ब्लग

हिम्मत, औषधि र जीवनशैलीले दिएको अर्को जुनी

मिर्गौला बिरामीको एउटा उत्साहप्रद कथा

भदौ ३०, २०७७

    रामहरि अधिकारी

    विसं. २०७२ को वर्ष महाभूकम्पको कारण सम्पूर्ण नेपालीको लागि अविस्मरणीय बनेको छ। तर मेरो लागि स्वस्थ्यका कारण पनि अविस्मरणीय बन्न पुग्यो।

    त्यहि वर्ष भुकम्पछि मेरो स्वास्थ्यमा गिरावट आएर  मृत्युलाई अत्यन्त नजिकबाट अनुभव गरें। त्यति बेला मैले मेरो जीवनबाट झण्डै हार मानिसकेको थिएँ। तर त्यो अवस्थालाइ चिरेर झण्डै ६४ महिना पछि म आज सामान्य  जीवनमा फर्किएको छु। कतिपय मेरा धेरै परिचितले अचम्म मान्नुहुन्छ।

    म जनस्वास्थ्य विषयमा उच्चशिक्षाको लागि  २०६७ सालमा नेपालमा खाँदै गरेको जागीर छोडेर वेलायत गएँ। पढाइ सकेको केहि समयमै त्यहिको सिआइसि भन्ने कम्पनिमा  स्थायि जागीर गर्न थालें। तर विदेशमा काम गर्दा स्थायी र पिआर पाउने खालकै काम भए पनि सधैं त्यहाँ हेपिएको महसुस हुन्थ्यो।

    “नेपालमा मेरो यो डिग्रिको कति ठूलो माग छ, म किन यहाँ हेपिएर बस्नु , पैसा त मैले नेपालमै गएर पनि कमाउन सक्छु” भन्ने लागिरहेको थियो।  नजिकका साथीहरूले पनि “नेपाल फर्केर आइज, मिलेर काम गरौंला भनेर फर्किन उत्प्रेरित गरे। अनि चार बर्ष  वेलायत बसेर म नेपाल फर्केँ।

    नेपाल फर्केर विभिन्न कलेजमा पढाएँ र गैह्रसरकारी संस्थामा काम गर्न थालें। यसै क्रममा २०७२, वैशाख १२ गते महाभूकम्प आयो। म तत्काल मेरो संस्थाको प्रतिनिधित्व गर्दै पिडितहरूको उद्धार र राहतको लागि गोर्खामा राहत सामाग्री पुर्याउने कार्यमा सम्लग्न भएँ। वैशाख २९ गते आएको  भूकम्पको  ठूलो पराकम्प  पछि नुवाकोट गएँ र त्यहा उद्धार राहतमा व्यस्त भएँ।

    घामपानी,  दिनरात केहि नभनि राहत उद्धारमा संलग्न भएका कारण मलाई असजिलो हुन थाल्यो। वेलायत बसाइमा मासु, वियर, चकलेट, आइसक्रिम अत्याधिक खाने गरेकोले होला, मेरो रक्तचाप त त्यहिँ  हुँदै बढि सकेको थियो। वैशाख जेठको घाममा एकदम व्यस्त हुने र सोहि अनुसार पानी पिउन र राम्ररी सुत्न नपाएकोले होला, मलाई पिसाबमा समस्या भयो।

    नुवाकोटबाट फर्केर जेठ ८ गते अफिस गएँ अनि कम्प्युटर खोलेर हेर्दा त्यहाको अक्षर  नै देखिएन। अनि म तुरुन्तै तिलगंगा अस्पताल पुगेर डाक्टरलाई देखाउँदा मेरो रक्तचाप अत्यधिक भएको बताइयो।

    रगतमा चीनीको मात्रा बढी भएर आँखाको नसा फुटेर डायवेटीक रेटिनोप्याथी भएको अनि त्यसलाई ठिक पार्न तुरुन्तै रक्तचाप  घटाउने र चीनीको मात्रा कम गर्नु पर्ने सल्लाह पाएँ। साँझ घर फर्केर किर्तिपुर अस्पतालको आकस्मिक कक्षमा गएँ। रक्तचाप २५०को तल १६० भेटियो।

    त्यहाँका डाक्टर आत्तिएर 'तुरुन्तै गंगालाल नगए आज रात काट्न मुश्किल छ' भने। अनि राती १० बजे एम्वुलेन्स चढेर गंगालाल गएको म त्यहाँ भर्ना हुनासाथ बेहोस भएछु। अनि त्यहाँबाट सुमेरु अस्पताल लगेर आइसियुमा भर्ना गरिएछ।

    पाँच दिनपछि होसमा आउँदा मेरो अगाडी टेवलमा रगतमा क्रेटिनिन ज्यादा भएर दुइवटै मिर्गौला काम नगर्ने अवस्थामा पुगेको (सिकेडी), धेरै रक्तचापले मुटुको भित्ता वाक्लो भएर मुटुले राम्ररी काम नगर्ने (मायोकार्डियोप्याथी), मधुमेह भएको, आँखामा डाइवेटीक रेटिनोप्याथी भएको, दिमागको नसाले राम्ररी काम नगरेको, प्रोष्टेट बढेको लगायतका समस्याहरू उल्लेखित रिपोर्ट थियो।

    १५ दिनपछि अस्पतालले डिस्चार्ज दियो। मेरो उपचार सलग्न डा. ऋषिकुमार काफ्लेले मेरा दुबै मिर्गौलाले १५ प्रतिशत मात्र काम गरेकाले दाता पाए मिर्गौला प्रत्यारोपण गर्ने नत्र डाइलाइसिस शुरु गर्नुपर्ने भएकोले निर्णय गरेर फर्किन भने।

    त्यसपछि म काम गर्ने संस्थाले 'अब यो मर्छ', भन्ने ठानेर होला, “अब तपाइँ ठिक भएर मात्र अफिसमा आउनु होला, त्यतिन्जेल हामी अर्कै मान्छे राख्छौँ” भनेर जागीर पनि खोसीदियो। अन्याय पर्दा पनि म मुद्धामामिला गर्न सक्ने अवस्थामा थिइनँ।

    घर फर्केर पनि आँखाले पढ्न र टेलिभिजन हेर्न कठीन भयो। म फेरी लेजर गराउने बिचारले तीलगंगा गएँ। त्यहाँपनि डाक्टरले क्रेटिनीन सामान्य नभएसम्म लेजर गर्न नमिल्ने बताए। क्रेटिनिन घटाउन वा डाईलाईसीस वा मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भयो। तर म दुबै विकल्पकोलागि तयार थिइन।  किनभने मिर्गौला भन्ने वित्तिक्कै पाइने कुरा भएन, डाइलाइसिस शुरु गर्नु भनेको जीवनभर अपाहिज हुनु हो भन्ने मेरो दिमागमा थियो।

    किताव पढ्न लेख्न पनि नमिल्ने, केहि काम गर्न पनि नसकिने भयो। दिनभर अनेक कुरा सोचेर बस्नु पर्ने भयो। हरेक कुरा बिर्सिने भएको थिएँ। मैले मेरो जिविकाको लागि गर्न सक्ने कुरा केहि बाँकी थिएन। यसले गर्दा मनमा नकारात्मक कुरा खेल्न थाले। मैले के गर्दा सजिलोसंग मर्न सकिएला भनेर आत्महत्या गर्ने उपायहरूबारे सोच्न थालेँ। दुई रात त मैले आँखा झिमिक्क नगरी पलेटी कसेरै बिताएँ।

    त्यस्तै बेला एकजना आफन्तले मलाई त्रिवि शिक्षण अस्पताल लैजानु भयो। त्यहाका डाक्टर कनक राउतले “किन डराएको त्यसै, अहिले नै मिर्गौला फेर्नु पर्ने भएको छैन” भने , मलाई अलिकति आत्मविश्वास पलायो।

    फेरि नरदेवी अस्पतालमा  कार्यरत डाक्टर बहिनी कोपीलाले उनको अस्पताल लगेर डा. सिद्धार्थ ठाकुरसँग भेटाइन्। उनले  जडीवुटी लगायत विभिन्न आयूर्वदिक औषधि दिए। एलोप्याथिक औषधिसंगै आयूर्वदिक औषधि पनि शुरु गरेँ। यसैबीच पेपीनोमेलोन भन्ने टमाटर जस्तो फलफूल पनि खान थालें।

    बिरामी भएपछि शुरु भएको पिसाब पोल्ने समस्या आयूर्वेदिक औषधि र पेपिनोमेलोनले च्वाट्टै पार्यो। यसले आत्मविश्वास बढ्यो। त्यसपछि तिलगंगा गएर “डाक्टरलाइ मेरो चिनी र क्रियाटिनिन नघटे पनि मेरो लेजर गरिदिनुस्, म यसै मर्ने ,उसै मर्ने , केहि भएमा म आफै जिम्मेवारी लिन्छु” भनेर सहि धस्काएर दुई पटकसम्म लेजर गराएँ। लेजर गरेपछि फेरी आँखा देखिन थाल्यो।

    मेरा एक विद्यार्थी जो आयूर्वेदिक डाक्टर पनि हुन्, उनले मलाई बुद्धधर्म सम्बन्धी अध्ययन सामग्री  दिइन्। त्यो अध्ययन गरेपछि बुद्धले भनेका चार आर्यसत्य बारे थाहा भयो।

    हरेक कुरामा दुःख छ, हरेक दुखको कारण हुन्छ, हरेक दुख निर्मूल गर्ने उपाय छ र  दुख निर्मूल गर्ने उपाय भनेको अष्टमार्ग हो भन्ने कुराले मलाई प्रभावित गर्यो। मैले आफ्नो जीवनशैलीमा सक्दो परिवर्तन ल्याएँ। मैले अपनाएका तिनै परिवर्तित व्यवहारहरूले गर्दा मेरो जीवन सामान्य हुँदै गयो।

    पहिले ५.९ सम्म पुगेको क्रेटिनिन अहिले करीब सामान्य ( १.५को वरीपरि) छ। मिर्गौलाको लम्वाइ घटेर ८.९ सम्म पुगेकोमा अहिले फेरी करीब ११ सेमीसम्म पुगेको छ।

    त्यसको केहि समयपछि मैले यौटा प्रतिष्ठित संस्थामा जागीर पाएँ। “तँ मर्छस्'' भनेर निकाले पछि सम्पूर्ण रूपमा स्वस्थ व्यक्तिहरूसंग खुला प्रतिस्पर्धा गरेर एक अर्का जागीर पाएर त्यो भन्दा राम्रा संस्थामा चुनौतीपूर्ण काम गर्न थालेको अहिले ठीक ५ वर्ष भएको छ।

    अहिले पनि म नियमित औषधि सेवन गर्छु। बिहान ३ वटा चक्कि, यौटा सुई अनि बेलुका ५ वटा चक्कि खान्छु अनि यौटा सुई लगाउँछु। तर मेरो शरीर  हेरेर वा कामको मूल्यांकन गरेर कसैले पनि त्यो खालको बिरामी भएको मान्छे भन्न सक्दैन। त्यसमा मैलै परिवर्तन गरेका व्यवहारहरू नै हुन् भन्ने लाग्छ। ति हुन्ः

    १. बुद्ध दर्शन

    सर्वप्रथम मलाई आत्मविश्वास दिने काम दुद्ध दर्शनको अध्ययनले दियो। यसको ४ आर्य सत्यलाइ मनन गरेपछि संसारमा दुःख पाउने म मात्रै होइन, मेरो रोगको कारण मेरो आफ्रनै व्यबहार हो र ‘मैले अष्टांगिकमार्गको अवलम्वन गरें भने  मेरा सारा दुःख दूर हुन्छ’ भन्ने शिक्षाले मलाई म ठिक हुन्छु भन्ने विश्वास दिलायो। 

    २. सकारात्मक सोच

    अरुको बारेमा नराम्रो सोच्दिन। आफ्नो दुखको बारेमा खासै चिन्ता पनि गर्दिन। अरुले गाली नै गर्यो भने पनि त्यसलाई सामान्य रूपमा लिने प्रयास गर्छु। आफैलाई कुनै पनि समय खालि राख्दिन, केहि न केहि न लेख्ने पढ्ने गरेपछि दिमागमा नराम्रा् कुरा खेल्न पाउँदो रहेनछ।

    ३. दिनचर्या

    बिचमा केहि समय बाहेक म बिहानै उठ्ने र बेलुका चाँडो सुत्ने गरेको छु,  सुत्ने वितिक्कै मजाले निन्द्रा पर्छ। पहिले झण्डै ४ वजे उठेर १ घण्टा हिड्थेँ भने अहिले बिहान ५ बजे उठ्छु र सवाघण्टा शारीरिक अभ्यास गर्छु अनि वेलुका १० बजेतिरै सुत्छु। मिलेसम्म बुद्धका भजन, प्रवचन वा  संगीत सुन्ने गर्छु।

    ४. खानपान

    मैले मासु खान छाडेँ। कहिले काहिँ माछा र अन्डा खान्छु। मादक पदार्थ अलिअलि खान्थे कहिले काहिँ, अहिले बन्द गरें। धुम्रपान कहिल्यै गरिन। पहिला दुई वर्ष त नुनविनाको तरकारी उसिनेर मात्रै खाएँ।  अहिले मसला चिल्लो नहालेको खान्छु। तर गुलियो खान्न, चिल्लो धेरै कम खान्छु। पाएसम्म जैविक खाना, हरियो तरकारी र दूध प्रशस्त खाने अनि बिहान भात अनि बेलुका रोटी खाने गरेको छु। 

    ५ आयुर्वेद र प्राकृतिक चिकित्सा

    एलोप्याथिक औषधिसंगै धेरै समय ग्रिन पुननर्वा सहित गुर्जो लगायतका जडीवुटीको धुलो पकाएर र तातोपानीमा त्रिफला चुर्ण खाने अनि ग्रिन टि पिउने बानी गरें। सुबर्णभष्म धेरै महँगो र पुनर्ननवा चाहिं बजारमा नपाइने भएकोले अहिले खाएको छैन। तर पाएको बेला पेपलिोमेलोन र भूइँस्याउ भन्ने फल खाने गरेको छु। मेरो अनुभवमा पेपीलोमेलोन र भूइस्याउ पिसाब र  त्रिफला दिशा सफा गराउन एकदम फाईदाकारक छ।

    ६ ध्यान र योगा

    म हरेक दिन एकैछिन ध्यान गर्छु,  प्राणायाम र अनुलोम विलोम गर्छु। यसले मनमा तनाव हुन नदिन र शरीरमा हानिकारक हर्मोनहरू उत्पादन हुन दिँदैन अनि स्मरणशक्ति बढाउन मदत गरेको मेरो अनुभव छ।

    ७. एलोप्याथिक औषधिको नियमितता

    मैलै जति महंगो (हरेक महिना करीब १२ हजारको) र धेरै  भएपनि  औषधि साथै सूई लगाउन छोडेको छैन। जस्तोसुकै अप्ठेरोमा पनि नियमित गरेको छु।

    ८. अरुको दुःखमा सहभागीता

    मेरो स्वास्थ्य समस्या पछि मैले आफूजस्तै स्वास्थ्य समस्या झेल्दै गरेका र आर्थिक समस्या हुनेका लागि च्यारिटी गरेर उनीहरूको उपचार र शिक्षामा सहयोग गरेँ। खासगरि हेटौडामा  घाँटीमा क्यान्सर भएकी एकजना वालिका र दुईजना मिर्गौलापिडितको उपचार तथा त्यहिकै केहि बालवालिकाको शिक्षाकोलागि च्यारीटी सन्चालन गरे। यसले गर्दा ‘अरुको हेरी मेरो दुख खासै केहि होइन र मैले चिन्ता मान्नु पर्दैन’ भनेर मेरो आत्मविश्वास उँचो बनाउने काम  गर्यो।    

    मलाई लाग्छ, यति ८ वटा कुरा गर्न सकेमा  हरेकको रोगबाट हुने कष्ट कम हुन्छ र स्वस्थ्य हुन सकिन्छ र आयू पनि बढ्छ भन्ने विश्वास बाँडेको मात्र हुँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]