|

सविन डाँगी - 

अहिले नेपालका नेता र उनीहरूको व्यवहार र कार्यशैलीप्रति आमरुपमा नकारात्मक टिप्पणी र विरोध भइरहेको छ। जसरी नेताहरू जनतासँग गरेका बाचा बिर्सेर सत्ता र शक्तिको लागि लुछाचुँडी गर्दैछन्, उसैगरी जनताको राजनीति र नेताप्रतिको विश्वास दिनानुदिन घट्दै गइरहेको छ। जुन गतिमा नेपाल विकसित हुनुपर्ने हो, सिंगो नेपाल हल्लाउने नेताहरूले जसरी प्रतिबद्धता गरेअनुरूप देश विकासको काम अगाडि बढाउनुपर्ने हो। तर, त्यो भएको छैन।

आमजनताले त्यसमा मूल्यांकन गरिरहेका छन्। तर, हामी यति धेरै निराश हुनुपर्ने,नेतालाई संधै गाली गर्नुपर्ने र नकारात्मक टिप्पणी मात्र गर्नुपर्ने अबस्था भने छैन पक्कै।

धेरै समय भएको छैन, एउटै जिल्लाभित्र पत्र आदानप्रदान गर्न १५/२० दिन लाग्थ्यो। एउटा सिँगै डाँडामा एउटा एडिएसएल फोन थिएन। रेडियो नेपाल सुन्न रेडियो स्याँस्याँ गराउनुपर्थ्‍यो। विद्यालय, स्वास्थ्य संस्था, बाटो, खानेपानी,पुल पुलेसाहरूको अवस्था के थियो? प्रतिव्‍यक्ति आय कति थियो? औसत आयु कति थियो? आर्थिक वृद्धिदर कहाँ थियो? सामाजिक उत्पीडनमा परेका जाति समुदायको स्थिति के थियो?  बूढाबूढि, अशक्त र बालबालिकाको अवस्था के थियो? विद्युत,कृषि र पर्यटन को अवस्था कस्तो थियो? एकपटक यी फर्केर हेरौं त।

पहिलाको भन्दा अहिले कम्तीमा कोही नेपाली सञ्‍चारसुविधाबाट वञ्‍चित छैनन्। गाउँ जिल्लामै एफ्एम खुलेका छन्। हातहातमा छ विभिन्न ब्राण्डका मोबाइल। सामाजिक सञ्‍जालमा व्यापक पहुँच छ। सूचना र सञ्‍चारको क्षेत्रमा हामी धेरै अगाडि बढिसकेका छौं। प्रत्येक वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रहरू निर्माण हुँदै छन्। स्वास्थ्य सेवा र सुविधा आँगन आँगनमा पुग्दैछ।

विद्यालयहरू धमाधम पुनर्निर्माण हुँदै छन्। सडक, एयरपोर्ट, रेल वे लगायतका विकासका पूर्वाधारहरू क्रमश: निर्माण र विस्तार हुँदै छन्। त्यस्तै, जलविद्युत्, कृषि र पर्यटनको विकास, विस्तार र अधुनिकीकरण हुँदै छ। प्रतिव्‍यक्ति आय बढेको छ। अर्थतन्त्रमा पनि केही सुधार हुँदै छ। समग्रमा भन्नुपर्दा जीवनस्तर केही न केही माथि उठेको छ हाम्रो।

हामी देश बनेन भनेर सधै नेताहरूला मात्र गाली गर्छौं। तर, देश विकासका लागि हामले चाहि कति योगदान गर्दैछौं त? एकपटक सोचौँ त। देश बनाउन आफ्नो तर्फबाट कति काम हामी गर्दै छौं? हामी नेतालाई मात्र दोष दिएर उनीहरूको विरोध मात्र गर्छौं कि आफू आफ्नो ठाउँबाट समाज र राष्ट्रलाई योगदान पुर्‍याउन भूमिका पनि खेल्छौं? मला लाग्छ, हामीमध्ये धेरै नेपाली गफ मात्र गर्छौं, समृद्धिका सपना बुन्छौं अनि ठूलठूला व्‍यावसायिक योजना बनाउछौं। तर काम भने पट्टक्कै गर्दैनौं। जति ठूला गफ गरे पनि योजना बनाए पनि त्यसलाई कार्यान्वयन नगर्दासम्म देश बन्नेवाला छैन। जबसम्म हामी सबै नेपाली पाखुरा सुर्केर काम गर्दैनौ, हाम्रा बाँझिएका खेतबारीमा पसिना बगाउँदैनौँ तबसम्म यो देश बन्दैन।

हामी नेपाली धेरै फुर्सदिला छौं। कुनै पनि काममा हामीलाई हतार हुँदैन। प्रायजसो नेपालीको हरेक दिन आनन्दमय नै बित्ने गर्छ। आज धेरै गर्मी भो भोलि गरौँला, जाडो भो भोलि गरौँला, पानी पर्‍यो भोलि गरौँला, धेरै घाम लाग्यो भोलि गरौँला, आज नयाँ वर्ष भोलि गरौँला, आज यो चाड भोलि गरौँला, आज जन्मदिन कहाँ काम गर्नु भोलि गरौँला आदि इत्यादि भन्दाभन्दै, काम साँच्दा साँच्दै समय धेरै अगाडि बढिसकेको छ। हामी पछाडि परिसकेका छौं।

 अमेरिका, जापान, चीन जस्ता विकसित देशका नागरिकहरू हामी जत्तिकै फुर्सदिला छन् त? नेपालीले जस्तै हरेक काममा ढिलासुस्ती गरेको भए उनीहरू आज त्यो स्थानमा हुन्थे त? हाम्रोजस्तो जम्मा १ महिना काम गरेर वर्षभरि बसेर खान उनीहरूको साधन स्रोतले उनीहरूलाई पुग्ला? अवश्य पुग्दैन। तर, हामीसँग त उत्पादनको यति प्रचुर सम्‍भावना छ, कि खेतबारीमा जम्मै १ महिना काम गरेर वर्ष भरिलाई बसेर खान पुग्ने अन्न उत्पादन हुन्छ।

परम्परागत तरिकाबाट खेतीपाती गरेर पनि यसरी पुगिरहेको छ। यदि हामीले आधुनिक तरिकाबाट बाह्रै महिना हाम्रा खेतबारीमा काम गर्ने हो भने उत्पादित बस्तु बेचेर हामी धनी हुन धेरै समय नै लाग्दैन।

धेरै नेपाली युवा मलेसिया र खाडीमा काम गर्छन्। खाडी गएका प्राय सबै युवाको गाउँमा घर छ, जग्गाजमिन छ। एकपल्ट सोचौँ त उनीहरूले काम गर्ने कम्पनीको मुदिरको उनीहरूको जतिकै जग्गा जमिन छ त? जसले नेपालीलाई काम लगाइरहेका छन् के तिनीहरूसँग हामीसँग जति प्राकृतिक स्रोतसाधन छन् त? पक्कै छैनन्। यदि छैनन भने हामी यति धनी भएर पनि उनीहरूको दास भएर कतिदिन बाँच्ने? महिनाको २० र ३० हजार कमाउन कतिदिन विदेशीको गुलामी गर्ने। चर्को घाममा किन पसिना बगाइरहेका छौँ।

त्यसैले अब आफूसँग भएको माटोला चिन्ने बेला भएको छ, आफ्नो सम्पत्‍तिको सही सदुपयोग गर्नेबेला आएको छ। साँचै देश बनाउने हो भने विदेशमा बसेर नेताहरूले यो गरेनन ऊ गरेनन भनेर सामाजिक सञ्‍जालमा गनगन गर्नुभन्दा, नेताहरूको चर्को आलोचना र विरोध गर्नुभन्दा देश फर्केर कृषि,पशुपालन र पर्यटनका क्षेत्रमा संगठित, योजनाबद्ध र आधुनिक तरिकाले व्‍यवसाय गरौं। देश अवश्य बन्छ। रोजगारी आफै सिर्जना हुन्छ। कृषिप्रधान देश नामले होइन कामले अवश्य चिनिनेछ।

आजभोलि जतासुकै देश विकास भएन, नेताहरूले केही गरेनन भन्ने मात्र सुनिन्छ। तर नेताहरू मात्र हैन देश विकासका लागि तलदेखि माथिसम्मै कोही जिम्मेवार छैनन्। राज्यले सानादेखि ठूलासम्म जति पनि विकास बजेट छुट्याउँछ, त्यसको कार्यान्वयन गर्नेबेला उपभोक्ता समितिमा बसेर पैसा खानेको लर्को लाग्छ, ठेक्काको काममा कसरी मापदण्ड मिचेर सम्पन्न गर्ने र कमाउने? भनेर तलदेखि माथिसम्मै अनियमितता गर्नेको लस्कर पनि लामै छ। अनेकन कमिसनखोरी र दलाली गर्छन्।

कृषि र पशुपालनमा राज्यले बर्सेनि अरबौं अनुदान दिएको छ। केहीले बाहेक तोकेको काम नगरी सबैजसोले पैसा खान्छन्। यस्ता धेरै घट्ना सार्वजनिक भइसकेका छन्। अझ केहीले त कागजी प्रक्रिया मात्र मिलाएर लाखौं, करोडौं कुम्ल्याउँछन्।

एउटा सामान्य किसानला उन्नत जातको बोका किन्न राज्यले ७० हजार अनुदान दिन्छ। किसान बोको किन्‍नुको सट्टा घरकै काम नलाग्ने बोकाको तस्‍वीर बुझाउँछ, नक्कली बिल पेश गर्छ अनि अनुदान खान्छ र भोलिपल्टदेखि भन्छ- नेताले केही गरेनन, नेताले देश बिगारे।

सरकारी सेवा गर्दा घुस नखाइ काम नगर्ने कर्मचारी नेताहरू साह्रै भ्रष्ट भए भन्छन्। अरूको कुरा छोडौँ स्वयं राजनीतिक दलको बफादार कार्यकर्ता हुँ भन्छ, पढाइ पनि छैन जीविकोपार्जनको कुनै काम गर्दैन तर ढुक्कै चिया पसलमा बसेर नेतालाई गाली गर्छन्।

आज विश्व कोरोनाको महामारीसँग जुधिरहेको छ। प्राय सबैखाले पेशा व्‍यवसाय, कलकारखाना प्रभावित छन्। एउटा कृषि क्षेत्र मात्र होला जसलाई कोरोनाले खासै छोएको छैन। प्रभाव पारेको छैन। किसानहरू निर्धक्क आफ्ना खेतबारीमा काम गरिरहेका छन्, उत्पादन गरिरहेका छन्। यसो भएको हुनाले कोरोना महामारी नेपाल जस्तो कृषिप्रधान देशका लागि एउटा ठूलो अवसर बन्नसक्छ। यो विपदलाई कृषि कार्यको विकासका लागि सबैले भरपुर उपयोग गरौँ।

नेताहरूलाई मात्र गाली नगरौं, आफू पनि जिम्मेवार बनौं, देशमै आफ्नो रुचिको काम गरौं, देशका प्राकृतिक स्रोत र साधनलाई अधिकतम उपयोग गरौं। नेताप्रतिको आक्रोश र राजनीतिप्रतिको निराशा हटाऊँ। हामीले बुझ्नुपर्ने कुरा के हो भने राजनीतिको विकल्प राजनीति नै हो। नेताहरूको विकल्प नेताहरू नै हुन्। सधैं नेतालाई मात्र गाली किन?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.