|

इलाम : विश्वमा कोरोना महामारी सुरु हुनअघि विभागीय टिम त्रिभुवन आर्मीका विङ्गर विवेक बस्नेतको काम फुटबल खेल्नु थियो। शहीद स्मारक लिग र देशका विभिन्न भागमा हुने गोल्डकप प्रतियोगितामा आर्मी टिमलाई उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण हुन्थ्यो।

पछिल्लो पटक उनले आफ्नै गृह जिल्ला इलाममा भएको माईभ्याली गोल्डकप खेले। प्रतियोगितालगत्तै सरकारले लकडाउन लगाएपछि उनी फुर्सदिला भएका थिए। अहिले कोरोनाले खेलकुद क्षेत्र प्रभावित भएपछि विवेकको भूमिका फेरिएको छ।

यो पनि पढ्नुस् : 

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनाले पाएपछि त्यसको हिस्साको रुपमा विवेकसमेत सहभागी हुन पाएका हुन्। एक साता भयो विवेक कोरोना संक्रमणबाट मुत्यु भएकाहरुको शव व्यवस्थापनमा जुटिरहेका छन्।

‘कोरोनाका कारण देश संकटमा परिरहँदा सामाजिक रुपमा सहभागी हुन पाउनु आफैँमा गर्वको कुरा हो’ उनले भने, ‘मैले जस्तो पुण्यको काम गर्ने अवसर सबैले कहाँ पाउँछ र?’

उनले गत साउनमा शव व्यवस्थापनसम्बन्धी आरआरटी तालिम लिएर अहिले फिल्डमा खटिरहेका छन्। ‘शव व्यवस्थापन आफैँमा चुनौतीपूर्ण कार्य हो। शुरु शुरुमा त डर थियो पछि भने सहज नै महसुस भएको छ। जसरी छुँदैमा कोरोना सर्छ भन्ने भ्रम थियो त्यो रहेनछ।’ उनले भने, ‘मनमा डर नहुने हो र आफू सुरक्षित भएर काम गर्ने हो भने सहजै कोरोना सर्दैन।’

गत भदौ २० गते काठमाण्डौमा मृत्य भएका पर्साका व्यक्तिको शव व्यवस्थापनमा गरेका विवेकले हिजो मात्र ३ जनाको शव व्यवस्थापन गरे। ‘हालसम्म ७ जनाको शव व्यवस्थापनमा सहभागी भइसके। हस्पिटलमा मृत्यु भएका शवको हस्पिटल आफैँले प्याक गर्दिन्छ तर कुनै व्यक्तिको घरमै मृत्यु भयो भने हामी आफैँले गएर प्याक गर्नुपर्ने हुन्छ।’ उनले भने, ‘मैले अहिलेसम्म घरबाट शव उठाउनुपरेको छैन।’

एकपटक शव व्यवस्थापनमा ७ जना सहभागी हुने गर्छन्। ३ वटा गाडीका चालक, कमान्डर १ जना, शव व्यवस्थापनमा २ जना र स्टेन्डबाई एकजना रहन्छ। ‘ पिपिइ लगाएर आफू सुरक्षित भएर फिल्डमा खटिन्छौँ। फिल्डबाट फर्केको दुइदिन पछि कोरोना टेस्ट हुन्छ।’ उनले भने, ‘हाम्रो  रिपोर्ट भोलिपल्टै आउँछ त्यसपछि मात्र अर्को शव व्यवस्थापनमा सहभागी हुन्छौँ।  महिनामा ४ पटक जति पालो आउँछ।’

फेसबुकको फोटोले परिवारले थाहा पाए

शव व्यवस्थापनमा आफू सहभागी नभएको भन्दै परिवारलाई ढाटी रहेका उनको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि सबै छक्क परेको विवेकले सुनाए। ‘घरमा त टाढिरहेको थिएँ। एक्कासि फेसबुकमा फोटो आएपछि सबैले थाहा पाउनुभयो। चिन्तित पनि हुनुभयो तर मैले सबै कुरा भनेपछि केही सहज भएको छ’ उनले भने

शव व्यवस्थापन कार्यमा लागेपछि उनले श्रीमतीलाई भेट्नसमेत पाएका छैनन्। शव व्यवस्थापनपछि उनीहरु आर्मीको क्वारेन्टाइनमा बस्ने गर्छन्। विवेकसँगै आर्मीका खेलाडी सुरज महतो पनि शव व्यवस्थापनमा खटिरहेका छन्।

एन्फा एकाडेमीका उत्पादन विवेकले उमेर समूहका सबैजसो प्रतियोगिता खेलेका छन्। उनी २०७१ चैतमा आर्मीमा भर्ना भएका थिए। गणभित्र हुने बाहिनी, पृतना हुँदै खेल अगाडि बढाए। २०७२ सालमा भएको प्रतियोगितामा जगदल गणबाट उत्कृष्ट हुँदै विवेकले विभागीय टिम त्रिभुवन आर्मीबाट खेल्ने अवसर पाए।

त्यसपछि अहिले फुटबल क्षेत्रमा आफुलाई प्रमाणित गर्दै आएका छन्। गृह जिल्लामा भएको तेश्रो माईभ्याली गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बन्दै उनले मोटरसाइकलसमेत पाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.