|

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालको पिसिआर ल्याबमा कार्यरत ६ जना प्रयोगशालाकर्मी संक्रमित भएका छन्। पिसिआर ल्याबमा कार्यरत १५ जना प्रयोगशालाकर्मी मध्ये ५ जना प्रयोगशालाका कर्मचारी र एक जना स्वयंसेवी संक्रमित भएका हुन्। 

कोरोनाका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गर्नेदेखि प्रयोगशालामा बसेर कोरोनाको संक्रमण भए नभएको एकीन गर्नका लागि पिसिआर परिक्षण गर्ने कार्यमा निरन्तर खटिँदै आएका प्रयोगशालाकर्मीहरु नै एक पछि अर्काे गर्दै संक्रमित हुन थालेका छन्। करिब दुई हप्ताको अवधिमा ६ जना संक्रमित  भएका हुन्। 

वैशाखको दोस्रोदेखि संचालनमा आएको  भेरीको पिसिआर ल्याबमा ३९ हजार २ सय जनाको  पिसिआर परिक्षण भई सकेको छ। परिक्षण भएका मध्ये २ हजार २ सय २४ जनामा संक्रमण पुष्टी भई सकेको छ। भेरी अस्पतालको पिसिआर ल्याब काठमाडौं उपत्यका बाहिर सबै भन्दा धेरै पिसिआर परिक्षण गर्ने ल्याब हो। 

सुरुवाती दिनहरूमा दैनिक  १० देखि १५ नमुना परिक्षणका गर्दै आएको भेरी अस्पतालको पिसिआर ल्याबमा पछिल्ला दिनहरूमा दैनिक ४ सय वटा सम्म नमुना परीक्षण हुदै आएको छ।   बैशाख ७ गते देखि निरन्तर रुपमा कोरोनाका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन र परीक्षणमा भेरी अस्पतालका प्रयोगशालाकर्मीहरु निरन्तर खटिँदै आएका छन्। एक तिहाई कर्मचारी संक्रमित भए पनि पिसिआर परिक्षण भने नियमित रुपमा संचालन भई रहेको प्रयोगशालाका ल्याब टेक्निसियन प्रसिद्ध ढकालले बताए।  

बाँके जिल्लामा मात्रै करिब २३ हजार ६ सय ९४ जनाको पिसिआर परिक्षण भई सकेको छ भने बाकेमा हाल सम्म १ हजार ५ सय ४६ जना संक्रमितको पहिचान भएको छ। पहिचान भएका संक्रमित मध्ये ४ सय २५  जनाको उपचार भई रहेको ८ जनाको मृत्यु भएको र १ हजार ४५  जना निको भएर घर फर्किसकेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.