|

काठमाडौं : सरकारले कोरोना संक्रमण दर बढेपनि देशभर लामो, मध्यम दूरीका सार्वजनिक यातायात, होटल र व्यापारिक मलहरू सञ्चालन गर्न अनुमति दिइसकेको छ। अर्थतन्त्र र नागरिकको जीवनयापन सहज बनाउन भन्दै यातायातका साधन तथा अत्यावश्यक सेवा क्षेत्र खुलाइएको अधिकारीहरूले बताउँदै आएका छन्।

विभिन्न क्षेत्र खुलाउँदै गर्दा शुक्रबार मात्र नेपालमा दुई हजार २० संक्रमित थपिएका छन्‌। यतिखेर लकडाउन र निषेधाज्ञा खोलिएको छ। सर्वसाधारणहरू सार्वजनिक यातायातमै यात्रा गरिरहेका छन्। गाउँमा भित्रिने र बाहिरिने क्रम बढेसँगै संक्रमण अझ बढी फैलिने जोखिम रहेको छ।

झन्डै ६ महिनासम्म लगाइएको लकडाउन र निषेधाज्ञाको प्रभाव पनि खासै देखिएको छैन। मुलुकका अधिकांश भागमा लगाइएको निषेधाज्ञाको समयमा संक्रमितको संख्या बढेकै थियो। संक्रमितको संख्या थपिँदा पनि कन्ट्याक्‍ट्ट ट्रेसिङको काम प्रभावकारी रुपमा हुन सकेको छैन।

विभिन्न जिल्लाका केही स्थानमा समुदायस्तरमा कोरोना फैलिएको छ। एन्टिजेन विधिबाट कोरोना परीक्षण कार्य निजी अस्पतालबाट सुरु भएपनि सरकारी तहबाट अघि बढाइएको छैन।

कन्ट्याक्‍ट्ट ट्रेसिङ र पीसीआर परीक्षण दर काठमाडौं उपत्यकामा बढाइएपनि बाहिरी जिल्लामा कम रहेको पाइएको छ। संक्रमण फैलिइरहँदा कोरोना संक्रमितलाई आइसोलेट गरी उपचार प्रक्रिया बढाउनु पर्नेछ।

तथ्यांक र संक्रमण मामिला हेर्दा कोरोना जोखिम दिनप्रतिदिन बढ्दै गएको छ। औषधि, खोप लगायतका सामग्रीहरू परीक्षणमै रहेका छन्। औषधिजन्य सामग्री तत्काल आइपुग्ने अवस्था नरहेकोले नागरिकको दैनिक व्यवहारलाई लिएर संक्रमण बढ्ने या नबढ्ने त्यसमा भर पर्ने सरकारी अधिकारीको दाबी छ।

'आंकलन गर्न सकिँदैन'

दैनिक बढिरहेको संक्रमित संख्या विश्लेषण गर्दा नेपालमा कठिन समय सुरु भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन्। कहिलेसम्म संक्रमण दर बढ्दै जाने हो त्यसको आंकलन गर्न नसकिने उनको भनाई छ।

'संक्रमण दर बढ्न नदिनका लागि नागरिक जिम्मेवार हुनुपर्छ, सरकारी स्तरबाट संक्रमितको उपचार गर्नको लागि अस्पतालको तयारी गरिरहेको छ,' उनले भने, 'सरकारको तर्फबाट दैनिक सचेत रहनका लागि आग्रह गरिरहेका छौं। मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गर्नुपर्छ।'

चाडबाडका बेला संक्रमण दर अझ बढी फैलनसक्ने, तर यस्तो महत्वपूर्ण समयमा लकडाउन या निषेधाज्ञा जारी गर्न पनि अप्ठ्यारो पर्ने देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने उनी बताउँछन्‌। 'अब कोरोनासँग जुध्दै अगाडि बढ्दै जानुको विकल्प छैन, लकडाउन गर्दा पनि प्रश्न उठ्छ, खुला गर्दा पनि आलोचना हुन्छ, केही गर्दा पनि सहज छैन, त्यसैले अब यही अवस्था भोग्दै जानुपर्छ,' उनले थपे।

'परीक्षण दायरा बढाउनुपर्छ'

संक्रमण दर बढ्दै गएकोले नियन्त्रण गर्न विभिन्न उपाय अपनाएर सरकार जिम्मेवार हुने बेला आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्। नागरिक बाँच्नका लागि बाहिर आउने गरेको भएपनि सरकारले सुरक्षित रहनका लागि निर्देशन र विकल्पहरू दिनुपर्ने उनको भनाई छ।

'दिनहुँ संक्रमित संख्या थपिँदै जान्छ, लामो समयसम्म यस्तो स्थिति कायम रहिरहँदा सुरक्षित बस्‍न भनेर मात्र हुँदैन। अस्पतालमा आइसियु, भेन्टिलेटर र अक्सिजन सहितको बेडहरु निर्माण गर्नुपर्छ,' उनले भने, 'अहिले पनि परीक्षणको दायरा बढाउनुपर्छ। कन्ट्याक्‍ट ट्रेसिङ बढाउनुपर्छ। उपत्यकामा मात्र कन्ट्याक्‍ट ट्रेसिङ भएर हुन्न, अन्य जिल्लामा उत्तिकै दरमा बढाउनुपर्छ।'

'हतारमा लकडाउन खोलियो'

अहिले बढिरहेको संक्रमित संख्या विश्लेषण गर्दा समुदायमा कोरोना फैलिएर असर गर्न थालिसकेको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्। अर्थतन्त्र र नागरिकको जीवन धान्न सकस परेको र सबैको दबाब थेग्न नसक्ने भएकोले निषेधाज्ञा खोलेको हुनसक्ने उनले बताए।

'कोरोना संक्रमण चरम बिन्दुतर्फ फैलँदैछ, यस्तो बेलामा लकडाउन खोल्नु हुँदैन थियो,' कोइरालाले भने, 'हतारमा खोलिएको छ। दशैँमा अझ बढ्नसक्ने देखिएको छ। सरकार र नागरिक बढी जिम्मेवार हुनुपर्ने बेला आएको छ।'

अहिले गरिएको परीक्षण दायरा कम भएको र जतिसक्दो सबै स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिनलाई उनले उल्लेख गरे। एन्टिजेन विधिबाट सबै अस्पताललाई परीक्षण गर्न दिनुपर्ने उनको धारणा थियो।

'जाडो मौसम आउँदैछ, चिसोमा सक्रिय हुने भाइरसले अझ धेरै असर गर्नसक्छ,' उनी भन्छन्‌, 'कोरोना र अन्य भाइरसको लक्षण छुट्याउनै नसक्ने स्थिति पनि आउनसक्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.