परीक्षा निर्देशिका जारी

|

काठमाडौं : सुदूरपश्चिमाञ्‍चल विश्‍वविद्यालयले असोज १२ गतेदेखि अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्ने भएको छ। शैक्षिक सत्र खेर जान नदिन विश्‍वविद्यालयले अनलाइनबाटै परीक्षा सञ्चालन गर्न लागेको हो।

सुदूरपश्चिमाञ्‍चल विश्‍वविद्यालयलका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्द पन्तले असोज १२ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी सबैै विद्यार्थीलाई सूचना जारी गरिसकेको जानकारी दिए। ‘कोरोना महामारीका कारण विद्यार्थीको उपस्थितिमा परीक्षा गराउन सम्भव भएन,’ उनले थाहाखबरसँग भने, ‘त्यसैले अनलाइन माध्यमबाट परीक्षा संचालन गर्ने निर्णय भएको छ। विद्यार्थीले घरमै बसेर मज्जाले परीक्षा दिन सक्नेछन्‌।’

सबै विद्यार्थीको इन्टरनेटको पहुँचबारे अध्ययन गरेरै यो निर्णय लिइएको उनको भनाई छ। विद्यार्थीमा केही समस्या आएमा गाउँपालिका र नगरपालिकासँग समन्वय गर्नुपर्ने उनले बताए। उनका अनुसार स्नातक तहका प्रथम, तेस्रो, पाँचौं र सातौं सेमेस्टरका मानविकी, विज्ञान, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन र एग्रिकल्चर गरी ६ वटा संकायको परीक्षा सञ्चालन हुनेछन्‌। करिब १० हजार विद्यार्थीले घरबाटै परीक्षा दिनेछन्‌। 

यस्तो छ परीक्षा निर्देशिका

विश्वविद्यालयले परीक्षा सञ्चालनको लागि ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मुल्यांकन सम्बन्धी निर्देशिका, २०७७’ जारी गरेको छ। निर्देशिका अनुसार विद्यार्थीहरुको व्यक्तिगत ईमेल अथवा जिमेल आइडीमा क्याम्पस या विभागले परीक्षा सञ्चालन हुनुभन्दा १० मिनेट अगाडी प्रश्नपत्र पठाउनेछ। सो प्रश्नलाई डाउनलोड गरी परीक्षार्थीले ए फोर साइजको सेतो कापीमा उत्तर लेख्नुपर्नेछ। स्नातक तहका लागि उत्तर लेख्ने समय ४ घण्टा र उत्तर पुस्तिका अपलोड गर्ने समय गरी जम्मा ५ घण्टा समय तोकिएको छ।

स्नातकोत्तर तहका लागि उत्तर लेख्ने समय ५ घण्टा र उत्तर पुस्तिका अपलोड गर्ने समय गरी जम्मा ६ घण्टा तोकिएको छ। विद्यार्थीले प्रश्नपत्र प्राप्त गरिसकेपछि निर्धारित समयभित्र तोकिएको ढाँचामा उत्तर लेख्नुपर्नेछ। त्यस्तै, तोकिएको समयभित्र उत्तर पुस्तिकाहरू अपलोड भई सम्बन्धित क्याम्पस तथा विभागको परीक्षा समितिले तोकेको वेवसाइटमा प्राप्त हुन नसकेमा स्नातक तहका परीक्षार्थीले परीक्षा सुरु भएको ५ घण्टाभित्र र स्नातकोत्तर तहका परीक्षार्थीले ६ घण्टाभित्र भौतिक रुपमा उपस्थित भई सम्बन्धित क्याम्पस/विभागमा उत्तर पुस्तिका बुझाउनु पर्नेछ।

नजिकै नभएमा आफू पायक ठाउँमा रहेको विद्यालयमा बुझाउन सक्नेछन्‌। ‘वैकल्पिक विधिबाट लिइने परीक्षाहरूको प्रारम्भ हुने समय परीक्षा नियन्त्रण कार्यालयले तोके बमोजिम हुनेछ,’ निर्देशिकामा लेखिएको छ, ‘परीक्षार्थीले स्वयम् उत्तर पुस्तिका अपलोड गर्न सक्ने अवस्था नरहेमा नजिकको परीक्षा केन्द्रमा बुझाई आफ्नो इमेल ठेगानामार्फत अपलोड गरिदिन अनुरोध गरेको खण्डमा परीक्षा समितिले सम्बन्धित विद्यार्थीको उत्तर पुस्तिकामा तोकिएको समयभित्र क्याम्पस, विभागको छाप लगाई परीक्षा समितिको संयोजकको दस्तखत समेत गराई प. नि.का.को वेवसाइटमा अपलोड गर्नुपर्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.