असोज ११ गतेबाट जोरबिजोर प्रणालीबाट बोलाइयो

|

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले असोज ११ गतेबाट जोरबिजोर प्रणालीबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। लामो समयदेखिको बन्दाबन्दीले विद्यार्थीको पढाई रोकिएको भन्दै नगरपालिकाभित्रका विद्यालयमा जोरबिजोरबाट पढाई सञ्चालन गर्ने निर्णय गरेको हो। 

नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बुधबार शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।  उनका अनुसार पहिलो चरणमा असोज ११ गते आईतबार देखी असोज २५ गते आइतबारसम्म जोरबिजोरबाट कक्षा सञ्चालन गरिने छ। पहिलो चरणमा कक्षा १ देखि कक्षा १२ सम्म जोरबिजोर गरी पढाइनेछ।

‘लकडाउनका कारण समयदेखि विद्यालय बन्द छन,’ उनले भने,‘धेरै बालबालिकाको पढाई रोकिएको छ। वैकल्पिक माध्यमबाट कक्षाकोठा जस्तो प्रभावकारी हुँदैन। त्यसैले स्कुलले विद्यार्थीहरूलाई २ देखि ३ सिफ्टमा विभाजन गरी स्कुलमै पठनपाठन गराउने निर्णय गरिएको हो।’

उनले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने बताए। उनका अनुसार कक्षा १ देखि कक्षा ५ सम्म बिहान ११ बजेदेखि २ बजे सम्म पढाई सञ्चालन गरिने छ।

कक्षा ६ देखि कक्षा १२ सम्म बिहान ७ बजेदेखि १० बजेसम्म र आवश्यकता अनुसार दिनको ३ बजेदेखि ६ बजेसम्म पढाई सञ्चालन हुने छ। उनले भने, ‘हामीले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी पढाई सुचारु गर्ने छौँ। एक दिन स्कुलमा आएका विद्यार्थीलाई तीन दिनसम्म पुग्नेगरी होमवर्क दिइने छ। बढीमा हप्ताको ३ दिन मात्रै स्कुलमा पठनपाठन गराइने छ।’

अभिभावकले विद्यालयमा पठन पाठन गर्न पठाउँदा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गराएर मात्रै पठाउनुपर्ने उनले सुनाए। उनले नीजि विद्यालयले अतिरिक्त शुल्क भने लिने पाउने निर्णय पनि भएको बताए।

‘पहिलो चरणमा दशै अगाडी सम्म पठनपाठन हुन्छ,’उनले भने,‘तिहार पछि दोस्रो चरणको कार्यक्रम ल्याउने छौँ।’ गाउँमा भएका विद्यार्थीहरु रोकिएमा वैकल्पिक माध्यमबाटै पढ्नुपर्ने उनको भनाई छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.