|

पर्सा : पर्सामा ज्यान गुमाएकामध्ये ६० प्रतिशत कोरोना संक्रमित दीर्घरोगी रहेको पाइएको छ। हालसम्म यहाँ ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यी मध्ये २६ जना दीर्घरोगी रहेका छन्‌। 

पर्सास्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा बाराको महागढीमाई नगरपालिका-१० का ६० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राती निधन भयो। उनी मधुमेहका दीर्घरोगी पनि भएको अस्पतालले जानकारी दिएको छ। गएको भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा भर्ना भएका थिए। 

सोमबार दिउँसो नै कोरोना संक्रमणबाट पर्साको वीरगन्ज महानगरपालिका–३० लालपर्साका ५४ पुरुषको मृत्यु भयो। उनी पनि मधुमेह, उच्च रक्तचाप, दम र मृगौलारोगी रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्‌। अस्पतालको आइसीयु कक्षमा उपचार भइरहँदा उनको निधन भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताए। पुराना रोगी समेत भएका उनलाई बचाउने प्रयास विफल भएको उनको भनाई छ। 

दीर्घ रोगमा कोरोना थपिएपछि मृत्यु

वीरगन्जको आदर्शनगरका व्यापारी (भारतीय नागरिक) को पनि गएको साउन ११ गते कोरोनाबाट मृत्यु भयो। उनी पनि मुटु रोगी भएको अस्पतालले जनाएको थियो। कोरोना संक्रमण पुष्टि भई साउन ९ गते मृत्यु भएकी वीरगन्जको रानीघाटकी ८५ वर्षीया वृद्धा पनि मुटुरोगी थिइन्‌।

​त्यसैगरी, वीरगन्जको रेशमकोठीका ६८ वर्षीय पुरुषको पनि कोरोनाबाट निधन भएको थियो। साउन ११ गते कोरोनाबाटै मृत्य भएको भनिएका ती पुरुषमा पनि मधुमेह र मुटुको समस्या रहेको अस्पतालले जानकारी दिएको थियो।

साउन १६ गते ज्यान गुमाएकी वीरगन्ज १६ नगवाकी ५० वर्षीया महिला र अर्का मृतक जगदम्बाका सिइओ (भारतीय नागरिक) मा पनि उच्च रक्तचाप तथा मुटुको समस्या रहेको थियो। यस्तै, साउन २१ गते ज्यान गुमाएका वीरगन्ज भिस्वाका ४६ वर्षीय पुरुष पनि मधुमेहका दीर्घ रोगी थिए।

दुई वर्षयता मिर्गौलाको समस्या भोगिरहेका सिरहा गोल बजारका २५ वर्षीय कोरोना पुरुषको पनि साउन २३ गते थप उपचारका लागि धरान लगिएकामा त्यहीँ ज्यान गएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपनि उपचार नै नपाई साउन २५ मा निधन भएकी वीरगन्जको छपकैयाकी २० वर्षीय महिला पनि दीर्घरोगी रहेकी थाहा भएको थियो। ज्यान गुमाएका यी सबै संक्रमितले कोरोना महामारी फैलनुअघि नै कुनै न कुनै स्वास्थ्य समस्या भोगिरहेको पाइएको छ।

हप्तामा २ पटक डायलाइसिस गर्नेले पनि जिते, तर हेलचेक्रयाइँ नगरौं : डाक्टर सिंह

नारायणी अस्पतालको कोरोना विशेष उपचार अभियानमा सुरुबाट नै खटेका डाक्टर निरज कुमार सिंह भन्छन्, ‘पर्साका कुल ४२ मृतकमध्ये २६ जना जतिमा दीर्घ रोग पनि पाइयो।' कोरोना संक्रमण थपिएपछि दीर्घरोगीलाई निकै सकस हुने गरेको उनको भनाइ छ।

'हुन त हप्तामा २⁄२ पटक डाइलाइसिस गराउँदै आएका दीर्घ रोगीहरुलाई पनि ठिक पारेर पठाइयो। उनीहरुले पनि कोरोना जिते। तर त्यसो भन्दैमा अधिकांश घटना दीर्घरोगसँग जोडिएका छन्, हेलचेक्रयाइँ नगरौं,' उनले भने।   

कोरोना महामारीका बेला संक्रमित भई ज्यान गुमाएका माथि उल्लेखित व्यक्तिहरुको मृत्युको कारण कोरोना नै भएको मान्न नसकिने चिकित्सकहरू बताउँछन्‌। वीरगन्ज अर्थात प्रदेश नम्बर २ मा कोरोनाको कारण मृत्यु भएका भनिएका अधिकांश पूराना रोगबाट ग्रसित रहेको पाइएको छ। निरोगीलाई भन्दा साविकमा केही रोग भएकालाई कोरोना संक्रमण पनि थपिएपछि कठिन हुने उल्लेखित तथ्यांकले देखाउँछ।

वास्तविकता बुझौँ : बुद्धिजीवि

दीर्घरोगीलाई कोरोना संक्रमण भएपछि पुरानो रोगको उपचारमा वास्ता नगर्ने र कोरोना संक्रमणका कारण बढी चिन्ता लिने गर्दा थप समस्यामा पारिरहेको बुद्धिजीविहरू बताउँछन्‌। संक्रमण भइहाले पनि दीर्घरोगको उपचारमा उत्तिकै ध्यान दिनुपर्ने र थप अनुसन्धान गर्नुपर्ने उनीहरूको भनाई छ।

दीर्घरोगीलाई कोरोना संक्रमण हुनै नदिन सजगता अपनाउनु अझ बुद्धिमानी हुने बुद्धिजीवि मध्येका एक डा. विश्वम्भर शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.