यस्तो छ नयाँ सदस्यताको मापदण्ड

|

काठमाडौं : तल्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी बनेको दुइ वर्ष नाघ्यो। तर, पार्टी एकताको काम अझै सकिएको छैन।

पार्टीभित्र अन्तर्विरोधका कारण नेकपा फुटको सँघारसम्म धकेलियो। यद्यपि, महिनौंसम्म चलको विवाद समाधान भयो। भदौ २५ गतेको स्थायी कमिटीको बैठकसँगै नेकपाभित्र देखिएको सबै समस्या हल भयो। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको सहमतिको प्रस्ताव बैठकबाट पास भएसँगै नेकपाभित्रको विवाद अन्त्य भयो। 

पार्टीभित्रको युद्धविराम रोकिएसँगै दोस्रो केन्द्रीय कमिटीको निर्णयअनुसार चैत्र २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन गर्ने निर्णय भएको छ। पार्टी महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी संगठन विभागले आफ्नो सक्रियता बढाएको छ। 

पार्टी एकताको बाँकी काम नसकिरहेका बेलामा संगठन विभागले भदौ २७ गते बैठक बसेर मंसिर महिनाभित्रमा सदस्यता नवीकरणको सक्‍ने निर्णय गरेको संगठन विभागको सदस्य खगराज भट्टले बताए।  

असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय भएको उनले बताए। 

नेकपाको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वामदेव गौतम, उपप्रमुख जनार्दन शर्मासहित सदस्यहरू मातृका यादव, खगराज भट्ट, हरि अधिकारी, रेखा शर्मा सदस्य छन्। 

यस्तो छ पार्टी निर्देशन 

केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता-एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्‍न गर्नुपर्ने निर्णय भएको छ। विवादका कारण अवरुद्ध एकीकरण प्रक्रियालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय गर्नेछ। 

पार्टी विधानअनुसार महानगर कमिटीको स्तर, मर्यादा र जिम्मेवारीलाई बुझ्‍ने तथा कार्यान्वयन गर्ने सन्दर्भमा विद्यमान अन्योलले एकीकरण प्रक्रियामा बाधा सिर्जना गरेको छ। विधानअनुसार महानगर कमिटीको मर्यादा जिल्ला कमिटीसरह हो। महानगर कमिटी सम्बन्धित जिल्ला कमिटीको मातहत हुन्छ। यही मान्यताअनुरुप महानगर कमिटीको एकीकरण कार्य सम्पन्‍न गर्नेछ। 

अन्तर्विरोध र असमझदारीले कतिपय जिल्ला र सो मातहतमा पार्टी कमिटीहरू गठन हुनसकेका छैनन्। अब विवाद समाधान गर्न सबै तहबाट एकताको कामलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ। एकीकरणका क्रममा कतिपय स्थानमा मापदण्ड उल्लङ्घन भएका छन्। अनुशासन लगायत अन्य विषयहरूमा उजुरी तथा गुनासोको समेत सम्बोधन गरिने भएको छ। 

आगामी असोजभित्र सत्य–तथ्य यकिन गरी पार्टी विधान तथा नियमावलीको प्रबन्ध र निर्धारित मापदण्डको आधारमा यस्ता समस्याहरूको समाधान गर्ने जिम्मेवारी केन्द्रीय संगठन विभागले काम गर्नेछ। 

'सचिवालयको निर्णयअनुसार अघि बढ्छ'

संगठन विभागकी सदस्य रेखा शर्माले संगठनको सबै काम आइतवार बस्‍ने सचिवालय बैठकपछि तिव्र रुपले अघि बढ्ने बताउँछिन्। ‘पार्टीले यी सबै बिषयमा छलफल गरिसकेको छ। अब आइतवार बस्ने सचिवालयले निश्‍चित कार्यदिशा तय गर्छ। त्यही अनुरुप हामी अगाडि बढ्छौँ’, उनले भनिन्। 

संगठनको काम प्रदेश जिल्ला हुँदै तल्ला तहसम्म लैजाने तयारी भइरहेको उनले बताइन्। ‘कोरोनाका कारण संगठनको काम प्रभावित हुनपुग्यो। अब निश्चित मापदण्ड बनाएर तोकिएको समयमै संगठनको काम सक्छौँ’, उनले भनिन्, ‘पार्टीको सबै तह परिचालन गरेर मङ्सिरभित्र सदस्यता नवीकरण सक्ने तयारी गरिरहेका छौँ।’

पार्टी एकतापूर्व तत्कालीन एमालेले ९ लाख र माओवादी केन्द्रले ७ लाख भन्दा धेरै संगठित सदस्य रहेको दाबी गरेको थिए। तर, एकतापछि नवीकरणको काम नसकी कति सदस्य छन भन्‍न सक्ने अवस्था नरहेको सदस्य शर्मा बताउँछिन्। 

नयाँ सदस्यता मापदण्ड? 

कोरोनाको प्रकोप भएपनि निश्‍चित मापदण्ड बनाएर सदस्यताको नवीकरण सक्ने स्थायी कमिटी सदस्य तथा संगठन विभाग सदस्य मात्रिका यादवले बताए। 

‘धेरै ठुलो कुरा बाँकी छैन। अलिक धेरै समस्या प्रदेश २ मा छ। त्यहाँ पनि छलफलबाट समाधानको बाटो निस्किहाल्छ,’ उनले भने, ‘त्यसका लागि केन्द्र, प्रदेश र जिल्लामा एकसाथ काम थालेपछि मङ्सिरसम्ममा सदस्यता नवीकरणको काम सहजै सकिन्छ।’

दुवै पार्टीको पुराना संगठित सदस्यको नवीकरण गर्दा नयाँ सदस्यहरु पनि थपिने उनले बताए। ‘अन्य पार्टीबाट आएका र यही पार्टीभित्र क्रियाशील रहेकालाई पनि सदस्यता दिन्छौँ। यही पार्टीमा क्रियाशील त सबै जिल्ला तहलाई जानकारी भइहाल्छ,’ उनले भने, ‘अन्य पार्टीबाट आएकाहरुको पनि पृष्ठभूमि हेरेर जिल्ला तहले निर्णय गर्छ।’ 

यसअघि नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले चैत मसान्तभित्रै नवीकरण सक्ने निर्णय गरेको थियो। तर कोरोनाका कारण संगठनको काम प्रभावित बनेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.