विधिमात्रै गरेर बुङ्गमतीमा विसर्जन

|

ललितपुर : वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुङ्गमती लगिएको छ। आज विहान साइतमा पूजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मछिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुङ्गमती लगिएको हो। 

गत वैशाखमै बुङ्गमती लग्नुपर्ने भएपनि कोरोना महामारीका कारण अन्योल भएको थियो। कोरोनाकै कारण यो वर्ष भोटो पनि देखाइएन। विगतमा भोटो नदेखाएर मछिन्द्रनाथलाई बुङ्गमती लगिएको इतिहास नभएको जानकारहरु बताउँछन्।

कोरोना भाइरसले यस पटकको मछिन्द्रनाथको रथजात्रा प्रभावित बन्यो। कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण जात्रा हुने नहुने अन्यौल थियो। अन्योलकै बीच केही दिनअघि स्थानीय युवाहरुले जवरजस्ती पुल्चोकबाट रथ तान्‍न खोज्दा झडप समेत भएको थियो। 

जिल्ला प्रशासन कार्यालयहरूले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका बेला युवाहरुले जवरजस्ती रथ तान्‍न खोजेपछि झडप भएको थियो। प्रशासनले त्यस क्षेत्रमा एक दिन कर्फ्यु आदेश समेत जारी गरेको थियो। 

अवस्था असहज बन्‍ने देखिएपछि सरोकारवालाहरूले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुङ्ग्याउने निर्णय गरेका थिए। त्यही अनुसार आज बुङ्गमती लगिएको हो। विगत वर्षहरुमा लगनखेलको इटीटोलबाट तानेको चौथो दिनमा भोटो देखाएर मात्रै बुङ्गमती लग्ने प्रचलन भएपनि यो पटक भने सम्भव भएन। 

उपत्यकामा दिनदिनै बढीरहेको कोरोना संक्रमणको जोखिमका कारण यसपटक भोटोजात्रा नै नगरी रातो मछिन्द्रनाथलाई बुङ्गमती फिर्ता लगिएको हो। मछिन्द्रनाथलाई बुङ्गमती फिर्ता लग्ने दिन राष्ट्रपति लगायतका विशिष्ट अधिकारीहरु जात्रा अवलोकनका लागि गरेको भएपनि यो वर्ष सम्भव भएन। 

बुङ्‍मतीबासीहरु रातो मछिन्द्रनाथलाई स्वागत गर्न ठूलो संख्यामा भेला भएका थिए। यसअघि साउन १० गते मछिन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहँ रथारोहण गरिएको थियो। 

मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्गमतीमा राख्‍ने चलन रहे पनि यस वर्ष कोरोना संकटका कारण लगभग नौ महिना मच्छिन्द्रनाथ पाटनमै रहेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.