अध्यक्ष तिमल्सिना भन्छन् : एउटा चुनाव हार्दैमा सबै चिज हारेको हुँदैन

|

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम सदस्य बनेर आउँदा संसदहै गरिमा बढेको बताएका छन्।

शुक्रबार सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उनले यस्तोबताएका हुन्। प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षमा पराजित केही नेताहरु अर्को प्रक्रियाबाट राष्ट्रियसभामा आएको सन्दर्भमा भइरहेको टिप्पणीलाई लिएर तिम्लसिनाले यसलाई नकारात्मकरुपमा हेर्न नहुने जिकिर गरे।

उनले राष्ट्रियसभाको विशिष्ठ चरित्र र भूमिका रहेको बताउँदै यसमा व्यक्तिहरुको छनोट गर्दा राजनीतिक योगदान, उमेर, वर्ग, विभिन्‍न पेशा, बौद्धिकता आदि सबैको मिश्रण हुने दाबी गरे।

'अहिले त्यहीअनुसार प्रतिनिधित्व छ। राजनीतिमा कुनै एक चुनाव हार्नु भनेको सबै चिज होइन। खास प्रयोजन र अवस्थामा मतहरु तलमाथि पर्न सक्छन् तर यसको अर्थ ती नेता सँधैभरि असक्षम वा काम गर्न नसक्ने भएका हुन् भन्‍ने हुँदैन', उनले भने, 'हारे पनि उहाँहरुले राजनीतिक काम गरिरहनुभएकै छ। देश र जनताकै लागि काम गरिरहनुभएको छ भने विधि र प्रक्रियानुसार  उहाँहरु फरक भूमिकाको जिम्मेवारीमा आउन सक्नुहुन्छ।'

उनले राष्ट्रियसभामा विगतमा प्रत्यक्ष चुनाव नलडेका पनि आएका बताए। 'राष्ट्रियसभामा विगतमा प्रत्यक्ष चुनाव नलडेका पनि धेरै आउनुभएको छ। बाहिर रहेकामध्येबाट आवश्यक परेकालाई यसमा ल्याउन पनि सकिन्छ। यसलाई अन्यथा लिनु पर्दैन', उनले अगाडि भने, 'राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको ओझ र गरिमा बढ्ने नै छ। यसलाई प्रधानमन्त्री हुन तयार वा योग्य खालका नेताहरुको रुचि र आकर्षणका रुपमा पनि लिन सकिन्छ। यसले राष्ट्रियसभाको महत्व बढाएको छ।'

तिमल्सिनाले वामदेवसहितका हारेका नेताले फेरि अर्को ठाउँमा चुनाव जित्‍न सक्ने बताए। 'उहाँहरु भोलि फेरि अर्को ठाउँमा निर्वाचन जित्‍न सक्नुहुन्छ। कतिपय प्रदेशबाट जितेर आउनुभएको छ। मनोनीत भएर आउनु भनेको पनि मन जितेर आउनु हो', उनले भने, 'सरकारले आवश्यक नठानी मनोनयन सिफारिस गर्दैन भन्‍ने विश्वास पनि गरौँ। त्यसकारण उहाँहरुले एक पटक निर्वाचन हार्नुलाई अपराधै गरेको वा सर्वनाक हार थियो भनिनु हुन्‍न।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.