|

इलाम : कोरोनाका कारण सरकारले लगाएको लकडाउनपछि अहिले देशभरका बजार पुरानै अवस्थामा फर्कने प्रयासमा छन्। तर, नेपाल भारत सीमाको पशुपतिनगरका पसलका सटरहरूमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ।

६ महिना अघिसम्म नेपाल–भारत सीमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारमा भारतीय पर्यटकहरुको घुइँचो हुने गर्‍थ्यो। पर्यटकहरुको चापले थामिनसक्नु हुने सडक आजकाल खाली देखिन्छ। धेरैजसो पसलका सटरहरु बन्द छन्।

खुलेका पसलहरुमा पनि ग्राहक नहुँदा सुनसान प्राय नै देखिन्छ। कोही पसलमा आएको देख्दा पनि व्यापारीको खुसीको सीमा हुन्न।

कोरोनाका कारण सीमा नाका ठप्प भएपछि भारतीय पर्यटक नआउँदा करिब ४ दशकभन्दा लामो समयदेखि पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई विस्थापनको चिन्ताले सताएको छ।

‘४० वर्षभन्दा बढी भयो पशुपतिनगरमा पसल थालेको यस्तो कहिले भएको थिएन। नेपाल बन्दमा पनि पसल खुल्ला नै हुन्थ्यो।’ उनले भने, ‘दिनभरि ग्राहक रुघेर बस्यो कहिलेकाहीँ त बोहनी नै नभई पसल बन्द गर्नुपर्छ। भारतीय पर्यटकले टिकेको बजार हो पशुपतिनगर।’

पशुपतिनगर बजारमा बाह्रै महिना भारतीय पर्यटकहरूको चाप रहने गर्‍थ्यो। अहिले कोरोनाको कहरले ६ महिनादेखि व्यपारीहरूलाई घरभाडा तिर्न नै धौ धौ छ। कतिपय व्यापारीहरू व्यवसाय बन्द गरेर घर फर्किसकेका छन्। कोरोनाको कहर लम्बिए विस्थापित हुनुको विकल्प नभएको व्यवसायी शेषलाल यादव बताउँछन्।
‘वार्षिक रुपमा २ लाख रुपैयाँभन्दा बढी घर भाडा तिर्नुपर्छ।’ उनले भने, ‘पसल खोले पनि ग्राहक आउँदैनन् यस्तै हो भने पसल बन्द गरेर हिँड्नुपर्छ।’

कतिपय व्यवसायीहरू पुरानै अवस्थामा फर्कने आसमा घरभाडा तिरेर नै बसेका छन्। संकटमा रहेका व्यवसायीहरू सरकारबाट सहयोग हुनुपर्ने माग राख्छन्। ‘पशुपतिनगर मात्र हैन सीमाको सबै बजारका व्यवसायीको अवस्था उस्तै छ। सीमा खोल्ने केही कुरा छैन। न सरकारले हेर्छ न व्यपार व्यवसाय हुन्छ।’

महालक्ष्मी स्टोरका सञ्‍चालक सुधीर भन्छन्।  लकडाउनका कारण घर गएको व्यवसायीहरू फर्कन नसक्दा पसलमा रहेका सामाग्रीहरूमा ढुसी पलाउने चिन्ता बढ्दै जान थालेको छ। केही वर्षअघिसम्म भारतीय व्यपारीहरुको लागि फेन्सी सामग्री एवं फरेन गुडस खरिदको नजिकको बजार पशुपतिनगर नै थियो।

चीनबाट आउने धेरैजसो लत्ताकपडा, फेन्सी सामग्री, जुत्तालगायत सामग्रीहरू खरिद गर्न भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, सिलगुडी लगायतका स्थानबाट व्यपारीहरु आउने गरेका थिए। तर, अहिले भारतीय बजारमा सोझै यस्ता सामग्रीहरू पाउने थालेपछि पशुपतिनगर बजार सुक्दै गएको हो। अर्कोतर्फ कोरोनाले झन्झन् आक्रान्त बनाएको अवस्थामा व्यपारी पलायन रोक्न नै चुनौती रहेको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउँछन्।

सरकारले लगाएको लकडाउनपछि अहिले देशभरका बजारहरू फाट्फुटट् खुले पनि पशुपतिनगर बजारमा भने धेरैजसो सटरहरूमा अझै पनि ताला नै लागेको छ। कोरानाको कहरपछि लगाइएको लकडाउन खुलेको झण्डै २ महिना बिते पनि धेरै जसो व्यवसायीहरु पशुपतिनगर बजारमा फर्कन सकेका छैनन्।

स्थानीय सरकारले पसल खोल्नका लागि अवरोध नगरे पनि व्यापार व्यवसाय चौपट भएका कारण सीमाको बजार पशुपतिनगर अहिले संकटमा परेको वडा नं २ का अध्यक्ष चन्द्रकुमार सुब्बा गुनासो गर्छन्।

‘हामीले त व्यापारीहरूलाई पसल खोल्नु भनेकै छौँ। व्यापार व्यवसाय नै नहुने भएपछि धेरैले खोल्न सकेका छैनन्।’ सुब्बाले भने, ‘पशुपतिनगरको व्यापार नै भारतीय पर्यटकहरूबाट चलेको छ। उनीहरू नै नआएपछि बजारको सुनसान नै बनेको हो।’ पर्यटनको सिजन सुरु हुने बेला भए पनि कोरोनाको कहर नसकिँदा पशुपतिनगर शून्यप्राय नै छ।

भारतको कोलकत्ता, सिक्किम, चेन्नाई, मद्रास, मुम्बई लगायतका क्षेत्रबाट बर्सेनि हजारौँको संख्यामा पर्यटकहरू पशुपतिनगर आउने गरेका थिए। उनीहरूबाट नै यस क्षेत्रको व्यापार सञ्‍चालन हुने गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.