|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले असोज १० गतेबाट विद्यालय सञ्चाल गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण दर शून्य रहेको गाउँपालिकामा अहिले विद्यालय सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन भइरहेको छ।

गाउँपालिकामा रहेका बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेला बोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ।

अभिभावकसँगको छलफलपश्चात बालबालिकाको पढाइलाई नियमितता दिने गाउँपालिको सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता शिवराज भट्टले जानकारी दिए।

शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रिस्तरीय बैठकबाट पारित निर्णयअनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो।

निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विशेष कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिकाइ क्रियाकलापगर्न बाधा हुने छैन भन्ने निर्णयअनुसार अजयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडि विद्यालय खोल्ने पालिकास्तरीय निर्णय पारित गरेको छ।

कोभिड–१९ को अवस्था अजयमेरु गाउँपालिकामा समान्य रहेको भन्दै अभिभावकसँगको सल्लाहपछि विद्यालय खोल्ने जनाएको छ। भदौ ७ गतेसम्म गाउँपालिकाभित्र रहेका विद्यालयले अभिभावकसँग छलफल गरी सुझाव पेस गर्ने परिपत्रअनुसार भेला बोलाउन लागेको विद्यालयहरूले जनाएको छ।

तहअनुसार अभिभावकलाई निमन्त्रणा गरी छलफलबाट राय सुझाव संकलन गरी विद्यार्थीलाई समूह बनाई पठनपाठन सुरु गरिने बालकल्याण माविका प्रधानाध्यापक जगदीशसिंह भण्डारीले बताए।

गाउँपालिकाकै निर्णयअनुसार बालकल्याण माविले अभिभावकलाई असोज ७ गते चार समूहमा अभिभावकलाई आमन्त्रण गरेको छ। गाउँपालिकामा जम्मा ३२ वटा विद्यालय छन्।

धेरैजसो विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिएको भए पनि अहिले गाउँपालिकाभर कोरोना संक्रमित शून्य रहेका गाउँपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.