|

हेटौंडा : फर्जी नागरिकता मुद्दामा रौतहट प्रहरीको आग्रहमा मंगलबार इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरले समातेको विके भनिने विप्लव कान्ति बोस नेपालमा ओभरसियर जागिर खान भित्रिएको पाइएको छ। 

बोसले रौतहट जिल्लाको वडहर्वा गाउँपालिकाबाट नागरिकता लिएको खुलेको हो। जन्मको आधारमा नागरिकता लिन बुबा तथा आमा पनि लामो समयदेखि नेपाल बस्नुपर्ने व्यवस्था छ। 

तर बोसका निकटतम व्यक्तिहरुका अनुसार भारत बंगाल स्थायी घर भएका बोस २०५५ सालमा ग्लोबल राइटिङग सिष्टममा ओभरसियरका रुपमा नेपाल आएका थिए। 

त्यसपछि उनी सुपरलेमिकोट्समा उद्योग म्यानेजरका रुपमा कार्यरत रहँदै आएका थिए। नेपाल आएपछि सुरुदेखि नै हेटाैंडा बसेका उनी २०६३ सालमा मात्रै रौतहटबाट नागरिकता लिन सफल भएका थिए।  

४७ वर्षमा जन्म आधारमा नागरिकता

बोसले २०६३ साल चैत्र ६ गतेको मितिमा रौतहट जिल्लाको वडहर्वा गाउँपालिका ५ नम्बर वडाबाट बुबाको नाम निखिल उल्लेख गरी नागरिकता लिएका भेटिएको छ। उनले लिएको नागरिकतामा जन्मको आधारमा भनी उल्लेख छ। उनले जन्म भएको ४७ वर्षपछि नागरिकता लिनुले पनि किर्ते गरी नागरिकता लिएको आशंका बलियो हुने प्रहरीको अनुमान छ।

सिफारिस दिनेलाई जग्गा  

बोसको नागरिकता लिन तत्कालीन वडहर्वा गाविसलाई सर्वदलीय टोलीले नागरिकताका लागि सिफारिस गरेको थियो। जसमध्ये तत्कालीन नेपाली कांग्रेसका गाविस पप्रतिनिधि नवल चौधरीसहितको उपस्थिति थियो। 

यो विषयमा नवल चौधरीसँग थाहाखबरले टेलिफोनमा कुरा गर्दा उनले जवाफ दिए, 'स्थानीय व्यक्तिहरुले यसै स्थानको नागरिक हो भनेको कारण नागरिकता बनाउन टोलीसमक्ष सिफारिस गरेका हौं, मसहित अन्य सात दलका प्रतिनिधि पनि थिए। मैले पैसा लिएर होइन गाउँलेहरुले भनेको आधारमा नागरिकता दिन सिफारिस गरेको हुँ।' 

नागरिकता पाएपछि बोसले खरिद गरेको जमिनमा पनि उनै चौधरीले खेती लगाउँदै आएको स्थानीयहरुले बताएका छन्। तर चौधरीले भने बोसले खरिद गरेको जग्गा नदीले कटान गरेर बालुवामा परिणत भइसकेको बताएका छन्।  

यो विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले थप जानकारी दिएको छैन। रौतहटका एक सरकारी अधिकारीका अनुसार शुक्रबारसम्म गृह मन्त्रालयको टोली रौतहट आउने तयारी रहेको छ।  बोस अहिले रौतहट प्रहरीको नियन्त्रणमा छन्। 

यो पनि पढ्नुहोस्

 


 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.