|

काठमाडौं : सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ। 

काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो। हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ। 

उनी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए। उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको हो। 

दुर्घटनामा दायाँ खुट्टा र दायाँ हात भाँचिएको थियो। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो। उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो। 

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन्। पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए। भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन्।

उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए। त्यसअघि उनले नेपालका लागि विभिन्‍न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.