भन्छन् : नेपालको प्रकृतिलाई विश्‍वभर चिनाउँछु

|

काठमाडौं : जिज्ञासा नै जिज्ञासाले भरिएको बचपन निमेषभरमा गए जस्तो हुन्छ। न कुनै लोभ, न कुनै पश्‍चाताप। मात्रै उत्सुकताले भरिएको त्यो बेला बिस्तारै किशोरावस्था र युवाबय अवस्थामा जारी रहन्छ। उत्सुकता बाँकी रहन्छ तर त्यसको क्षेत्र उमेरको बढ्दो ग्राफसँगै फराकिलो हुँदै जान्छ।

यहाँ उत्सुक मानसिकतामा नहिँडेको को छ र? पोखरा महानगरपालिका-१६ लामाचौरका ध्रुव केसी अर्थात 'ड्रोनेश्‍वर' मा पनि उत्सुकताको लामै सूची थियो। उनी हरेक कुरा देख्दा के होला? कस्तो होला? सोचेर बस्थे। युट्युब उनको नजिकको मित्र भइसकेको थियो।

युट्युबमा देखिने हरेक कुराले उनका लागि उत्सुकता जगाइदिन्थे। उमेरले १७ नकाट्दै उनले एकदिन युट्युबमा ड्रोन देखे। ड्रोन उनका लागि अन्य विषय जस्तै नौलो लाग्यो। आकाशमा उड्छ, तर मान्छे बोक्दैन। किनभने हवाईजहाज मात्रै आकाशमा पंखा लगाएर उडेको उनले देखेका थिए।

उनलाई बडो अजीवको वस्तु लाग्यो ड्रोन। उनले ड्रोनलाई युट्युबमा यसरी खोजी गरे, जसरी हराएको सन्तानको खोजीमा उसको परिवार रहन्छ। गुगल र युट्युबमा उनले यसका कामबारे खोजी गरे। खोजी गर्दा गर्दै उनी ड्रोन उडाउने पाइलट बने।

ध्रुव उनको बाबुआमाले राखिएको नाम हो। तर, उनी अहिले पोखरामा ड्रोनेश्वर नामले परिचित छन्। यो उनको कामले दिएको नाम हो। उनी यो नामबाट सन्तुष्ट छन्। 'असली नामले चिन्‍ने भनेको त परिवारले मात्रै हो। अन्यले सबैले ड्रोनेश्वर भन्‍ने गर्छन्।'

ड्रोनबारे केही जानकार भएपछि उनलाई ड्रोन उडाउन मन लाग्यो। तर, उनीसँग थिए। उनले आफ्नो साथी समीर पुनको ड्रोनबाट सिक्न थाले। आफूलाई मन परेको कुरा छिटो सिकिन्छ। उनले पनि सिकिहाले। बिस्तारै ड्रोन उडाउने थाले। तस्विर र भिडियो खिच्‍न थाले।

साथीकै ड्रोन भए पनि उनले विवाहदेखि डकुमेन्ट्रीका लागि भिडियो बनाउन थाले। तर, मनमा आफ्नै एउटा ड्रोन भइदिए पनि हुने भन्‍ने लागेपछि बाबुआमालाई ड्रोन किनि माग्‍न फकाउन थाले।

आफ्ना सन्तानको जिद्धीसामु बुवाआमाको केही लाग्दैन।  बच्चाको रहर पूरा गरिदिन २ वर्ष अघि परिवारले उनलाई एउटा ड्रोन किनिदियो। उनी भन्छन्, 'दुई चार दिनपछि रहर मर्छ भन्‍ने सोचेर बुबाआमाले ड्रोन किनिदिनु भएको थियो।'

उनलाई रहर होइन, ड्रोन उडाउने प्यासन थियो। ड्रोनबाट भिडियो र तस्विर खिच्ने थप शोख थपिँदै गयो। अहिले उनी २० वर्षका भए। यो अवधिमा ड्रोनको माध्यमबाट सयौं भिडियो र हजारौं तस्विर लिएका छन् उनले।

तस्विर र डकुमेन्ट्रीका लागि उनी देशको पूर्वी दमकदेखि पश्चिमी कुनासम्म पुगेका छन्। पोखरा आसपास कसैलाई ड्रोनबाट तस्विर खिचिदिनु परेमा हाजिर हुन्छन् उनी। पोखरामा रहँदा उनी उनी १० हजारसम्म शुल्क लिन्छन्। पोखरा बाहिर एक दिनको १५ हजारसम्म कमाई गर्ने उनले सुनाए।

ड्रोन उडाउन सजिलो छैन। तर अहिलेको पुस्ता प्रविधिसँग नजिक छ। प्रविधिको एक अंश रहेको ड्रोन चलाउन कानुनी झन्झट छ। प्रशासनको अनुमति आवश्यक पर्छ। उनले पनि ड्रोन उडाउन लागि अनुमती लिने गरेका छन्।

'जुन जिल्लामा ड्रोन उडाउने हो, त्यही जिल्लाको अनुमति चाहिन्छ। अलिक झन्झट चाहिँ छ', उनी भन्छन्, 'अनुमतिकै लागि सञ्चार, गृह मन्त्रालय, नागरिक उड्यन प्राधिकरणदेखि जिल्लाका कार्यालयसम्म धाउनुपर्ने नियमलाई थप सहज बनाइदिए हुने थियो।'

उनले लिएका फोटो, भिडियो विदेश पनि पठाउँछन्। यसले ड्रोनबाट आम्दानी हुने गरेको छ। उनी भन्छन्, 'कानुनी झन्झट कम हुने हो भने यसबाट धेरै युवाले व्यवसायिक रुपमा काम गर्न सक्छन्।'

नेपालका सुन्दर प्राकृतिक भिडियोको लागि युरोप, अस्ट्रेलिया, अमेरिकादेखि प्रस्ताव आइरहेको छ उनलाई।

उनी ड्रोनबाट डकुमेन्ट्री निर्माण गरेर विश्वभर आफ्नो काम देखाउन चाहन्छन्। तर, अहिले ड्रोन चलाउनेहरु नेपालमा खासै धेरै नभएको उनले बताए। बिस्तारै यसको क्षेत्र विस्तार भइरहेको छ। ड्रोन चलाउने व्यक्तिहरुको समूह निर्माण भइरहेकोले यसको प्रभावकारिता बढ्ने उनले विश्वास लिए।

विश्व बजारमा ड्रोन पाइलटको माग बढिरहेको उनले बताए। विश्वमा ड्रोनका लागि विभिन्‍न प्रतियोगिता हुने गरेको छ। उनी ती प्रतियोगितामा भाग लिन थप उत्साहित छन्। अझै पनि उनी ड्रोनबारे धेरै कुरा अध्ययन गर्दैछन्। ड्रोनको प्रयोगलाई थप कलात्मक र रचनात्मक बनाएर विदेशसम्मको यात्रा तय गर्न चाहन्छन् उनी। 'जीवनमा एउटै लक्ष्य छ। ड्रोन प्रतियोगितामा भाग लिने।'

तस्विर : ध्रुव केसी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.