|

पर्वत : अमेरिका जाने चक्करमा लागेर एक हप्तासम्म काठमाडौँ बसेर फर्किएका बागलुङ बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कैयाका २९ वर्षीय प्रदीपबहादुर सहनी अचेल गाउँमै छन्। 

अमेरिका जाने तयारीमा जुटेका हिजोआज सपनामा गाई भैँसी पालेको र बजारमा दूध लगेर बेचेको देख्न थालेका छन्।

 ‘यस्तै रहेछ सर अमेरिका भन्ने पनि। मलेसिया र दुबईमा त बसेर आएको हुँ। अमेरिका जान पाए धेरै नै कमाइ हुने सोचले जान भनी काठमाडौँमा एक हप्ता बसेँ, काम भएन अहिले गाउँमा छु,’ सहानी भन्छन्, ‘त्यो बेलामा अमेरिका जाने सपना देख्थेँ। अहिले गाई भैँसी पालेको, दूध बेचेको, घरमै बसेर छोराछोरीसँग खेलेको सपना देख्छु।’ विदेश गएर धेरै पैसा कमाउने भूत प्रदीपको मनबाट हराइसकेको छ।

सात महिना अगाडिबाट मात्रै गाई भैँसी पालनमा लागेका सहनी छोटो समयमै आफूलाई आर्थिक रूपमा बलियो पार्न सफल भएका छन्, सबैभन्दा खुसी गाउँमै बसेर केही गर्न सकेकोमा लागेको छ उनलाई। 

सहानीको गोठमा अहिले दूध दिने र ब्याउने बेलाका गरेर ३ वटा गाई र ६ भैँसी छन्। व्यावसायिक रूपमा दूध उत्पादन गरेर बिक्री गर्ने सोच बनाएका उनले लगानी गर्न पनि डराएनन्, एउटै भैँसीलाई डेढ लाख रुपैयाँ खन्याए। गाई र भैँसी खरिद तथा घाँस र परालको व्यवस्थापनमा उनको अहिलेसम्म २० लाख रुपैयाँ खर्च भएको छ। 

केही महिना अगाडि एक दिनमा ४० लिटरसम्म दूध बेचेका प्रदीपले गोठमा बाँधिएका सबै गाई र भैँसीले दूध दिन थालेपछि एक दिनमा ७० लिटरसम्म बिक्री गर्ने लक्ष्य राखेको बताउँछन्। 

यति बेला उनले दैनिक ३० लिटरभन्दा बढी दूध पर्वत सदरमुकाम कुस्मा बजार र फाटफुट घरबाटै बेचिरहेका छन्। ७ महिनाको अवधिमा सबैभन्दा बढी एक महिनामा एक लाख २० हजार रुपैयाँको दूधको कारोबार गरेको र ६० हजार खर्च कटाउँदा ६० हजार रुपैयाँ नै बचत गर्न सकेको उनले सुनाए। ‘विदेशमा महिनाभर रगत चुहिने गरेर मार्केटिङको काम गर्दा ४० हजार पाइन्थ्यो, त्यही पनि के के न पाइयो भन्दै खुसी लाग्थ्यो,’ सहनी थप्छन्, ‘अहिले परिवारसँग बस्दा स्वर्गमा बसेजस्तो भएको छ।’ 

दुःख–सुख परेको बेलामा घरमा छोरा नहुँदा परिवारमा पर्ने असरको पीडाभन्दा ठूलो विदेशमा हुने कमाइ नहुने उनको बुझाइ छ। आफूले जसोतसो कमाएको केही पैसामा ऋण थपेरै भए पनि आँटले व्यवसाय सुरु गरेका छन् उनले। 

२०६७ सालमा मलेसिया पुगेका प्रदीप त्यसको पाँच वर्षपछि ०७२ सालमा जन्मगाउँ कैयामा फर्किए। फेरि उनमा अमेरिकाले जाने सपना पलायो। लामै समय प्रयास पनि गरे, एक हप्तासम्म काठमाडौँ बसे, तर काम भने बनेन। आर्थिक अवस्था कमजोर बन्दै जाँदा उनी फेरि ०७३ सालमा दुबई हानिए। 

३ वर्षको बसाइमा केही पैसा जम्मा पारे, छुट्टी मनाउन ०७६ मा घर आए। फेरि दुबई नै फर्किन्छु भनी आएका उनलाई अब भने विदेश जान मन लागेन। छुट्टी मनाइरहेकै बेलामा गाउँमै गाईभैँसी पालन सुरु गरे। उनले व्यावसायिक रूपमा गरेको मिहिनेतले उनलाई सफल बनाएको छिमेकी तथा शिक्षक गोविन्द ढकाल बताउँछन्। 

लकडाउनमा फर्किएका धेरै युवाले कृषिमा लाग्ने हिम्मत गरेका थिए। स्थानीय तहहरूले पनि उनीहरूलाई कृषिमा लाग्न प्रेरणा दिने बताएको थियो। तर दुवै पक्ष कृषिमा लागेको नदेख्दा सहनीको मन भने केही दुखेको छ। 

‘हुन त म लकडाउनको बेलामा स्वदेश फिरेको मान्छे हैन। तर म आएको केही समयमा नै लकडाउन सुरु भयो। म पनि कोरोनाका कारण प्रभावित हुँ,’ प्रदीपले भने, ‘यहाँको चलन नै यस्तै भयो तनि पिर परेको बेलामा के के न गर्छु भनेर गफ दिने हामी, हामीलाई आश्वासन दिनेहरू पनि उस्तै। न त कसैले कृषिमा लाग्न सके, न त त्यसरी लागेकालाई कसैले भेटेर राम्रो गरिस् भनेर प्रेरणा नै दिन्छ।’

विदेशमा दुःख भोगेर आएका युवामा काम गर्ने जोस, जाँगर र सीप बढी हुने भएकोले स्थानीय सरकारहरूले उनीहरूलाई कृषिमा लाग्न प्रेरणा र सहयोग गरिदिनुपर्ने सुझाउँछन् उनी।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.