|

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा यतिखेर अन्यत्रभन्दा तीव्र गतिमा कोरोना भाइरस फैलिरहेको जनाएको छ। 

यतिखेर संक्रमित संख्याका हिसाबले ब्राजिललाई उछिन्दै भारत दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा अमेरिका छ। 

कोरोना महामारी असरको ताजा तथ्यांक अध्यावधिक गरिरहेको जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार भारतमा अहिलेसम्म ४७ लाख ५४ हजार ३५६ जनामा कोरोना संक्रमण भइसकेको छ। संक्रमितमध्ये ७८ हजार ५८६ जनाको ज्यान गएको छ। 

यसबीच कोरोना चपेटामा फसेका विभिन्न देशले स्वास्थ्य सजगता अपनाउँदै संक्रमण फैलावट नियन्त्रणमा लिएका छन्। तर भारतमा सार्वजनिक स्वास्थ्यका अवस्था र बसोबास शैलीका कारण अनपेक्षित रुपमा संक्रमित संख्या बढिरहेको छ।

जारी महामारीबाट बढी प्रभावित भएका मुलुकमा संक्रमण नियन्त्रणमा आउँदैछ, तर भारतमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ। दैनिक एक लाख हाराहारीमा संक्रमित भेटिन थालेका छन्। 

विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रतिवेदनअनुसार शनिबार मात्रै भारतमा ९४ हजार ३७२ जना नयाँ संक्रमित थपिएका छन्। जब कि, सबैभन्दा बढी प्रभावित अमेरिकामा सो दिन ४५ हनार ५२३ जना संक्रमित फेला परेका छन्।

भारतमा दिनहुँ एक हजारभन्दा धेरै संक्रमितको मृत्यु हुने गरेको छ। हालै भारतले उछिनेको ब्राजिलमा बितेका २४ घण्टामा ८७४ जना संक्रमितको मृत्यु भएको छ।
बितेका २४ घण्टामा विश्वभर पाँच हजार ५०० जना संक्रमितको ज्यान गएको छ।

जारी महामारीमा ज्यान गुमाउनेको संख्या नौ लाख १७ हजार ४१७ पुगेको छ। विश्वभर दुई करोड ८० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.