जनकपुरधाम : सिरहा सदरमुकाममा रहेको कारागार कोरोना हटस्पट बनेको छ। आज फेरि ७ कैदीमा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित कैदीको संख्या ५ सय ७ पुगेको छ।
कारागार प्रमुख बबिता महतोले ५ सय ९९ कैदीमध्ये ५ सय ७ जनामा कोरोना पुष्टि भइसकेको जानकारी दिइन्। संक्रमित कैदीलाई कारागारमै राखिएको उनले बताइन्। भनिन्, ‘सबै संक्रमित कैदीको अवस्था अहिले सामान्य छ। डाक्टरले समय समयमा निगरानी गर्छन्।’
कारागारमा २ सय ७७ जना पुरुष, २० महिला र २ बालबालिका छन्। सबै कैदीलाई एकैठाउँमा राखिँदा संक्रमित नभएका कैदीहरु त्रसित बनेका छन्। उनीहरुले संक्रमित भएकाहरुलाई वा आफूहरुलाई नै अलग ठाउँमा लगेर राख्न माग गरेको बुझिएको छ। तर उनीहरुको मागप्रति कसैले चासो देखाएका छैन।
कोरोना संक्रमित बनेका कैदीहरु र अन्य कैदीहरु एउटै शौचालय प्रयोग गर्ने गरेको बुझिएको छ। कुन पनि व्यक्ति संक्रमित भइसकेपछि नेपाल सरकारको मापदण्ड अनुसारको ठाउँमा बस्नुपर्छ। तर यहाँ कोचाकोच गरी राख्दा सास फेर्न पनि समस्या भइरहेको कैदीहरुको गुनासो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।