|

कपिलवस्तु : सोमबार खुद्रा प्रति केजी ६० देखि ६५ रुपैयाँसम्म कारोबार भएको प्याजको मूल्य एक्कासि दोब्बर भएको छ। होलसेल व्यापारीले कालोबजारी गरेपछि मूल्य आकासिएको हो।

कपिलवस्तुको तौलिहवा र चन्द्रौटाको गल्लामण्डीका मंगलबार प्याज थोक मूल्य १ सय रुपैयाँमा बिक्री भएको छ। भारतबाट प्याज आयात नभएपछि स्टक राखेका व्यापारीले थोक मूल्य बढाएर कारोबार गरेका छन्। प्याजको आयात बन्द हुने हो भने मूल्य अझ उच्च हुने देखिएको छ। 

कपिलवस्तुको यशोधरा गाउँपालिका सुठौली भन्सार प्रमुख तीर्थराज पासवान भन्छन्, ‘हिजो २ ट्रक प्याज आयात भएको थियो। यसअघि दैनिक औसत ७ ट्रक प्याज आयात हुँदै आएको थियो। भारतले आयातमा प्रतिबन्ध लगाएको सुनिएको छ। तर आधिकारिक जानकारी अझै आएको छैन। आज प्याज आएको छैन। तौलिहवामा थोक बिक्री गर्दै आएका स्टार आलु तथा फ्रुट कम्पनीका सञ्चालकले नासिकबाट खरिद गरी ल्याएको २ ट्रक प्याज भारतीय भन्सारले छिर्न नदिएको बताए।

‘अहिले खुनुवा (भारतीय बजार) मा अरू व्यापारीको समेत गरी ६ ट्रक प्याज सीमा क्षेत्रमा रोकिएको छ। हामी प्याज कुरेर बसेका छौँ। तर भारतीय भन्सारका कर्मचारीले नेपाल छिराउन दिएका छैनन्,’ व्यापारीले भने।

आजै प्याज नेपाल छिर्न नपाएपछि थोक व्यापारीले स्टक लुकाउँदै मूल्य बढाएको एक खुद्रा व्यापारीले बताए। प्याज खरिद गर्दा थोक पसलेले सक्कल बिल जारी नगरी सादा पानामा लेखेर दिने गरेका छन्।

ती व्यापारीका अनुसार आज बिहानसम्म ६५ रुपैयाँ किलोमा प्याज बिक्री हुने गरेको थियो। बिहानै एक जना आएर ५० किलो सबै खरिद गरेर लगेपछि प्याज सकिएको र तौलिहवा गल्ला मन्डीमा मूल्य बुझ्दा दोब्बर पुगेको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.