निषेधाज्ञा र लकडाउन दुवै तरिकाले पनि विराटनगरमा घटेनन् संक्रमित

|

जनस्वास्थ्य विज्ञ भन्छन् : विषेश सावधानी नअपनाए प्रदेश १ को अवस्था असमान्य बन्छ

विराटनगरः : प्रदेश १ मा पछिल्लो एक महिनाको अवधिमा ३ हजार ९० जना कोरोना संक्रमित थपिएका छन्।

भदौ महिनाको यो अवधिमा दैनिक १ सय ३ जना संक्रमित थपिएका छन्। साउन ३० सम्मको अवधिमा प्रदेश १ मा २ हजार १० जनामा संक्रमण पुष्टि भएको थियो।

भदौ ३१ सम्म आइपुग्दा प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार एकसय पुगेको छ। भदौको अन्तिम दिन बुधबार मात्र प्रदेश १ मा १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश १ मा १४ साउनसम्ममा जम्मा संक्रमितको संख्या ९७५ संक्रमित रहेको थियो। त्यसबीचको १६ दिनमा प्रदेशमा १ हजार ३५ जना संक्रमित थपिएको देखिन्छ।

पहिलो पटकको लकडाउन खुलेसँगै प्रदेश १ मा समुदायस्तरमा कोरोना संक्रमण देखिएको थियो। विषेशगरी मोरङ जिल्ला त्यसमा पनि सबैभन्दा बढी विराटनगर प्रभावित बनेको थियो। अहिले पनि कोरोनाको हटस्पटका रूपमा नै विराटनगर रहेको छ।

कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो। तर, प्रदेश १ को राजधानी विराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको निष्कर्ष महानगरले निकालेको थियो।

साउनको १४ सम्म आइपुग्दा प्रदेश राजधानी विराटनगरमा जम्मा ६० जना मात्र संक्रमितको संख्या रहेको थियो। तर अहिले  भदौ ३१ सम्म आइपुग्दा त्यो संख्या बढेर १ हजार ९६४ पुगेको छ।

साउन १५ देखि भदौ ३१ सम्मको यो अवधिमा विराटनगरमा मात्र १ हजार ९०४ जना संक्रमित थपिएका छन्। जुन दैनिक थपिने संक्रमितको संख्या सरदर ४२ रहेको छ।

साउन १४ सम्मको अवधिमा विराटनगमा पुष्टि भएको आधाभन्दा बढी संक्रमितहरु ट्राभल हिस्ट्री नभएकाहरु रहेका थिए। सो समयमा सबैभन्दा बढी २४ जना प्रहरी सुरक्षाकर्मी र ९ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको पाइएको थियो। संघीय सरकारले गत साउन ६ गतेबाट लकडाउन हटाएसँगै मानिसको आवत–जावतमा खुकुलोपन आएपछि विराटनगरमा कोरोना संक्रमित बढेको हुँदा महानगरपालिकाले नै साउन १० गतेबाट तीन सातासम्म लकडाउन गर्‍यो।

महानगरले लकडाउन हटाएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर मानिसको बढ्दो गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गर्‍यो। र पनि संक्रमण भने विराटनगरमा कम हुन सकेको छैन। प्रदेश १ मा झापा, मोरङ र सुनसरीमा संक्रमित बढी छन्।

बढदो मृत्युदर

प्रदेश एकमा पछिल्ला दिनमा आएर संक्रमितको मृत्युदर बढेको छ। जसमा ४५ दिनमा ५३ जनाको मृत्यु भएको छ। २० भदौदेखि ३१ भदौसम्म आइपुग्दा १२ जनाको मृत्यु भएको छ। साउन १५ देखि भदौ २० सम्मको अवधिमा संक्रमितको मृत्यु हुनेको संख्या ४१ रहेको थियो। यसमा १२ जना प्रदेश २ का रहेका छन्।

संक्रमितहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,कोशी अस्पताल,कोशी कोभिड १९ उपचार केन्द्र,नोबेल मेडिकल कलेज,विराट मेडिकल कलेजका साथै मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रदेश नम्बर एकमा पहिलो पटक गएको साउन १५ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठानमा मोरङ सुनवर्सी गाउँपालिका ८ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको थियो।

संक्रमित पुरुष मृत्यु भएको प्रदेशमा पहिलो केस थियो। यो अवधिमा सबैभन्दा बढी प्रतिष्ठानमा उपचाररत २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

युवा पुस्ता बढी संक्रमित

कोरोनाको संक्रमणको दर बढेसँगै युवा अवस्थाका मानिसमा सबैभन्दा बढी संक्रमणको दर उच्च देखिएको छ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कुल ३ हजार  २१६ संक्रमितमध्ये ३५ दशमलव ५ प्रतिशत अर्थात् १ हजार १०८ जना संक्रमित रहेका छन्। त्यसैगरी, ३१ देखि ४० वर्ष उमेर समूहका ७ सय ८२ जना रहेका छन्। यो उमेर समूहमा २४ दशमलव ७४ प्रतिशत संक्रमित रहेका छन्।

४१ देखि ५० वर्ष उमेर समूहमा संक्रमण दर १३ दशमलव २६ प्रतिशत रहेको छ। संक्रमिति संख्या ४ सय १९ रहेको छ।

११ देखि २० वर्ष उमेरका ४ सय १० जना संक्रमित रहेका छन्। उनीहरुमा संक्रमणको दर १२ दशमलव ९७ प्रतिशत रहेको छ।

५१देखि ६० वर्ष उमेर समूहमा ७ दशमलव १२ प्रतिशत अर्थात् २सय २५ संक्रमित छन। शून्यदेखि १० वर्ष उमेर समूहका ८६ जनामा कोरोना संक्रमण देखिएको छ। प्रतिशत दर भने २ दशमलव ७२ प्रतिशत छ।

६१ देखि ७० उमेर समूहका मानिसमा संक्रमण दर २ दशमलव ६९ प्रतिशत अर्थात् ८५ जना संक्रमित छन्।

७१ माथिका १ दशमलव ४९ प्रतिशत अर्थात् ४७ जना मानिस संक्रमित छन्। प्रदेश एकमा दुई साताअघि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९१ वर्षीया एक वृद्धाले कोरोना जितेर घर फर्किएकी थिइन्।

प्रदेशमा २ हजार बढी डिस्चार्ज

पाँच हजार १ सय संक्रमितमध्ये बुधबारसम्म २ हजार १९४ जना संक्रमणमुक्त भएका छन्। एक हजार होम आइसोलेसनमा बसेका छन्।

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा संक्रमित बढी छन्। मन्त्रालयका अनुसार मोरङमा संक्रमितको संख्या २ हजार ३५४ छ। विशेष गरी तराईका जिल्लाहरु सुनसरीमा १ हजार ४०५, झापामा ७६५, उदयपुरमा १२७ जनामा संक्रमण देखिएको छ।

प्रदेश १ मा ४ बैशाख पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। ४ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ४ भुल्केमा रहेका १२ जनामा संक्रमण देखिएको थियो। ३२ साउनसम्म २ हजार १० जनामा संक्रमण देखिएको थियो। सो अवधिसम्म ६५ हजार ९३३ जनाको पिसिआर जाँच भएको थियो।

भदौ महिनामा मात्रै ४६ हजार १३० जनाको पिसिआर जाँच गराएको मन्त्रालयले जनाएको छ।

हालसम्म प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापामा पिसिआर जाँच हुँदै आएको छ। प्रदेशमा जम्मा १ लाख १२ हजार ६३ जनाको पिसिआर परीक्षण गरिएको छ। कोरोना जाँच गरिएकामध्ये ६ दशमलव ७ प्रतिशतको पिसिआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

विराटनगरमा घटेन सक्रमणको दर

कोरोनाको हटस्पट बनेको विराटनगरमा भदौ २ हजार २५४ जना संक्रमित हुनेको संख्या छ।

१६ साउनमा विराटनगरमा १ सय ७ जना संक्रमित रहेका थिए। १५ भदौसम्म आइपुग्दा यो संख्या बढेर १ हजार ९ पुगेको थियो। भदौ १५ यताको दुई सातमा यो संख्या बढेर २ हजार २५४ पुगेको हो। यो तथ्यांकले पनि विराटनगरमा संक्रमरको दर पछिल्लो एक महिनाको अवधिमा निकै बढेको देखिन्छ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि विराटनगरमा कोरोनाको संक्रमणको दर लकडाउन र निषेधाज्ञाको अवधिमा पनि खासै घट्न नसकेको स्वीर्काछन्।

‘समुदायस्तरमा प्रवेश गरेको संक्रमणलाई नियन्त्रण र रोकथाक गर्न निकै चुनैतीपूर्ण देखिएको छ’ उनी भन्छन् ‘एकातर्फ खुल्ला सिमानामा लुकीछिपी दुवै मुलकका नागरिक आउने जाने क्रम अहिले पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।’ जसका कारण महानगरका जुन अवस्थामा अहिले कोरोनाको कहर रहेको छ,त्यो उच्च तहमा छ,जे जति महानगरको प्रयासमा रोकथाम र नियन्त्रणको लागि काम भएको छ,त्यसमा सफलता मिलिसकेको अवस्था नरहेको मेयर पराजुलीले बताए।

महानगरले दुई पटक गरी १० भदौसम्म लकडाउन गरेको थियो। तर यो समयमा पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि संक्रमितको पहिचान गर्ने र परिक्षणको दर बढाउने काम खासै हुन सकेको छैन। ३१ सम्मको अवधिमा विराटनगर महानगरपालिकाले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै गएको १६ साउनमा नगरक्षेत्रमा लकडाउन गरेको थियो।

आवश्यक स्वास्थ्य सचेतता र परीक्षणको दायरा नबढाउँदा विराटनगरमा कोरोना भाइरस संक्रमणको दरमा कमी आउन सकेको छैन।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाको तथ्यांकअनुसार  विराटनगरमा ९ सय २ जना संक्रमित देखिँदा २ हजार ९०२ जनाको पिसिआर टेष्ट भएको थियो। अहिले २ हजार २५४ संक्रमित पुग्दा पिसिआर टेष्ट ८ हजार ७ ४६ जनाको भएको छ।

महानगरले १६ साउनमा गरेको लकडाउनका दिन विराटनगरमा १सय ७ जना संक्रमित भेटिएका थिए। साउन १६ देखि २५ गते एक सातमा यो संख्या बढेर २५६ जना पुगेका थियो।

यता, जनस्वास्थ्य विज्ञ डा नवराज सुब्बाले लकडाउन खुलेसँगै नागरिक तहबाट  स्वास्थ्य सावधानी अपनाउने कुरामा कमजोरी भइरहेकाले भविष्‍यमा अझ संक्रमणको दर बढ्ने बताए।

‘राज्यतहबाट पनि पछिल्ला समय नागरिकलाई सचेतना जनाउने कार्यमा शिथिलता आएको देखिएको छ,’ जनस्वास्थ्य विज्ञ सुब्बाले भने, ‘यदि राज्य तहबाट जनचेतना जनाउने काममा शिथिलता आउने र नागरिक तहबाट स्वास्थ्य सावधानी नअपनाउने हो भने, भोलिको दिनमा योभन्‍दा पनि असमान्य दिन आउने देखिन्छ।’

मुख्‍यतया विराटनगरमा गरिएको लकडाउन र निषेधाज्ञाको समयमा पनि कोरोनाको संक्रमणको दर असमान्यतर्फ उन्मुख हुँदै गएकोले राज्य र नागरिक तहबाट सबै त्यसतर्फ सचेत र सजग हुन आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.