|

सल्यान : कपुरकोटका गाउँपालिकाका किसानले तीन महिनाको अवधिमा करिब सात करोड रुपैयाँको तरकारी निर्यात गरेका छन्।
 

बेमौसमी तरकारी तथा फलफूल बिक्रीबाट कपुरकोेट उपज संकलन केन्द्रमा ६ करोड ९८ लाख ३० हजार ८५२ रुपैयाँ भित्रिएको छ। गत जेठ २० देखि भदौ २६ गतेसम्मको तथ्यांकअनुसार कपुरकोट क्षेत्रबाट २० हजार ४४५ क्विन्टलभन्दा बढी तरकारी र फलफूल निकासी भएको छ।

जसमध्ये टमाटर मात्रै तीन करोड ८७ लाख ७५ हजार ३२४ रुपैयाँ, सिमी एककरोड १७ लाख ६९ हजार ८८१ रुपैयाँ किसानहरुले हात पारेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष टंकराज नेपालीले जानकारी दिए। यस्तै, ६७ लाख ५४ हजार ५०७ रुपैयाँ बराबरको काउली, १५ लाख ३३ हजार ६२२ बराबरको बन्दा, ४४ लाख २३ हजार १३० रुपैयाँ बराबरको भेडे खुर्सानी बिक्री भएको बजार केन्द्रको तथ्यांकमा उल्लेख छ।

कोरोना भाइरसका कारण यो वर्ष धेरै किसानहरुले कम मात्रामा तरकारी उत्पादन गरेकाले मूल्य बढी पाएको नेपालीको भनाइ छ। यस्तै, कोभिड १९ का कारण भारतबाट आउने तरकारी बन्द हुँदा यो वर्ष सल्यानका किसानहरुले राम्रो मूल्य पाएको किसानहरुको भनाइ छ। गत वर्ष कपुरकोट कृषि उपज संकलन केन्द्रबाट मात्र २६ करोडको ताजा तरकारी तथा फलफूल निकासी भएको थियो। 
कपुरकोटसँगै सल्यानका विभिन्न २८ वटा संकलन केन्द्रबाट तरकारी जिल्लाबाहिर निकासी हुँदै आइरहेको छ। 

पिसिआर रिपोर्ट अनिवार्य

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि कपुरकोटको तरकारी बजारमा सावधानी अपनाइने भएको छ।

कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले यसअघि बनाइएका नियमलाई पूर्ण रुपमा पालना गर्न व्यापारी तथा किसानहरुलाई आग्रह गरेको छ।

कतिपय ब्यापारीहरु पिसिआर रिपोर्टविना नै तरकारी संकलन केन्द्रमा प्रवेश गरेको भन्ने गुनासो आएपछि बजार प्रवेशमा थप कडाइ गरिने भएको हो। गाउँपालिका, प्रहरी प्रशासन, ब्यापारी, किसान तथा सरोकारवालासँग समन्वय गरेर कोरोना भाइरसको दृष्टिकोणले जोखिमजन्य देखिएका सबै क्रियाकलापमा प्रतिवन्ध लगाइने कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष टंकराज नेपालीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.