समस्या पन्छाउँदा स्वच्छ खानेपानीबाट नगरबासी वञ्चित

|

सर्लाही : बरहथवा नगरपालिका–५ मा रहेको खानेपानीको धारा संचालन नहुँदा स्वस्थ पिउने पानीबाट नगरबासी वञ्चित भएका छन्। बरहथवा नगरपालिकाले बाटो बिस्तार गर्ने क्रममा खानेपानीको पाइप नष्ट भएपछि ४ वर्षदेखि स्थानीयको धारामा पानी आएको छैन।

धारा बन्द भएको यतिको समय भइसक्दा पनि उक्त पाइपलाइन मर्मत हुन सकेको छैन। जसका कारण स्थानीय पानीको वैकल्पिक जाहो गर्न बाध्य भएका छन्। डोजरले खानेपानीको १० किलोमिटर बराबरको पाइपलाइन नष्ट भएको छ। 

बरहथवा नगरपालिका–५ हातिडण्डामा २०५३ सालमा निर्माण सुरु भएको खानेपानी संस्थाको ११ वर्षपछि २०६४ मा सम्पन्न भएको थियो। ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी सहितको बरहथवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २०६४ सालबाट खानेपानी वितरण सुरु गरेको थियो। 

एक दशकदेखि नियमित पानी वितरण गरेको संस्थाबाट ४ वर्षदेखि स्थानीयले पानी पिउन पाएका छैनन्। मानिसले पाउनुपर्ने अत्यावश्यक पानीमा पनि राजनीति भएकाले हजारौं मानिस स्वस्थ पानीबाट बन्चित हुनुपरेको स्थानीय रामगुलाम महतोले गुनासो गरे। 

लाखौं लगानी गरेर तयार भएको खानेपानी संस्थामा झण्डै ४ सयको हाराहारीमा उपभोक्ता रहेका समितिका अध्यक्ष दुखी महतोले जानकारी दिए। खानेपानी बन्द रहँदा संस्थामा भएको अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगिसकेका छन् भने भौतिक संरचनासमेत दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ। 

उक्त पाइपलाइन मर्मतका लागि झण्डै ५० लाख हाराहारीमा लागत लाग्ने अध्यक्ष महतो बताउँछन्। खानेपानी सञ्चालनका लागि आर्थिक वर्ष ०७५/०७६ र ०७६÷०७७ मा १० लाख छुट्याइएको थियो। महतो भन्छन्, ‘हामीले सम्पूर्ण कागजात तयार गरेको थियौं, तर २० प्रतिशत अग्रिम रकम नदिँदा सम्झौता हुन सकेन।’

दुई आर्थिक वर्षको २० लाख रकम फ्रिज भएको अध्यक्ष महतोले गुनासो गरे। नगरपालिकाले पाइपलाइन गाड्नसमेत नदिएकोले खानेपानी संचालन गर्न नसकिएको उनको आरोप छ। ‘नगरपालिकाले न मर्मत खर्च दियो, न पाइपलाइन गाड्ने ठाउँ दियो,’ उनले भने, ‘हामीले यस विषयमा नगरसँग पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन।’  

२ वर्षयता समितिको साधारण सभा तथा विभिन्न अनुदानका सामान लिने बाहेक कुनै काम हुन सकेको छैन। गत २०७३÷०७४ मा खानेपानीलाई ५ लाख बराबरको सोलार सहयोग प्राप्त भएर जडान समेत भएको थियो। तर पानी भने वितरण हुने कुनै छाँटकाट छैन। समितिले विभिन्न श्रोतबाट ३२ लाख रुपैयाँमा जेनेरेटर खरिद गरेर ल्याएको थियो त्यो पनि धेरै समय प्रयोगमा आएन, त्यसलगतै खानेपानी वितरण बन्द भएको हो। 

खानेपानी संचालन हुन नसक्दा संस्थाले १७ लाख रुपैयाँ बराबरको बिजुलीको बेरुजु रकमसमेत तिर्न सकेको छैन। संस्थाका केही कर्मचारीको तलब भत्ता पनि दिन नसकिएको अध्यक्ष महतोले बताए। संस्थाले साविक बरहथवा गाविसका सम्पूर्ण घरधुरीलाई पानी वितरण गर्दै आएको थियो। 

उक्त पाइपलाइन संस्था आफैंले मर्मत गर्ने अवस्थामा नरहेको र एक मात्र आशाको केन्द्र नगरपालिकाले समेत बेवास्ता गर्दा पुनः धारा संचालन हुनेमा स्थानीयको आशंका छ। 

यता उपभोक्त समितिको हठका कारण उक्त खानेपानी संस्था अलपत्र परेको बरहथवा नगरपालिकाले जनाएको छ। उपभोक्ता समिति आफू पनि राम्रोसँग खानेपानी संस्था चलाउन नसक्ने, योजना पनि नल्याउने र नगरपालिकालाई सुम्पन पनि नमानेकाले जनताले स्वच्छ खानेपानी नपाएका मेयर देवानन्द महतोले बताए।

मेयर महतोले भने, ‘लगानी गरेपछि दीर्घकालीन रुपमा जनताले पानि खान पाउने ग्यारेन्टी गर्नुपर्छ।’ स्वच्छ पानीको श्रोत नभएकोले उक्त स्थानमा एउटा भएको खानेपानी पनि बन्द रहनु दुर्भाग्य भएको उनले बताए। नगरपालिका कार्यालयले पटक पटक गरेको पहलमा समेत उपभोक्ताले बारम्बार ढिपी राखेकैले यो समाधान हुन नसेककेको मेयरको आरोप छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.