बस्ती नै जोखिममा पर्न थालेको स्थानीयको चिन्ता

|

सर्लाही : सरकारले असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा व्यापक नदी दोहन भइरहेको पाइएको छ। 

सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सयौं ट्याक्टर र टायरगाडा प्रयोग गरी ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेको स्थानीयले बताइरहेका छन्।  जिल्लाकै सबैभन्दा ठूलो बागमती नदी दोहन भइरहेको त्यहाँका स्थानीयले बताउने गरेका छन्। 

बामगती नगरपालिकाअन्तर्गत कर्मैया, जिरायत टेकानीघाट, रामपुरघाट, लालबहादुर टोलघाट र बरहथवा नगरपालिकाको खर्सालघाट, हजरियाबाट दिनदहाडै ट्याक्टर प्रयोग गरी नदीजन्य पदार्थ निकालिने गरिएको छ। 

हरिवन र लालबन्दी नगरपालिकाको सिमाना भएर बग्ने लखन्देही खोलाको गणेशचोक नवलपुर, मोहनपुर, हरिपुर नगरपालिकाको जगतपुर, ईश्वरपुर नगरपालिकाको बाँके, श्रीनगर, फूलजोरबाट र लालबन्दीको कलिन्जोरबाट दैनिक सयौं सवारी साधनले नदीजन्य पदार्थ ओसारिरहेका छन्। 

तर सम्बन्धित निकाय बेखबर झैं बनेका छन्। अवैध रुपमा उत्खनन गरी निकालिएका नदीजन्य सामग्री बिक्री गर्ने र बिक्री नभएको खोलाकै बगरमा भण्डारण गर्ने गरिएको छ। प्रतिबन्ध हटेपछि व्यापारीहरुले महँगोमा बिक्री गर्ने हजरियाका स्थानीय गोविन्द कार्की बताउँछन्। 

उनका अनसार प्रहरी कार्यालय परिसरको बाटो हुँदै ट्याक्टर दौडिरहेका हुन्छन्, उनीहरुलाई रोकटोक गरिँदैन। घरायसी कामका लागि एक गाडा वालुवा ल्याउँदा प्रहरीले अनावश्यक दुःख दिने गरेको कार्की बताउँछन्। 

सुरुमा प्रहरीले डर देखाउने र पछि प्रतिट्याक्टर दुई सय र गाडाको एक सय लिएर छाड्ने गरेको उनले गुनासो गरे। जनप्रतिनिधिकै आफ्ना पार्टीका कार्यकर्ता र आफन्तसहित प्रहरीको मिलेमतोमा नदी दोहन भइरहेको छ। यतिखेर नदी नजिकै रहेका गाउँका स्थानीय र ठेकेदारले दादागिरी शैलीमा नदीजन्य सामग्री उत्खनन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन रहेको लालबन्दी–१ नवलपुरका रामबाबु महतोले आरोप लगाए।  

यता ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले नदी दोहन कार्यमा जनप्रतिनिधि र प्रहरीको कुनै किसिमको संलग्नता नरहेको दाबी गरे।  प्रहरीले पटक पटक नदीजन्य सामग्री लिन खोलामा गएका सवारी साधनलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय निकायलाई जिम्मा लगाउने गरेको उनले बताए। 

प्रहरीले यसरी नियन्त्रणमा लिएका सवारी साधनलाई पत्रलेखि सम्बन्धित स्थानीय निकायमा पठाउने र प्रतिसवारी साधन तीन हजार जरिवाना गराई छाडिने गरेको मेयर देवकोटाको भनाइ छ।

स्थानीयले लगाएको आरोपजस्तो नभएको र जति नियन्त्रणमा लिएर कारबाही गरे पनि प्रहरीको आँखा छली तस्करहरुले रातको समयमा नदीजन्य पदार्थ चोरी निकासी गरिरहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले स्विकारेका छन्।. 

तस्करहरुले खोलाबाट विभिन्न साधन प्रयोग गरी नदीजन्य वस्तु निकाल्नाले बागमती, बाँके, लखन्देही, फूलजोर कालिन्जोर खोला किनार आसपासका सयौं बिघा कटान भएको छ। तटीय क्षेत्रका दर्जनौं बस्ती नै डुबानमा पर्ने जोखिम रहेको स्थानीयले चिन्ता ब्यक्त गरेका छन्।

यसैबीच बागमती नगरपालिकाअन्तर्गत बागमती खोल किनारमै अवैध रुपमा नदीजन्य पदार्थ दोहन गरी संचालित तीन वटा क्रसर उद्योग र क्रसर संचालकलाइ कार्बाही माग गर्दै गत वर्ष प्रहरी कारबाहीमा मारिएका बागमती नगरपालिका–२ धरहरा निवासी विप्लव समूहका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलकी आमा दुर्गादेवी, पत्नी धनकुमारी खड्का र भाइ हरिकृष्ण गत बुधवारबाट आमरण अनसनमा बसेका थिए।

स्थानीय प्रशासन, नगरप्रमुख, र अनशनकारीबीच क्रसर उद्योग र क्रसर संचालकलाई छानबिन गरी दोषी ठहरिए कार्बाही गरिने सहमतिपछि हिजो शुक्रबार अबेर अनशन तोडिएको थियो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.