सुरुमा आमाछोरीले बनाए, अहिले अरु सहयोगी थपिए

|

काठमाडौं : कोरोनाका कारण समस्यामा परेका, रोजगारी गुमाएका व्यक्तिहरु वा कोरोनाकै कारण खाना खान नपाएकाहरुलाई विभिन्न मनकारी व्यक्ति र संघ संस्थाले अहिले निःशुल्क खाना खुवाइरहेको हामीले पढ्ने, सुन्‍ने गरेका छौँ। 

चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाको संकटपूर्ण समयमा सयौँ जनाका लागि खाना बनाएर सधैं एउटै समयमा खुवाउनु चानचुने कुरा होइन। तर अभियन्ताहरुले संकटमा पनि यसलाई सम्भव गरिरहेका छन्। 

उनीहरुले निशुल्क दिने खाना कसरी बन्छ? कहाँ बन्छ? खर्च कसरी व्यवस्थापन गर्छन् होला? खाना बनेको ठाउँबाट कसरी प्याकिङ भएर आउँछ? आज हामी तपाईंलाई देखाउँदै छौँ त्यो भित्री कथा, जुन तपाईं हामीले विभिन्‍न सञ्चारमाध्यम सामाजिक सञ्जालमा देख्‍ने गरेका छौँ।

विश्‍वव्यापी बनेको कोरोना महामारीले नेपाललाई पनि नराम्रारी प्रभाव पारेको छ। हजारौं संक्रमित भएका छन्। तीन सय बढीले ज्यान गुमाएका छन्। लाखौँले रोजगारी गुमाएका छन्। कोरोनाका कारण रोजगारीमा मात्रै होइन, हजारौँले दुई छाक खाना खानसमेत पाएका छैनन्। 

गत चैतबाट कोरोना संक्रमणको जोखिम कम गर्न जारी भएको लकडाउनले धेरैजना हप्ता दश दिनभन्दा बढी समय भोकै बस्‍न बाध्य भए। अवस्था तत्काल सामान्य नहुने अवस्था आएपछि मनकारी व्यक्ति र संघसंस्थाले भोकै परेकाहरुलाई खोजी खोजी सहयोग गर्न थाले। 

कोही, हप्ता दश दिन एक महिनामा थाके त कोही आजको दिनसम्म पनि त्यस्ता व्यक्तिहरुलाई खोजी खोजी खाना खुवाइरहेका छन्। तिनैमध्येकी एक हुन् बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा राना मगर। 

कोरोना महामारीअघि आश्रित बालबालिकालाई हेर्दै गरेको उनको संस्थाले अहिले कोरोनाका कारण समस्या परेका खान नपाएका अशक्त व्यक्ति र सडक बालबालिकाहरूलाई खाना खुवाइरहेको छ। 

 सुरुवात २० जनाबाट

पहिलो दिन आफ्नो संस्थामा रहेका बाहेक २० जनालाई खाना खुवाएकी राना मगरले दोस्रो दिन ३०, तेस्रो दिन ४० हुँदै एक महिना नपुग्दै दैनिक २ जना खाना खुवाउन थालिन्। 

अहिले विभिन्‍न क्षेत्रमा गरी एक दिनमा ७ सय बढीलाई खाना खुवाइरहेको उनले बताइन्। 'पहिलो दिन २० जनालाई पकाएर खुवाएँ। त्यसपछि ३०, ४० जना हुँदै एक महिना नपुग्दै २ सय जनालाई खुवाइयो', उनले खुसी हुँदै भनिन्।

जनप्रतिनिधिकै असहयोग

सुरुमा ठमेलको संचय कोष क्षेत्रमा खाना खुवाइ रहेपछि स्थानीय तहका पदाधिकारी र केही स्थानीयहरुले कोरोनाको बेला भिडभाड र फोहोर गर्‍यो भन्‍ने बाहनामा दुर्व्यवहार गरेको उनको अनुभव छ। 

संस्थाका सबै स्टाफहरू नभएको बेला दरबार मार्ग वृत्तका प्रहरीले समेत खाना बाँड्न सहयोग गरेको उनले बताइन्। सुरुमा दुई छोरी र आमा मिलेर दैनिक खाना बनाउने, प्याकिङ गर्ने, खुवाउने र साँझ आएर भाँडा धुने काम गर्ने गरिन्थ्यो।

सहयोगी थपिँदै 

अहिले भने अन्य सहयोगी पनि आइसकेपछि केही सहज भएको उनले बताइन्। संक्रमणको जोखिम नहोस भनेर सधैँ आफैँ खाना डेलिभरी गरी असहायलाई बाँड्छिन् राना मगर। 

आफूले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खाना वितरण गर्ने गरेको उनले बताइन्। सुरुको दिनमा आफ्नै खर्चबाट पकाएर खुवाउने गरेको भए पनि अहिले विभिन्‍न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्ने गरेका छन्। 

कसैले जन्मदिनको अवसरमा त कसैले कुनै न कुनै अवसर पारेर नगद तथा अन्य सहयोग गर्दै आएका छन्। बिहानैदेखि खाना तयारीका लागि ड्युटीमा खटिनुपर्ने भए पनि सहयोगीहरुलाई काममा आउन जवरजस्ती नगरेको उनको भनाइ छ। 

तर काममा आए-नआए पनि सुरक्षित बस्‍न आफ्ना सहयोगीहरुलाई सधैं भन्‍ने गरको उनले बताइन्। लकडाउन अघिसम्म बढीमा २ सयजनाको लागि खाना बनाएको अनुभव सुनाएकी राना मगर अहिले अहिले ७ सय भन्दा बढी व्यक्तिका लागि खाना तयार गर्छिन्। करिब पौने १ घण्टामा। 

दैनिक तीन बोरा चामल

दैनिक औसत ३ बोरा चामल पकाउने गरेकोमा कहिलेकाँही बढी मान्छे भएमा पहिलो चरणमा खाना बाँडेर पुनः पकाउँदै बाँड्नुपर्ने अवस्था रहेको उनले बताइन्। 

पोषणयुक्त खाना र सरसफाईमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले अहिले १ सय रुपैयाँले दैनिक ३ जनालाई खाना खुवाउने गरेको बताइन्। खाना तयार गर्दादेखि प्याकिङ गरी वितरण गर्दासम्म १ सय बराबर तीन जनालाई खाना खुवाउँछिन् राना मगर। महामारीको समयमा अरुलाई दोष दिएर बस्नुभन्दा सबै मिलेर एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्नुपर्ने सुझाव इन्दिराको छ। 

'प्रत्येक नेपालीले एक रुपैयाँ र १ माना मात्रै चामल दिए पनि अहिलेको समस्या समाधानका गर्न सकिन्छ', उनले सुनाइन्, 'जनताले नै जनताको समस्या समाधान गर्ने हो। नेपाली मनका धनी छन्, यो महामारीको समयमा त्यो छर्लङ्ग देखिएको छ। देशविदेशमा रहेका दाजुभाइहरुले सहयोग गरिरहनुभएको छ। अहिले पनि सरकारबाट सेवानिवृत्त कर्मचारीले पनि सहयोग गरिरहनुभएको छ।' 

सरकारका कमजोरीहरू औंल्याउँदै सुझाव दिने र मिलेर अगाडि बढ्नुपर्ने उनले बताइन्। राना मगरले अहिले ठमेल, गल्कोपाखा चोक, जमल, खुलामञ्च लगायतका ठाउँमा ७ सयभन्दा बढीलाई दैनिक खाना खुवाउँदै आएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.