|
करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव ।

दैलेख : दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  जिल्लाको भैरवी गाउँपालिका-२ बडचिन्तमाई भन्ने ठाउँमा विद्युतको सहायक लाइनका लागि पोल गाड्ने क्रममा उक्‍त पोलले मेन लाइनमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ननैबहादुर सावतका अनुसार भैरवी गाउँपालिका २ का २४ वर्षीय पुष्कर थापाको घटनास्थलमै मृत्यु भएको र घाइते हुनेमा सोही ठाउँका २६ वर्षीय भूपेन्द्र थापा रहेको बताए।

करेन्ट लागेर घाइते भएका भूपेन्द्र थापाको दुल्लु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत लगिएको गाउँपालिका उपाध्यक्ष पदमकुमारी विष्टले बताइन्।

भैरवीमा विगत एक वर्ष अगाडिबाट सामुदायिक विद्युतीकरणको काम भइरहेको छ।

स्थानीयले सम्बन्धित निकायको लापरबाहीले नागरिकको ज्यान गएको भन्दै शव बुझेका छैनन्। उनीहरूले लाइन काटेर काममा लगाउनुपर्ने भए पनि सम्बन्‍धित निकायको खेलाँचीका कारण कामदारको ज्यान गएकाले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन्।

कामबारे कुनै जानकारी थिएन : प्राधिकरण

यता, विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद शाहले आफूलाई काम भएको बारेमा कुनै पनि जानकारी नआएको बताएका छन्। फोनबाटै पनि कामको जानकारी प्राप्त भएको भए काम हुने स्थानमा विद्युत सेवा अवरुद्ध गर्न सकिने थियो तर जानकारी नै नभएपछि प्राधिकरणको कुनै पनि कमजोरी नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.