|

काठमाडाैं : सरोकारवालाहरुले एसिड आक्रमण गर्नेलाई जन्दकैदको सजाय तोक्दै नैतिक पतनको फौजदारी अपराधको रुपमा व्याख्या गर्न सरकारलाई सुझाव दिएका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज भएको छलफलमा सरोकारवालाहरुले पीडकलाई जन्मकैदको सजाय हुनुपर्ने सुझाव दिएका हुन्।सरोकारवालाहरुले पीडितको सम्पूर्ण उपचारको खर्च पनि सरकारले व्यहोर्ने भन्ने कुरा कानुनमै उल्लेख गर्नुपर्ने बताएका छन्।

महिला अधिकारकर्मी रेणुराज राजभण्डारीले अपराधिले जन्मकैदको सजाय पाउनुपर्ने बताए। जन्मकैद सकिएपछि पनि थप ५ वर्ष सजाय पाउने व्यवस्था गर्न सकिए अझै राम्रो हुने उनको भनाइ छ।​पीडकले सजाय पाउनेसँगै पीडितले पाउने सपोर्टको विषय पनि कानुनमा आउनुपर्ने उनले बताए।

महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले एसिड आक्रमणसँगै अन्य जलाउने घटनाका दोषीहरुलाई पनि समेट्ने गरी जन्मकैदको व्यवस्था कानुनमा व्यवस्था गर्नुपर्ने बताए।

एसिड आक्रमण गर्नेलाई जन्मकैद हुने तर त्यसैगरी जलाउनेलाई कम सजाय हुने व्यवस्था तर्क संगत नहुने उनको भनाइ छ। सरकारले पीडितको खर्च पहिलो पटकको उपचारका लागि मात्रै व्यहोर्ने परिपाटीको अन्त्य गर्दै त्यसको प्रभाव रहँदासम्म सरकारले नै खर्च व्यहोर्ने प्रवाधान अपनाउनुपर्ने बताए।

उनले भने, ‘एसिडको कुरा गर्दा अन्य जलाउने घटनाका कुरालाई पनि समेट्ने गरी कानुनको व्यवस्था हुनुपर्छ। एसिडलाई जन्मकैद हुने तर त्यसैगरी जलाएकोलाई फेरी ८ वर्ष वा ३ वर्ष हुने गर्दा तर्क संगत हुन्न होला। उपचारका लागि समस्या छ। सरकारले खर्च व्यहोर्ने गरेको त छ तर यो त अस्पताल कति पटक जाने र कतिपटक डिस्चार्ज हुने भन्ने टुंगो नहुने रहेछ।' 

कानूनी सहायता परामर्श केन्द्र (ल्याक) का अध्यक्ष तथा अधिवक्ता अनिता थपलियाले छुट्टै विशेष ऐन ल्याउनुपर्ने बताउँदै प्रत्येक अस्पतालको इमेजेन्सी कक्षमा बोन युनिट हुनुपर्ने बताइन्। उनले पीडकलाई आजीवन काराबासको सजायसँगै गम्भीर प्रकृतिको फौजदारी र नैतिक पतनको अपराधको रुपमा व्याख्या गर्नुपर्ने बताइन्। 

मन्त्री शिवमाया तुम्बाहाङ्फेले छलफलमा आएका सुझावलाई समेट्दै बढ्ने बताइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते बालुवाटारमा एसिड पीडितहरुसँगको भेटमा १५ दिनभित्र कानुनको मस्यौदा ल्याउने प्रतिबद्धता जनाएका थिए। उनले पीडितहरुको उपचार, शिक्षा र रोजगारीको सम्पूर्ण व्यवस्था गरिने पनि बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.