प्रहरी अस्पतालमा उपचाररत छन् धेरै

|

काठमाडौं : नेपालमा माघको पहिलो सातादेखि फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट हालसम्म ४९ हजार २१९ जना संक्रमित भएका छन्‌। काठमाडौं जिल्लामा मात्रै ७ हजार ६११ जना संक्रमित फेला परिसकेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ विवरणअनुसार हाल नेपालमा ४९ हजार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। ३१२ जना संक्रमितको मृत्यु भइसकेको छ। 

भदौ लागेपछि नेपालमा संक्रमित संख्या दैनिक एक हजारको हाराहारीमा देखिन थालेको छ। यसअघि सरकारले भदौ पहिलो सातासम्म नेपालमा संक्रमितको संख्या ४० हजार पुग्ने अनुमान गरेको थियो। अनुमान गरिएभन्दा केही ढिला अर्थात् भदौ दोस्रो सातामा मात्रै संक्रमितको संख्या ४० हजार नाघेको थियो।

तर, पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण झनै फैलिएको छ। उपत्यका कोरोनाको ‘हटस्पट’ भएको छ। देशभरकै ७७ जिल्लामध्ये सबैभन्दा धेरै सक्रिय संक्रमित हाल काठमाडौं उपत्यकामा रहेका छन्।

प्रदेशगत रूपमा २ नम्बर प्रदेश संक्रमित संख्या हिसाब गर्दा पहिलो नम्बरमा छ भने बागमती प्रदेश दोस्रो नम्बरमा छ। काठमाडौंपछि प्रदेश २ को पर्सामा धेरै संक्रमित भेटिएका छन्।

काठमाडौंलाई कोरोनाले यसरी लपेट्यो

चैतको पहिलो हप्ता फ्रान्सबाट आएर मैतीदेवीमा बसेकी एक युवतीमा संक्रमण देखिएको थियो। तर, त्यसपछि साउन ५ गतेसम्म यहाँ संक्रमित भेटिएका थिएनन्‌। साउन ५ गते काठमाडौमा २ जना थपिएयता काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो।

हाल उपत्यकामा दैनिक झन्डै पाँच सय हाराहारीमा संक्रमित थपिइरहेका छन्‌। बुधबार मात्रै काठमाडौमा ३९४ जना संक्रमित थपिए। हालसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना संक्रमित फेला परेका छन्, जसमा ५ हजार एक २० जना पुरुष र २ हजार ४ सय ९१ महिला रहेका छन्।

साउन १९ गते दोहोरो अंकमा अर्थात् ४३ जना संक्रमित थपिएका थिए। यसपछि संक्रमित थपिने संख्या दोहोरो अंकमा बढ्दै गयो। साउन २७ गते एकैपटक ११० जना थपिएपछि तीन अंकमा पुग्यो। भदौ ९ गते एकैदिन झण्डै दुई सयजना संक्रमित थपिए।

पछिल्लो पटक तीन साता लामो निषेधाज्ञा सकिएको दिन अर्थात् हिजो बुधबार उपत्यकामा झन् धेरै संक्रमित भेटिए। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र थप ४६४ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा एकैदिन धेरै संक्रमित देखिएको यो दोस्रो पटक हो। यसअघि १६ भदौमा उपत्यकामा सबैभन्दा बढी अर्थात् एकैदिन ४८१ जनामा कोरोना संक्रमण देखिएको थियो।

विज्ञका अनुसार उपत्यकामा संक्रमण फैलनुमा सर्वसाधारण नागरिक नै जिम्मेवार देखिएका छन्‌‌। सरकारले अपनाएको मापदण्डहरू नागरिकस्तरबाट राम्रोसँग अवलम्बन नगर्दा संक्रमण नियन्त्रण हुन नसकेको उनीहरू बताउँछन्‌।

धेरै संक्रमित प्रहरी अस्पतालमा

पछिल्लो समय उपत्यका लक्षणसहितका कोरोना संक्रमितको केन्द्र बनेको छ। उपत्यका सबै कोभिड अस्पतालहरू संक्रमितले भरिभराउ छन्।

हाल नेपाल प्रहरी अस्पतालमा अन्यत्रभन्दा धेरै संक्रमितलाई उपचारका लागि राखिएको छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको पछिल्लो विवरणअनुसार हाल प्रहरी अस्पतालको आइसियुमा दुईजना र आइसोलेसनमा ३८७ जना उपचाररत छन्‌। यस्तै, सशस्त्र प्रहरी अस्पतालमा आइसियुमा रहेका १० जना र भेन्टिलेटरमा  राखिएका एकसहित २०९ जना उपचाररत छन्।

वीरेन्द्र अस्पतालको आइसियुमा रहेका ११ जनासहित ११४ जना संक्रमितको उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल अस्पतालको आइसियुमा १० जना र भेन्टिलेटरमा ४ जनलाई राखेर उपचार भइरहेको छ। त्यहाँ कुल ४३ जना सक्रिय संक्रमित उपचाररत छन्‌। यस्तै, कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २१७ जना संक्रमित उपचाररत छन्।

१० जिल्लामा धेरै संक्रमित

सरकारले हाल काठमाडौं उपत्यकासहित केही जिल्लामा समुदायस्तरमै संक्रमण फैलिएको बताइसकेको छ। हाल काठमाडौं, पर्सा, सर्लाही, मोरङ. रौतहट, धनुषा र कैलाली लगायतका जिल्लामा सक्रिय संक्रमितको संख्या अन्यत्रभन्दा धेरै छ। यी १० जिल्लामध्ये पनि काठमाडौं उपत्यकामा धेरै संक्रमित रहेका छन्।

काठमाडौंमा हाल सात हजार ६११ जना, पर्सामा दुई हजार ५०६ जना, सर्लाहीमा दुई हजार १२३ जना, मोरङमा दुई हजार ४३ जना, रौतहटमा एक हजार ९९६ जना,  धनुषामा एक हजार ८५२ जना, कैलालीमा एक हजार ८२१ जना, रुपन्देहीमा एक हजार ४३८ जना, महोत्तरीमा एक हजार ३७९ जना र बाँकेमा एक हजार २८९ जना संक्रमित रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.