सांसदहरुको आग्रह : महिलालाई घरेलु काममा नपठाऊँ

|

काठमाडौं : विदेशमा घरेलु कामदारको अवस्थाबारे जानकारी गराउँदा एक सहसचिव बैठकमै भक्कानिएका छन्।  

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सोमबार विभिन्‍न देशमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरुको अवस्थाबारे छलफलमा पुगेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले घरेलु कामदारको अवस्थाबारे सुनाउँदा आफैँ भक्कानिए। उनी यसअघि नेपाली दूतावास साउदी अरबमा कार्यरत थिए। 

गृह, परराष्ट्र, श्रम, र महिला मन्त्रालयका प्रतिनिधि र सरोकारवाला सहभागी छलफलमा सहसचिव घिमिरे घरेलु कामदार नेपाली महिलामाथि भएको ज्यादतीबारे सुनाउने क्रममा पटक पटक भाव विह्वल भए ।

बैठकमा घिमिरेले भनेको कुरा जस्ताको तस्तै

एउटा उदाहरण दिन्छु– म साउदी अरबमै काम गर्ने सिलसिलामा एक जना नवलपरासीको महिला हुनुहुन्थ्यो।

म बस्ने क्वार्टरको साइडमा अरबी राष्ट्र सिरियाको एक व्यक्ति बस्थ्यो । ऊ एउटा कम्पनीको म्यानेजर थियो। मेरो र उसको कम्पाउन्ड वल्लो पल्लो थियो। बिहान ४ बजे उसले मेरो गेटको घण्टी बजायो।

उसले मलाई भन्यो कि एकजना महिला दुई घण्टादेखि सडकमा रुँदै लडिरहेकी छन्। मलाई लाग्छ कि तिम्रो देशको नागरिक हुनुपर्छ। एकपटक उनलाई हेर्नुहोला।

म तुरुन्तै घरबाट निस्किएँ। ती महिला उसले भनेको जस्तै अवस्थामा थिइन्। लुगा च्यातिएको, विक्षिप्त अवस्था‘ (यसो भन्दा सहसचिव घिमिरेको गला अवरुद्ध भयो)​

मैले आफ्नो स्टाफलाई बोलाएँ। मेरो श्रीमतीको लुगा लगाउन दिएँ । उनको हातखुट्टा भाँचिएको थियो। लगभग चार महिनासम्म स्वास्थ्योपचार गरियो। (फेरि भाव विह्वल भए)

कहाँ धाइएन त्यसबेला। त्यहाँको मानव अधिकार आयोग, पुलिस, प्रशासन सबैतिर पुगियो। तर, कतै पनि केही सुनुवाइ भएन ।

उनी नेपालबाट परिवार भित्रैको व्यक्तिले साउदी पठाएको रहेछ। तिमीलाई पठाउने मान्छे को हो, नेपालमा कारवाही हुन्छ भन्दा उनी नाम नभन्ने। पछि ठीक भएपछि टिकट काटेर घर पठाउने भइयो। घर जाने बेलामा त्यही व्यक्तिलाई फोन गरेर म आउँदै छु भनिन्।

बैठकमा के भने घिमिरेले भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.