|

युएई : भारतमा सन् २००८ बाट हरेक वर्ष सञ्चालन भइरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता यसपटक युएईमा आयोजना हुँदैछ।  १९ सेप्टेम्बर (शनिबार)बाट सुरु हुने बहुचर्चित यस प्रतियोगिताका लागि अहिले विश्वभरका ख्याति प्राप्त क्रिकेटर युएईमा छन्।

नेपालका चर्चित लेगस्पिनर सन्दीप लामिछानेले समेत सन् २०१८ बाट आईपीएलमा सहभागिता जनाउँदै आएका छन्। अघिल्ला वर्षहरु झैँ सन्दीप यसपटक पनि दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्नेछन्। सन्दीप आईपीएल खेल्ने एक मात्र नेपाली क्रिकेटर हुन्।

सन् २०१८ र २०१९ मा गरी यसअघि दुई सिजन आईपीएल खेलिसकेका सन्दीपले कुल ९ खेलमा १३ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सको वेभसाइटका अनुसार २०१८ मा सन्दीपले तीन खेलबाट पाँच र २०१९ मा ६ खेलबाट आठ विकेट हात पारेका थिए। 

दिल्लीले आफ्नो वेभसाइटमा सन्दीपलाई ‘नेपाली शेन वार्न’ उल्लेख गरेको छ। शेन वार्न अष्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। उनी आफ्नो जादुमय स्पिन बलिङबाट विश्वभर चर्चित थिए।

विमान छुटेपछि एक दिन ढिला

वेष्ट ईण्डिजमा भएको क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलिसकेर सन्दीप सोमबार युएई आइपुगेका छन्। सन्दीप आइतबार नै युएई आइपुग्ने भनिएको थियो। तर, यात्राको क्रममा विमान छुटेपछि सन्दीपको यात्रा एकदिन लम्बिएको बताइएको छ। सीपीएल सकेर अन्य खेलाडीसँगै न्यूयोर्क हुँदै युएई प्रस्थान गरेका सन्दीपको विमान न्युयोर्कमा छुटेको थियो।  उनी वेष्टइिण्डजबाट न्युयोर्क पुग्न समय लागेको कारण विमान छुटेको जनाइएको छ। 

क्यारेबियन लीग (सीपीएल)मा सन्दीपले ११ खेलमध्ये १० इनिङ्समा बलिङ गर्दै १२ विकेट लिए। ५.२७ को इकोनोमीमा बलिङ गरेका उनी यसपटक जमैका तलावाजबाट खेलेका थिए। सेमिफाइनलमा उनको टोली ट्रिनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो। 

आईपीएलमा यसपटक कठिन

आईपीएलमा सहभागिता जनाएसँगै विश्वभरका क्रिकेट लिगमा सन्दीपका लागि ढोका खुल्यो। उनले उत्कृष्ट प्रदर्शन गर्दै दाम र नाम दुबै आर्जन गरिरहेका छन्। २०१८ को आईपीएलमा ३ खेलमा मात्र मौका पाएका सन्दीपले २०१९ मा ६ वटा खेल खेले।

यसपटकको क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा पनि उनको प्रस्तुति उत्कृष्ट रह्यो। उनको टोली दिल्लीले सन्दीपको बलिङ नियालिरहेकै छ। तर पनि यसपटक उनले आईपीएलमा अन्तिम ११ भित्र मौका पाउने सम्भावना न्यून देखिन्छ। आईपीएल खेल्न युएई आइपुग्ने सबै विदेशी खेलाडीले कोरोनाविरुद्धको स्वास्थ्य निर्देशिकाअनुसार एक साता क्वारेन्टिनमा बस्ने र तीन पटकसम्म कोरोना परीक्षण गर्नु पर्नेछ। धेरैजसो खेलाडी क्वारन्टिन अवधि सकेर मैदानमा अभ्यासरत् छन्। तर, आईपीएल सुरु भइसक्दा पनि सन्दीप भने क्वारेन्टिनमै बस्नेछन्। 

उनको टोली दिल्ली क्यापिटल्सले आइतबार साँझ किङ्ग्स–११ पञ्जाबसँग खेल्नेछ। सन्दीपले यो खेल क्वारन्टिनमा बसेरै हेर्नेछन्। क्वारन्टिन अवधि सकिएपछि अभ्यासका लागि मैदानमा फर्किएर उनले प्रशिक्षक रिकी पोन्टिङ र कप्तान श्रेयश ऐयरसामु आफूलाई अन्य स्पिनरका तुलनामा अब्बल देखाउनु पर्ने छ।

आफू युएई आएर क्वारेन्टिनमा बस्न सुरु गरेको सन्दीपले पनि जनाउ दिएका छन्। गिटारसहितको फोटो सामाजिक सञ्जालमा राख्दै उनले गिटार भएपछि क्वारेन्टिन दिक्कलाग्दो नहुने उल्लेख गरेका छन्।  दिल्ली क्यापिटल्सले पनि सन्दीप युएई आइपुगेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेको छ, ‘देखो वो आ गया!’ अर्थात् ‘हेर्नुस् उनी आइपुगे!’

दिल्ली क्यापिटल्ससँग सन्दीपबाहेक अन्य दुई अनुभवी स्पिनर अमित मिश्रा र रवीचन्द्रन आश्विन छन्। टिमलाई आवश्वक पर्दा आश्विनले ब्याटिङ पनि गर्न सक्छन्। त्यसकारण भारतकै दुई स्पिनर हुँदाहुँदै दिल्लीले सन्दीपलाई टोलीमा समावेश गर्ने सम्भावना न्यून देखिन्छ।

एक खेलमा चारजना मात्र विदेशी खेलाडीलाई अन्तिम–११ मा राख्न पाइन्छ। तर, सन्दीपसहित कुल आठजना विदेशी खेलाडी दिल्लीसँग छन्। यी आठमध्ये चारजनाले मात्र अन्तिम–११ मा मौका पाउनेछन् । यस नियमले पनि सन्दीपलाई अप्ठ्यारो पार्न सक्छ।

आकाशको प्लेइङ–११ मा अटेनन सन्दीप

भारतका चर्चित क्रिकेट कमेन्टेटर आकाश चोपडाले केही दिनअघि दिल्लीको सम्भावित प्लेइङ–११ सार्वजनिक गरे। जसमा उनले सन्दीपलाई समावेश गरेका छैनन। 

आकाशले लेगस्पिनर सन्दीपको स्थानमा भारतका अनुभवी खेलाडी अमित मिश्रालाई स्थान दिएका छन्। आकाशले रविचन्द्र आश्विन, अक्षर पटेल र अमितलाई प्लेइङ सेटमा राख्दा सन्दीपलाई बाहिर राखेका हुन्।

आकाशले दिल्लीले ३ विदेशी खेलाउने अनुमान गरेका छन्। सिम्रन हिट्मायर, एलेक्स क्येरी र कागीसो राबाडलाई प्लेइङ–११ मा समेट्दै आकाशले प्लेइङ–११ तयार गरेका थिए।

आकाशले सार्वजनिक गरेका खेलाडीमा शिखर धवन, पृथ्वी शाह, श्रेयस ऐयर, सिम्रन हिट्मायर, ऋषभ पन्त, एलेक्स केरी, रविचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा र कागीसो रवाडा रहेका छन्।

यद्यपी, आकाशले सन्दीपको तारिफ भने गरे। क्यारेबियन प्रिमियर लिगमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेको आकाशले बताए। आकाशले यस पटक दिल्लीमा थुप्रै विकल्प रहेको कारण सन्दीप लगायत अन्य उत्कृष्ट खेलाडी मैदान बाहिर रहने सम्भावना समेत रहेको औँल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.