|
फाइल फोटो

बागलुङ : वर्षासँगै आएको बाढीले ताराखोला गाउँपालिकामा जडान गरिएका पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ। गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको हो।

मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै एक करोडभन्दा रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। 

यस्तै, दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ। पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध भएको छ। ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्‍याएको घर्तीले जानकारी दिए। 

'अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ', घर्तीले भने, 'बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् तथा सडकमा क्षति पुगेको छ।' घर्तीले सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्न थालिए पनि ठूलो खर्च लाग्ने बताए। 

गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदै आएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ। ताराखोला–१ पूरै र सिले र अर्गलको केही भाग बाहेक अन्य स्थान अन्धकार भएको छ।

बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्‍याएको छ। गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.