|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन्।

सिंहको २३औं  स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिबारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन्।

`नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ। उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपाल र नेपालीको भलो हुन्छ´ सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको पनि बताए।

प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकाले गणेशमानलाई नेपाली जनताले सधैँ सम्झिरहने सिंहको भनाइ थियो। त्यस्तै, नेता सिंहले गणेशमान सिंहको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आह्‍वानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उहाँको नेतृत्व स्वीकारेका पनि सिंहले बताए।

सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्तभन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताए। त्यस्तै, नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताका लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताए।

मेडिकल सामग्री खरिदमा समेत घोटला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाइ थियो। दुईतिहाइ नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए।

देश संघीयतामा गइसके पनि सरकारको ध्यान केन्द्रीकरणमै रहेको भन्दै संविधानको मर्म र भावनाविपरीत नजान पनि सरकारलाई सचेत गराए।

जनताले करिब दुईतिहाइ मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यती होल्डिंग्स, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत काण्डमा मुछिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.