|
कालीगण्डकी गाउँपालिकाले स्रोत बगैँचाको रुपमा विकास गर्दै गरेको ड्रयागन फ्रुट बगैँचा।

 स्याङ्जा : सिउँडी प्रजातिको नौलो फल ड्रयागन फ्रुट नेपालमा पनि लोकप्रिय हुन थालेको छ। दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फललाई स्यङ्जाको कालीगण्डकी गाउँपालिकाले स्रोत बगैँचाको रुपमा विकास गर्न सुरु गरेको छ।

पालिकाको पहिचान नै यस फलबाट बनाउने उदेद्दयले स्रोत बँगैचा स्थापना गर्दै प्रत्येक किसानलाइ विरुवा वितरण गर्न बगैँचाको निर्माण गरिएको हो। यस बगैँचाबाट आगामी वर्ष १० हजार विरुवा उत्पादन हुने र कृषकलाई वितरण गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। 

बाँदर समस्यामा रहेका किसानलाई पनि यो खेती फलदायी हुने बताउँदै थापा भन्छन्, ‘नयाँ फलको बजारमूल्य, अत्यधिक माग र हाम्रो भूगोलमा सम्भावना देख्यौँ र पालिकाको पहिचान ड्रयागन फ्रुट बनाउने गरी अभियान सुरु गरेका छौँ।’

माटो परीक्षण गरेपश्चात् यस श्रेत्रमा ड्रयागन फलफूलको सम्भावना देखेपछि पालिकाले मुख्य खेती ड्रयागन फलफूल बनाउन अभियान सुरु गरेको हो। यस खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक उत्साहित भएको गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले बताइन्।

सङ्घीय सरकारअन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ४० लाख र स्थानीय तहको १० लाखको लागतमा स्रोत बगैँचा निर्माण गरिएको हो। पालिकाले २४ रोपनी जग्गा १५ वर्षको लागि भाडामा लिएर बगैँचा निर्माण गरेको हो। कृषकले वार्षीक २००० देखि २२०० रुपैँया प्रति रोपनी भाडामा दिएका छन्। यो खेतीलाई पहिलो चरणमा वडा नं ५ मा परीक्षण गरिएको थियो।

नौलो फलफूल ड्रयागन फ्रुटलाई कालिगण्डकी गाउँपालिकाले महत्वपूर्ण नगदेबाली बनाउने भएपछि बाँदर आतंकले पीडित कृषकलाई पनि केही राहत मिल्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.