|

काठमाडौं : ​कोरोना संकट चुलिएसँगै सरकारले विदेशबाट आउनेका लागि राजधानीका ठाउँ ठाउँमा होल्डिङ सेन्टर बनाएको छ।

भदौ २० गतेसम्मको तथ्यांक अनुसार विदेशबाट आएका करिब ६० हजार जनालाई होल्डिङ सेन्टरमा राखेर घरसम्म पुर्‍याइएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सेनाको कमाण्डमा सरकारले तोकेका उपत्यकाका विभिन्‍न क्षेत्रका होल्डिङ सेन्टरमा पुर्‍याउने गरिएको छ।

कोरोना महामारीबीच सरकारले तोकेको क्षेत्रमा स्वास्थ्यकर्मीहरूले २४ घण्टा उनीहरूलाई स्वास्थ्य परीक्षणदेखि काउन्सिलिङसम्म गरिरहेका छन्। विदेशबाट आएकाको स्वास्थ्य जाँचदेखि काउन्सिलिङसम्मको भूमिकामा छिन् सविता रेग्मी !

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा संचालित 'एक विद्यालय एक नर्स' कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिका -११ स्थित बिष्णु देवी शिक्षा सदनमा उनी काम गरिरहेकी थिइन्।

कोभिड-१९ को संकटबीच प्राथमिक अस्पताल थानकोटमा कार्यरत उनी प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार उनी स्वास्थ्य कार्यालय टेकुको समन्वयमा धुम्बाराहीस्थित स्काई जोन पार्टी प्यालेसको होल्डिङ सेन्टरमा पुगिन्।

होल्डिङ सेन्टरमा सविता मात्रै छैनन्, उनी जस्ता अन्य ८ जना स्वास्थ्यकर्मी पनि जुटेका छन्। उनीहरूले सुरुदेखि नै विदेशबाट आउनेको सामाजिक, मानसिक र शारीरिक स्थितिको अध्ययन र जाँचमा सहयोग गर्दै आएका छन्।

विश्वव्यापी महाव्याधि बनेको कोभिड-१९ को संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थाका नेपालीलाई सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ बमोजिम काठमाडौँ जिल्लाका ४ वटा होल्डिङ सेन्टरहरूमा उनको टिम पुगेको थियो।

'यति पार्टी प्यालेस, कुण्डलिनी दरबार ब्यांकेट, पानस पार्टी प्यालेस र स्काई जोन पार्टी प्यालेसमा हामी ८ जना विद्यालय नर्सहरु नेपाली सेनासँग कार्यरत थियौं। अहिले ४ जना साथी बाँकी छौं,' उनी भन्छिन्।

होल्डिङ सेन्टरमा के हुन्छ?

होल्डिङ सेन्टरमध्ये उनी लगायत उनको टीम गण्डकी प्रदेशको लागि बनेको स्काई जोन पार्टी प्यालेस विद्यालय नर्स काठमाडौँ स्वास्थ्य कार्यलय टेकुको समन्वयमा २४ सै घण्टा काम गरिरहेका छन्।

'हामीले यहाँ स्वदेश आउने नागरिकलाई स्वास्थ्यकर्मीको तर्फबाट सुरुमा एयरपोर्टबाट ल्याएपछि बसबाट निकालेर हात धुने ठाउँमा हात धुन लगाउँछौँ। त्यसपछि हेल्थ डेस्कमा ज्वरो मापन गरि मेडिकल समस्याहरु सोधेर व्यवस्थापन गरिदिने गरेका छौँ', सविताले भनिन्, 'गर्भवतीहरुलाई गर्भवती सेवासम्बन्धी जानकारी दिन्छौं। कोभिड नियन्त्रण र रोकथामका उपाय, दीर्घ रोगीहरुको लागि अस्पताल पठाउनेसहित एम्बुलेन्स व्यवस्थापनमा सहयोग गरिरहेका छौँ।'

यसका अलवा ज्वरो मापन सँगसँगै पीसीआर, फिट टु फ्लाइट को रिपोर्ट पनि चेक गरी त्यही अनुसार अनलाइन इन्ट्री फर्ममा भेरिफिकेसनका साथै उक्त फर्म पनि भर्ने काम होल्डिङ सेन्टरमा हुने गर्छ।

यती मात्र होइन, नोकरी गुमाएर मानसिक तनावमा आएका नेपाली हरुलाई परामर्श सेवा दिने काम पनि त्यहाँ हुने गरेको छ।

कोरोनासँगको लडाइ

उनको १३ वर्षको नर्सिङ अनुभवमा कोरोनाको डर सबैभन्दा बढी उनीले महसुस गरेकी थिइन्। सुरु सुरुमा जति नै डर लागे पनि अहिले अग्रपंक्तिमा विभिन्‍न समूह सँगसँगै मिलेर काम गर्दा कोरोना भाइरससँग अभ्यस्त भइसकेको रेग्मी बताउँछिन्।

'सुरु सुरुका दिनहरूमा हामीलाई घरपरिवार र छिमेकीहरूसँग जति नै अप्ठ्यारो स्थिति सिर्जना भएको थियो। घर जान नगरेपनि हुन्थ्यो जस्तो लाग्थ्यो', उनले भनिन्, 'अहिले भने परिवार आफन्तलाई सम्झाउन सकेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.