|

स्याङ्जा : ग्रामीण भेगका बस्तीहरु खाली हुँदै गएका छन्। ग्रामीण भेगबाट सहर केन्द्रित हुने घर परिवारको कारण गाउँका घरहरु खाली भएका हुन्। 

स्याङ्जामा भने यस्तै खाली घरको प्रयोग गर्दै कृषि पेशा गर्ने युवा कृषकको संख्या बढ्न थालेको छ। वर्षाैँदेखि प्रयोगमा नआएका र बसाइँसराइको कारण फालिएका ग्रामीण क्षेत्रका घर अहिले फार्म हाउसमा परिणत हुन थालेका छन्।

वालिङ–१० मा तीनजना युवाले वर्षौँदेखि बन्द रहेको घरमा बाख्रापालन गरेका छन्। उनीहरुले फालिएको घर भाडामा लिएर सोही घरलाई खोरमा परिणत गरेका छन्। १८ रोपनी क्षेत्रफल जमिनसहित प्रयोगविहीन रहेको घर भाडामा लिएर कृषि फर्म सञ्चालन गरेको कृषक भरत श्रेष्ठ बताउँछन्।

‘गाउँघरमा फालिएका घरको सदुपयोग गरेका छौँ,’ उनले भने, ‘यस्ता घरमा कृषि पेशा सञ्चालन गर्दा लगानी नै कम लाग्दो रहेछ।’

लकडाउनकै कारण पेशा परिवर्तन गर्नेको संख्या पनि बढेको छ। उनीहरुले कृषि पेशालाई सुरक्षित मान्ने गरेका छन्। वालिङ–१० का चित्रबहादुर घर्ती यातायात व्यवसायी हुन्। लकडाउनको कारण घर्तीले व्यवसाय परिवर्तन गरी कृषि कर्मको थालनी गरेका छन्। उनले भने, ‘बसमा खिया लाग्यो, बाख्रा पालनतिर लागें।’

घर्तीजस्तै पेशा परिवर्तन गरेर कृषि क्षेत्रमा लाग्ने युवाहरु ह्वात्तै बढेका छन्। कृषिमा लागेका युवाहरुले गाम्रीण क्षेत्रमा प्रयोगविहीन रहेका घर समेत सदुपयोग गर्न थालेका वालिङ–१० का वडा अध्यक्ष अनन्तराज गैरे बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.