अहिलेको आवश्यकता भेन्टिलेटरभन्दा अक्सिजन

|
एकजना कोरोना संक्रमितको उपचार गरिँदै। तस्विर : थाहाखबर

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पहिलो पटक पुष्टि हुँदा लक्षण देखिएको थिएन। युरोप र चीनबाट आएका नागरिकमा संक्रमण देखिए पनि उनीहरु बिरामी परेका थिएनन्। 

चीनबाट आएका एकजना पुरुष लक्षणविहीन थिए, जो केही दिनमै निको भए। त्यसपछि युरोपबाट आएकाहरुमा पनि कुनै लक्षण देखिएको थिएन। गत माघदेखि वैशाख-जेठसम्म संक्रमण देखिए पनि संक्रमितहरु बिरामी परेका थिएनन्। उनीहरु अस्पताल भर्ना भए पनि आरामले उपचार गरेर घर फर्किने गरेका थिए। 

असारसम्म अधिकांश भारत र तेस्रो देशबाट आउनेमा संक्रमण देखिएको थियो। तर साउनमा सरकारले चार महिना लामो लकडाउन खोलेसँगै मानिसको चहलपहल बढेर कोरोना समुदायस्तरसम्म पुग्यो। यसले स्थानीय संक्रमण फैलिन पुग्यो। त्यसयता भेटिएका संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिने गरेको छ।

त्यहीकारण संक्रमितहरु बिरामी परेर आइसियु र भेन्टिलेटरसम्म पनि पुग्‍ने क्रम बढ्दो छ। एकातिर संक्रमण समुदायस्तरमा पुग्‍नु अर्कोतिर लक्षणसहितका संक्रमित दिनहुँ बढ्दै जाँदा कोभिडकै उपचारका लागि तोकिएका अस्पताल अहिले भरिभराउ छन्। 

अक्सिजन थेरापी

त्यसमा पनि अक्सिजन थेरापी दिनुपर्ने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। काठमाडौं उपत्यकासहित बाहिरका अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण पाइन्छ। जसमध्ये रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या अधिकाशंमा देखिने र केहीमा निमोनिया समेत देखिने गरेको चिकित्सकले बताउँदै आएका छन्।  

कोभिड देखिएपछि आइसियुमा भर्ना हुनुपर्ने अधिकांश संक्रमितलाई अक्सिजन थेरापीको आवश्यक पर्ने चिकित्सकहरु बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगी आज आइसीयुमा १६९ जना र भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ।

दिनहुँ आइसियु र भेन्टिलेटरमा जानेको संख्याले अक्सिजन दिनुपर्ने कोरोना संक्रमित दैनिक बढ्दै गएको देखाउँछ। विज्ञहरु कोरोनाविरुद्धको भ्याक्सिन पत्ता नलागेसम्म अक्सिजन थेरापीको सहायताले कोरोना संक्रमणबाट हुन सक्ने मृत्युको जोखिमलाई कम गर्न उपाय रहेको बताउँछन्। कोरोनाले फोक्सोमा असर गरेर श्वासप्रश्वासमा समस्या हुने भएकाले संक्रमणपछि लक्षण देखिएका अधिकांशलाई अक्सिजन थेरापीको आवश्यक पर्छ।

अक्सिजनबारे सोचौं

संक्रमितको संख्या दैनिक बढिरहँदा अक्सिजनको पर्याप्ततातर्फ ध्यान केन्द्रित गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। अस्पतालहरुले पनि कोरोना संक्रमितको उपचारका लागि अक्सिजन तयार अवस्थामा राख्नुपर्ने सुझाव विज्ञहरुको छ।

सामान्यतः कोरोना संक्रमण भई शरीरमा अक्सिजनको मात्रा कम भएपछि अक्सिजन थेरापी दिने गरिन्छ। कोरोना संक्रमित सबैलाई अक्सिजनको आवश्यक पर्दैन। तर गम्भीर खालका लक्षण देखिएका र श्वासप्रश्वासमा समस्या भएकालाई अक्सिजन दिनै पर्छ।

विशेषगरी कोरोना संक्रमण भई निमोनिया भएका, श्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। ‘लक्षणसहितका संक्रमितका लागि अक्सिजन थेरापी अनिवार्य जस्तै छ', उनले भने, 'सरकारले हरेक स्वास्थ्य संस्थामा अक्सिजनको प्रयाप्त व्यवस्था गर्नुपर्छ।'

भेन्टिलेटरको भन्दा अहिलेको आवश्यकता प्रयाप्त अक्सिजन रहेको डा. पुन बताउँछन्। ‘लक्षण देखिएका संक्रमित धेरैमा श्वासप्रश्वासको समस्या हुन्छ। त्यसैले  अहिले भेन्टिलेटरभन्दा अक्सिजनको व्यवस्था गर्नुपर्छ', उनले भने, 'भेन्टिलेटरमा राख्नु पर्ने संक्रमितको संख्या अक्सिजन थेरापी दिनुपर्ने संक्रमितको तुलनामा कम पनि छ।'

स्वस्थ व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी भएको अवस्थालाई सामान्य मानिन्छ। पुनका अनुसार बयस्क र स्वस्थ्य व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा कम भएमा तथा दमका बिरामीमा ८८ देखि ९२ प्रतिशत कम भए अक्सिजनको आवश्यक पर्छ। शुक्रराज अस्पतालमा भर्ना हुने यिनै संक्रमितलाई अक्सिजन दिइने गरेको उनले बताए।

उनका अनुसार कोरोना पोजिटिभ भएर लक्षण देखिएका ४० प्रतिशतमा माइल्ड अर्थात् हल्का लक्षण भएका खोकी लाग्‍ने, ज्वरो आउने, गन्ध थाहा नपाउने आदि समस्या छन्। अन्य ४० प्रतिशतमा मोडरेट खालका लक्षण छन्। 

लक्षण देखिएर सिकिस्त बिरामीलाई मात्र अक्सिजनको आवश्यक पर्ने उनले बताए। सिकिस्तमध्ये ७५ प्रतिशत संक्रमितलाई अक्सिजन मात्रै दिएर पनि बचाउन सकिने बताउँदै उनले बाँकीलाई मेकानिकल भेन्टिलेटरको आवश्यक पर्न सक्ने उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.