संक्रमणको दरभन्दा ट्रेसिङ गरिएकाको संख्या कम

|

काठमाडौं : यतिखेर कोरोना (कोभिड-१९) महामारी फैलिएको प्राय: सबैलाई थाहा छ। यो भाइरसबाट विश्वभर दुई करोड ८६ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्‌। मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना भाइरस लागेका सबै मानिस गम्भीर अवस्थामा नपुगेपनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई निकै सकस परिरहेको छ। अहिलेसम्म संसारभर नौ लाख १८ हजारभन्दा धेरै संक्रमितको ज्यान गइसकेको छ।

संक्रमितलाई मात्र उपचार गरेर यो भाइरस नियन्त्रण गर्न असम्भव छ। त्यसैले, संक्रमितको सम्पर्कमा आएका मानिसहरूको पनि स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। उनीहरूको थ्रोट स्वाब निकालेर संक्रमण भए/नभएको परीक्षण गर्ने कामलाई 'कन्ट्याक्ट ट्रेसिङ' गरिएको भनिन्छ। आफन्त, साथीभाई या आफूले हालै भेटेका व्यक्तिमा संक्रमण पुष्टि हुनासाथ मानिसहरू आफूलाई संक्रमण भए/नभएको थाहा पाउन 'कन्ट्याक्ट ट्रेसिङ'मा जाने गरेका छन्‌। 

तर, काठमाडौं उपत्यकामा चाहिँ संक्रमितको सम्पर्कमा रहेका मानिसहरूलाई 'कन्ट्याक्ट ट्रेसिङ'मा ल्याउन सुरक्षाकर्मी एवम्‌ स्वास्थ्यकर्मीले निकै हैरानी बेहोरिरहनु परेको छ। यतिसम्म कि, महामारी नियन्त्रणका लागि आम नागरिकमा सूचना प्रवाह गरिरहेका पत्रकारहरू नै 'कन्ट्याक्ट ट्रेसिङ' गर्न मानिरहेका छैनन्‌। 

काठमाडौंमा कार्यालय रहेको एक न्युज पोर्टल (अनलाइन) मा कार्यरत एक पत्रकारमा भदौ २० गते कोरोना संक्रमण पुष्टि भयो। उनी त्यसअघिका पाँच दिनसम्म कार्यालय आउजाउ गरिरहेकै थिए। सो सञ्चारगृहमा दैनिक जसो १० जना सञ्चारकर्मीहरु हुन्थे।

ती संक्रमित पत्रकार यतिखेर होम आइसोलेसनमा छन्। तर, अहिलेसम्म ती संक्रमितको सम्पर्कमा रहेका कसैको पनि 'कन्ट्याक्ट ट्रेसिङ' भएको छैन।

कोरोना पुष्टि भएपछि संक्रमितको नजिकमा रहेकालाई 'कन्ट्याक्ट ट्रेसिङ' गर्नकालागि स्थानीय तह र अन्य विभिन्न निकायका मानिस नआएको उक्त कार्यालयमा कार्यरत एक सञ्चारकर्मी बताउँछन्।

'अहिलेसम्म कोही पनि जानकारी लिन र सोध्न आएका छैनन्‌,' उनले भने, 'कार्यालका केही पत्रकार साथीहरुले आफ्नो स्वेच्छाले स्वाब संकलन गरी परीक्षण गरिरहेका छन्।' संक्रमितको सम्पर्कमा पुगेपनि आफूमा कोरोनाको कुनै लक्षण नदेखिएकोले परीक्षण नगरिएको उनले बताए। 'कन्ट्याक्ट ट्रेसिङ'को लागि अफिसका अन्य साथीहरुलाई जानकारी गराएको छ भनेपनि हामीलाई खबर प्राप्त भएको छैन,' ती पत्रकारले थपे।

सहकर्मीमा संक्रमण देखिएपछि सो सञ्चारगृहमा कार्यरत अन्य पत्रकारहरूले घरबाटै काम गरिरहेका छन्‌। संक्रमितले अहिलेसम्म आफूलाई कोरोना संक्रमण भएकोबारे आधिकारिक रुपमा जानकारी पनि गराएका छैनन्‌।

काठमाडौं महानगरपालिका-२७ का एक व्यापारीमा कोरोना पुष्टि भयो। उनको परिवार र छिमेकीको 'कन्ट्याक्ट ट्रेसिङ' भयो। तर, पसलमा सामान खरीद गर्न आएका अन्य ग्राहकको 'कन्ट्याक्ट ट्रेसिङ' हुन सकेन।

महानगरपालिकाभित्र 'कन्ट्याक्ट ट्रेसिङ' नगरिएका यी प्रतिनिधि घटनामात्रै हुन्‌। यस्तै कयौं घटनाहरु बाहिर सार्वजनिक नहुँदा कोरोना संक्रमण भित्र-भित्रै फैलिइरहेको छ।

संक्रमितलाई लक्षण नदेखिएपनि निजको सम्पर्कमा आएका अन्य व्यक्तिमा संक्रमण फैलिएर गम्भीर अवस्थामा निम्तिइसकेको हुन्छ। कार्यालयका कसैलाई संक्रमण पुष्टि भएको, तर लक्षण नदेखिएको भनेर 'कन्ट्याक्ट ट्रेसिङ' मा नजाँदा जनधनको गम्भीर क्षति हुने जनस्वास्थ्यविद्हरु बताउँछन्‌।

कोरोना पुष्टि हुने त्रासले 'कन्ट्याक्ट ट्रेसिङ' गर्दैनन्

संक्रमितको सम्पर्कमा आएकामा कोरोना पुष्टि भइहाल्ने त्रासले पनि धेरै मानिसले 'कन्ट्याक्ट ट्रेसिङ' नगरेको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्। सम्पर्कमा रहेका मानिसमा कोरोना पुष्टि भए अन्य मानिसले पनि परीक्षण गर्न उनी सुझाउँछन्‌।

'समाजमा कोरोना भएको अरुले थाहा पाउँछन्‌ भनेर पनि 'कन्ट्याक्ट ट्रेसिङ' गरेका नहुन सक्छन,' डा. कोइरालाले भने, 'कोरोना भएपछि समाजले अपहेलना गर्छन् भन्ने ठूलो मनोवैज्ञानिक त्रासमा आम मानिसमा छ। यस्तो त्रासमा बस्नु भनेको समाजलाई अझ पछि धकेल्नु हो, अफवाह नभई चेतनाका आधारमा अघि बढ्नुपर्छ।'

परीक्षण गर्नका लागि सर्वसुलभ तरिकाले उपलब्ध हुने एन्टिजेन विधि चाँडोभन्दा चाँडो भन्दा लागू हुनुपर्ने उनको भनाई छ। यो विधि लागू भएमा नजिकैको साना-साना अस्पतालले कोरोना परीक्षण गर्न सक्‍ने उनले जानकारी दिए। उनका अनुसार पीसीआर भन्दा एन्टिजेन विधिबाट सस्तो मूल्यमा परीक्षण गर्न सकिन्छ।

परीक्षण गर्नको लागि निश्चित अस्पताल तोकिएकाले पनि मानिसहरू परीक्षण गर्न नगएका हुनसक्ने उनको भनाई छ। कोरोना सामान्य रोग हो र यसलाई सामान्य तरिकाले आफ्नो स्वास्थ्यको ख्याल गर्दा निको हुन्छ भनेर बुझाउन नसक्दा धेरै मानिसहरुले लुकाएर हिँड्ने तथा 'कन्ट्याक्ट ट्रेसिङ' गर्न नमानिरहेको उनी बताउँछन्‌।

काठमाडौं महानगरपालिकाबाट प्राप्त तथ्यांकअनुसार १० हजार ५ सय २९ र काठमाडौं स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १० हजार २ सय १० जनाको 'कन्ट्याक्ट ट्रेसिङ' भएको छ। काठमाडौंमा संक्रमितको संख्या ८ हजार ७ सय २६ पुगिसकेको छ। तथ्यांक हेर्दा संक्रमित संख्या तुलनामा 'कन्ट्याक्ट ट्रेसिङ' कम भएको सहजै आंकलन गर्न सकिन्छ।

'कन्ट्याक्ट ट्रेसिङ'को लागि स्वयंसेवक

पछिल्लो समयमा इडिसिडि र स्थानीय तह मिलेर 'कन्ट्याक्ट ट्रेसिङ'का लागि छुट्टै स्वयंसेवक दल बनाएर काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्।

धेरै मानिसमा यस्तो ट्रेसिङ गर्दा केही मानिस छुटेको हुनसक्ने उनको तर्क छ। 'कन्ट्याक्ट ट्रेसिङ'को लागि स्थानीय तहका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्ने उनले बताए। संक्रमितको सम्पर्कमा आएकाले 'कन्ट्याक्ट ट्रेसिङ' मा जिम्मेवारीपना देखाउनुपर्ने उनी बताउँछन्‌।

कन्ट्याक्ट ट्रेसिङ गर्न वडा कार्यालयमा जानकारी दिन आग्रह

काठमाडौं महानगरपालिकाले संक्रमितको सम्पर्कमा रहेकाको 'कन्ट्याक्ट ट्रेसिङ' लाई पहिलो प्राथमिकतामा  राखेर काम गरिरहेको कोरोना फोकल पर्सन ज्ञानु वलीले बताए।

उनले भने, 'संक्रमितले ठेगाना अपुरो दिँदा वा काम गर्ने कार्यालयको जानकारी नहाल्दा पनि समस्या हुने गरेको छ। संक्रमितले सही सूचना नदिँदा पनि 'कन्ट्याक्ट ट्रेसिङ' हुन सकिरहेको छैन।'

संक्रमितले आफू रहेको स्थानको वडा कार्यालय या वडाअध्यक्षलाई सम्पर्क गरी समस्या भएको जानकारी गराउन उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.