होटल व्यवसायी भन्छन्, बैंकको किस्ता र होटलको भाडा कसरी तिर्नु ?

|

विराटनगर : कोरोनाको त्रासले प्रदेश एकको व्यापार–व्यवसायसमेत चौपट बन्न थालेको छ। खासगरी पर्यटकहरूको आवागमन हुने स्थानका होटलहरूमा आर्थिक संकट देखिन थालेको छ।

मेची करिडोरमा रहेको ताप्लेजुङको ठुलो फेदीदेखि इलामको कन्यामसँगै कोशी करिडोर क्षेत्र, धनकुटाको भेडेटार, हिले, संखुवासभादेखि हिमाली मार्गसम्म आइपुग्दा सबै होटल व्यवसायीहरूको एउटै चिन्ता देखिएको छ : अब बैंकको किस्ता र घरभाडा कसरी तिर्ने?

मेची र कोशी करिडोरमा लाखौँ रुपैयाँ लगानी गरी खोलिएका होटल व्यवसाय कोरोना महामारीसँगै जोखिममा परेको हो। यात्री र पर्यटक नआएपछि होटलमा कार्यरत कामदारहरूलाई विदा दिइएको छ। सबैजसो होटलमा ताल्चा लागेको छ।

कोरोना महामारीका कारण प्रदेश १ मा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। पर्यटकीय सिजनमै होटलहरू धमाधम बन्द भइरहेका छन्‌। होटल मात्रै नभई आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनेको भेडेटार, इलामको फिक्कल, कन्याम, कोशी टप्पु लगायतका पर्यटकीय गन्तव्य सुनसान बनेको छ।

तीर्थयात्राका लागि प्रसिद्ध ताप्लेजुङको धार्मिकस्थल पाथीभरा, इलामको कन्याम, फिक्कल, भेडेटार, वसन्तपुर, संखुवासभाको गुफा पोखरी, तिनजुरे-मिल्के-जलजले लगायत प्रदेशका पर्यटकीय चाप हुने क्षेत्रमा पाँच महिनादेखि स्वदेशी तथा विदेशीको अनुहार देख्न पनि मुस्किल परेको छ। त्यसैगरी, हिमाली मार्गमा रहेका पर्यटकीय क्षेत्र र हिमाल पर्वतारोहणका लागि जाने बाह्य पर्यटनको आवागमन पनि ठप्‍प छ।

होटल संघ प्रदेश १ का वरिष्ठ उपध्यक्ष एवम्‌ पर्यटन व्यवसायी भविष श्रेष्ठका अनुसार यतिखेर पर्यटन सम्बद्ध धेरैजसो व्यवसाय ठप्प छ। प्रदेशका प्रमुख पर्यटकीय स्थलहरू नै अहिले सुनसानजस्तै बन्न पुगेका छन्। संक्रमण त्रासका कारण प्रदेशमा आन्तरिक पर्यटक पनि घुमघाममा निस्कन छाडेका छन्‌।

२५ अर्ब लगानी जोखिममा 

कोरोना भाइरस महामारी फैलिएपछि प्रदेश १ का पर्यटकीय क्षेत्रमा गरिएको २५ अर्ब रुपैयाँ लगानी नै जोखिममा परेको छ। मुख्यतः पर्यटनसँग जोडिएको व्यवसाय भएकाले पनि पर्यटन क्षेत्रमा आएको मन्दीसँगै होटलहरूमा गरिएको लगानी जोखिममा परेको हो।

‘कोरोना कहरको अन्त्य कहिले होला र कहिलेबाट होटल व्यवसाय पुन: सञ्‍चालन गर्न सकिने भन्ने नै निश्चित छैन,’ नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश एकमा संयोजकसमेत रहेका श्रेष्ठले भने, ‘लम्बिँदो लकडाउनले होटल व्यवसायको लगानी डुब्ने अवस्थामा पुगेको छ, धेरै होटलहरू सधैँका लागि बन्द हुने अवस्थामा पुगेका छन्‌। ’

श्रेष्ठका अनुसार पछिल्ला समय होटल क्षेत्रमा लगानी थपिने क्रम रहेको थियो। नयाँ–नयाँ तारे होटलको निर्माण खुल्ने क्रम जारी रहेको समयमै कोरोना फैलिएपछि लगानीकर्ताहरू संकटमा परेका छन्‌।

प्रदेश एकमा मात्र यही आर्थिक वर्षभित्र खुल्ने क्रममा रहेका र नयाँ बन्दै गरेका होटलमाहरूमा करिब ५/७ अर्ब रुपैयाँभन्दा धेरै लगानी भएको व्यवसायीहरू बताउँछन्‌। तर, कोरोना महामारी फैलिएसँगै ती निर्माणाधीन होटलहरू तयार हुने/नहुने र सञ्‍चालनमा आउने/नआउने नै अनिश्चित भएको छ।

सरकारले आवश्यक स्वास्थ्य मापदण्डलाई पालना गराई तत्काल होटल व्यावसाय सञ्‍चालन गर्न बाटो खोल्नुपर्ने व्यवसायीहरूको माग छ। होटल व्यवसायको लगानी डुब्न नदिन सरकारले बैकको किस्ता, ब्याज, बिजुली शुल्क छुट लगायत मौद्रिक नीतिलाई व्यवस्थित र चाँडो कार्यान्वयनमा ल्याउन पनि उनीहरूले सरकारसँग माग गरेका छन्‌।

यसैबीच, खर्च धान्न नसकेको भन्दै विराटनगरको पहिलो र ठूलो लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको छ। २०५५ सालदेखि सञ्चालनमा रहेको जेनियल कोरोना महामारीका कारण बन्द भएको हो। लकडाउनका कारण व्यवसाय नै ठप्प भएपछि असार ११ गतेदेखि होटल बन्द गर्ने निर्णय भएको होटल सञ्चालक हरिभक्त सिटौलाले बताए।

जताततै सुनसान 

प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्यहरू यतिखेर सुनसान बनेका छन्‌। कोरोना भाइरसको त्रासका कारण पूर्वका तीनवटै चर्चित स्थानमा सञ्चालित होमस्टे र होटलहरू खाली छन्।

भेडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटकहरू आउने गरेका थिए। तर, भेडेटार पाँच महिनायता सुनसान छ। ‘भेडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउँथे,’ होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्‌, ‘अहिले पुरै सुनसान बनेको छ। यस्तो अवस्थामा होटल भाडादेखि बैक किस्ता कसरी तिर्ने भनेर पिरोलिएका छौँ।’ पाँच महिनादेखि भेडेटारमा चहलपहल शुन्यमा झरेको उनले जानकारी दिए।

कोरोनाका कारण होटल व्यावसायमा मन्दी छाए पनि व्यवसायीहरूलाई बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ। ‘यहाँ धेरै होटलहरू बैंकबाट ऋण लिएर खुलेका छन्,’अध्यक्ष राई भन्छन्, ‘ग्राहक छैनन्‌, बैंकको किस्ता तत्कालै तिर्न अवस्थामा कोही व्यवसायी छैनन्‌? विश्वव्यापीरूपमा भएको आपतकालमा व्यवसायीहरूका लागि राज्यले सहुलियत दिनुपर्छ।'

प्रदेश १ को अर्को पर्यटकीय गन्तव्य कोशीटप्पुमा पनि पर्यटकको संख्या घटेको छ। यहाँ हात्ती सफारी गर्न र अर्ना हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउँथे। तर, पछिल्लो केही दिनयता पर्यटकहरू घटेका छन्।

‘बिदाको समयमा दैनिक ५ सय जनासम्म पर्यटक आउँथे,’ होटल व्यवसायी सुवास भुजेल भन्छन्, ‘अहिले पाहुना नआएकै पाँच महिना पूरा भएछ।’ आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि खुलेका होमस्टेहरू पनि खाली भएको भुजेलले बताए।

चियाको राजधानी भनेर चिनिने इलामको हालत पनि उस्तै छ। इलामको कन्याममा पर्यटकको चहलपहल नदेखिएको पुरै पाँच महिना भएको छ। श्रीअन्तुमा सूर्योदय हेर्न आउनेहरूको संख्या शून्यमा झरेको होटल व्यवसायी हरी गुरुङले जानकारी दिए। पर्यटक आउने सिजनमा कोरोनाको प्रभावले त्रसित बनाएको गुरुङ बताउँछन्।

भारतले पूर्वी नेपालको पशुपतिनगरको नाकासमेत बन्द गरेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो प्रभाव परेको छ। ‘इलाम हुँदै दार्जिलिङसम्म जाने पर्यटकको संख्या पहिले प्रशस्तै थियो,’ होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरी भन्छन्, ‘पर्यटक नआएपछि कन्याममा चलेको सबै होटल अहिले बन्दको अवस्थामा रहेका छन्‌। ’

सामान्य अवस्थामा कन्याममा यतिबेला पिकनिक खाने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड हुन्थ्यो। तर, पछिल्लो समय सुनसान छ। ‘कोरोनाको त्रासका कारण अन्य क्षेत्रमा पनि मन्दी छ। ’ गिरी भन्छन्‌, ‘गाडी-घोडा सबै बन्द छन्‌, व्यापार नभएपछि आम्दानी हुँदैन, आम्दानी नभए घुम्ने कुरा पनि आउँदैन।’ त्यहाँ संचालित धेरै होटल उठ्नै नसक्ने गरी बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाई छ।

प्रदेश नम्बर एकमा पर्ने मेची–कोशी अञ्चलमा मात्रै यस वर्ष नयाँ तारे होटलका लागि १५ अर्ब रुपैयाँ लगानी थपिएको थियो। पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा २५ अर्ब रुपैयाँ लगानी भइसकेको छ। पूर्वी पहाडी जिल्लामा मात्रै करिब ४० भन्दा बढी पर्यटकीय स्तरका सुविधा सम्पन्न होटल सञ्चालन छन्। पाँच वर्षको अवधिमा यी होटल निर्माण भएको होटल व्यवसायी महासंघ मेचीका केन्द्रीय सदस्य एवं ताप्लेजुङका होटल व्यवसायी छिरिङ शेर्पाले जानकारी दिए।

कोशी र मेची करिडोरमा खुलेका होटलहरूमा २ सयवटा सुविधा सम्पन्न रुम क्षमता छन्। यहाँ वाह्यसँगै आन्तरिक पर्यटकहरूको भीड बढ्न थालेको थियो। पर्यटकको चाप अनुपातमा लगानीकर्ताहरू होटल व्यवसायमा आकर्षित भएका थिए‌। शेर्पाका अनुसार राम्रा र सुविधा सम्पन्न होटलले आफ्नो लगानीको लाभ उठाउन थालेपनि भर्खरै तँग्रिन लागेको होटल व्यवसाय अहिले उठ्नै नसक्ने गरी फेरि थलिएका छन्‌।

तराईका जिल्लामा मात्रै होइन, पहाडी जिल्लामा पनि पछिल्लो समय होटल व्यवसायमा लगानी गर्ने क्रम ह्वात्तै बढेको थियो। यसले पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधिमा टेवा पुर्‍याउँदै आएकोमा कोरोनाका कारण गति नै रोकिएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष टंक दुलालले थाहाखबरलाई बताए।

उनले भने, ‘होटलमा लगानी गर्ने क्रम बढ्ने क्रममा थियो, ५/७ अर्ब रुपैयाँ थपेर गरिएको लगानीको भविष्य नै अनिश्चिततातर्फ धकेलिदिएको छ।’ पछिल्ला समय यो व्यवसायलाई यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँग जोडेर लान थालिएकाले स्थानीय स्तरमा आर्थिक उपार्जनको भरपर्दो स्रोत बन्ने क्रममा रहेको उनले बताए।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, इलाम र पाँचथरमा पर्यटक लक्षित झण्डै २० वटा होटल खुलेका छन्। त्यस्तै, कोशी करिडोर क्षेत्र अन्तर्गत धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा पनि २० को संख्यामा सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन्। त्यसबाहेक हिमालीमार्ग सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङलगायत हिमाली क्षेत्रमा पर्यटकीय स्तरका सुविधासम्पन्न होटलहरू खुलेका छन्‌।

पूर्वी पहाडी जिल्ला अन्तर्गत कोशी कोरिडोरमा कान्जिरा, याक, सुरवी, शीतल निवास, होटल लालीगुराँस, भेडेटार भ्यु, होटल मनशान्त, अरुण भ्याली, ग्रिन हेवनलगायतका होटललाई सुविधासम्पन्न एवं नाम चलेका होटलका रुपमा लिइन्छ।

त्यसैगरी, मेची करिडोरअन्तर्गत पूर्वी पहाडी जिल्लामा होटल ग्रिन भ्यु, होटल वेलकम, चियाबारी कटेज, मेवा खोला रिसोर्ट, स्नोलियो पार्क, होटल सरगम, होटल सुमितलगायतका सुविधा सम्पन्न होटल खुलेका छन्‌।

३५ सयको हाराहारीमा होटल

प्रदेश १ मा झण्डै ३५ सयवटा होटल खुलेका छन्‌। त्यसमध्ये पाँच सयको हाराहारीमा स्टार तहका पर्यटकीय सुविधासम्पन्न होटलहरू रहेका छन्‌। प्रदेशका मुख्य पर्यटकीय गन्तव्यमा घुम्‍न आउनेमध्ये भारतीयहरूको संख्या धेरै हुने गर्छ। पूर्वी नाका काँकडभिट्टा,विराटनगरको रानी, इलामको पशुपतिनग र सुनसरीको कोशी ब्यारेज नाकाबाट भारतीय पर्यटक प्रदेश एकमा भित्रने गरेका थिए।

प्रदेश एकमा दैनिक रुपमा आउने भारतीय पर्यटनको संख्या ३ हजारको हाराहारीमा रहने गरेको थियो। होटल व्यवसाय क्षेत्रमा ५० हजार बढीले रोजगारी पाएका थिए।

पर्यटकीय गन्तव्यकै भर

मेची र कोशी अञ्चलका पूर्वी पहाडी जिल्लामा प्रशस्त पर्यटकीय क्षेत्र छन्। तर, पहाडी जिल्लाका पर्यटकीय क्षेत्रले गति भने लिन सकेको छैन।

पूर्वी नेपालका धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटकीय क्षेत्रहरूदेखि सगरमाथादेखि मकालु, कञ्चनजङ्घा लगायतका हिमालहरू छन्। यी सम्पदाका कारणले १ नम्बर प्रदेश हिमाल आरोहणदेखि ट्रेकिङका लागि पनि विश्‍वमै परिचित छ। त्यसैगरी, ताप्लेजुङको पाथिभरा देवी, खोटाङ जिल्लामा पर्ने हलेसी महादेव, सुनसरीको बराह क्षेत्र धाम, सप्तरीको छिन्नमस्ता देवी, धरानको दन्तकाली र बूढासुब्बा, झापाको कन्काईदेवी लगायतका धार्मिक स्थलहरू यस प्रदेशमा पर्यटकीय आकर्षणका केन्द्र हुन्।

पूर्वी पहाडी जिल्लामा नाम चलेका ३० भन्दा बढी ताल र पोखरीहरू छन्, जसले धार्मिक एवं सांस्कृतिक रुपमा छुट्टै विशेषता बोकेका छन्। तेह्रथुमको चिचिलिङ पोखरीदेखि संखुवासभाको सभापोखरीसम्म सांस्कृतिक अर्थ बोकेका स्थल हुन्।

यी सँगै इलाम चियाको राजधानीको रुपमा पर्यटकीय हिसाबले परिचित छ भने तेह्रथुमको तीनजुरे–मिल्के–जलजले क्षेत्र लाली गुराँसको राजधानीका रुपमा परिचित छ।

पूर्वी तराई क्षेत्रमा कोशी टप्पुसँगै थुप्रै रामसार क्षेत्रहरू छन्। मोरङमा पनि बेलबारी बेतनाजस्ता सिमसार क्षेत्रहरू छन्। इलामको श्रीअन्तुदेखि धनकुटाको भेडेटार मुलघाटजस्ता रमणीय ठाउँहरू प्राकृतिक रुपमै पर्यटक तान्ने स्थल हुन्।

ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सुनसरी, संखुवासभा र खोटाङलगायतका जिल्लाहरू मुलुककै पर्यटन व्यवसायका लागि पूर्वको हवका रुपमा चिनिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.