नेकपा प्रवक्तालाई प्रश्‍न : कोरोनाको संकट धुन बजाएरै आएको हो?

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्‍नका लागि कुलमान घिसिङले अनावश्यक दबाब र लविङ गरेको आरोप लगाएका छन्। 

सत्तारुढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानले फेरि नियुक्ति पाउने विश्‍वास आफूले लिएको कुरा सामाजिक सञ्‍जालमा सेयर गरेपछि त्यसको जवाफमा थापाले यस्तो आरोप लगाएका हुन्। 

नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख रहेका श्रेष्ठ र उपप्रमुख थापाबीचको यो आरोपप्रत्यारोपले सोमबारदेखि सामाजिक सञ्‍जाल तताएको छ। थापाले कुलमानको पक्षमा आफ्ना आफ्ना मत अभिमत भए पनि खुला लबिङले प्राधिकरणमा फेरि आउने बाटै बन्द हुन सक्ने पनि उल्लेख गरेका छन्। 

'कुलमान घिसिङको पक्ष-विपक्षका यतिबेला आ-आफ्ना मत-अभिमत होलान्। मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्‍ने झमेलामा पर्न रुचि छैन', उनले भनेका छन्, 'एक अवधि पूरा गरेर हिजो बिदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको खुला लबिङले कतै 'कुम्लो बोकी ठिमीतिर' जस्तो पो भयो कि?'

प्रवक्तामाथि अर्को प्रश्‍न 

नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका थापाले प्रचार विभाग प्रमुख श्रेष्ठले निजी हिसाबमा स्वयमसेवी दस्ता परिचालनको घोषणा गरेको भन्दै अर्को प्रश्‍न उठाएका छन्।

'प्रवक्ताको व्यक्तिगत सचिवालय अन्तर्गत '...अहिले आए आँसुजस्तो' गरी निजी हिसाबमा स्वयम्सेवी दस्ता परिचालनको घोषणा अर्को उदेकलाग्दो जानकारीमा आयो। यो संगति र सरोकार नै नभएको कुरा भयो। चैत १० गतेदेखि लकडाउन गरेर सिंगो देश कोरोनासँग जुध्‍न सक्रिय छ', उनले अगाडि भने, 'जसको पार्टी जिम्मेवारी स्वयमसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहीँकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएमसी र राज्यका विभिन्‍न निकायहरू लागेर गरिरहेका छन्।'​

​उनले पार्टी प्रवक्ताले यसरी व्यक्तिगत निर्णयबाट स्वयमसेवक परिचालन गर्न संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नभएको भन्दै प्रश्‍न गरेका छन्। 'बितेका ६ महिनासम्म केही गर्नु नपर्ने, सातौं महिना लाग्‍ने बेला यो के गर्न खोजिएको होला?', उनले भनेका छन्, 'आपतविपद (कोरोना संकट) भनेको अहिले धुन बजाउँदै आएको त होइन होला? कि यी दुवै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.