको माइक्रोस्कोपिक जाँचका लागि डडेल्धुरा अस्पतालमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

साथै ६४ जनामध्ये ५ जनाको स्क्रब टाइफस जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ। भाइरल ज्वरो आएकामध्ये जिनएक्सपर्ट ३ जना, टिबी माइक्रकोपीको लागि ६ जना र कोरोना परीक्षण लागि ७ जनाको स्वाब संकलन गरी डडेलधुरा अस्पताल ल्याइएको छ।

यहाँका नागरिकलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.