विदेशी पर्यटकको लागि गाइडलाइन आवश्यक

|

काठमाडौं : बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली बुधबार नेपाल आयो। लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत आएको सो टोली यतिखेर सात दिनका लागि गोकर्ण फरेष्ट रिसोर्टको क्वारेन्टाइनमा बसिरहेको छ।।

सरकारले विदेशी पर्यटकका लागि ट्रेकिङ र पर्वतारोहण क्षेत्र खुला गरिसकेको छ। घुम्न आउने पर्यटकले सात दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ। कात्तिक दोस्रो सातादेखि सीमित संख्यामा विदेशी नागरिक नेपालको पदमार्ग र पर्वतारोहण क्षेत्रमा जान सक्नेछन्‌।

कोरोना महामारीका बीच अन्तर्राष्ट्रिय उडान खुलेपछि पहिलोपटक हिमाल आरोहणका लागि भीआइपी पर्यटकका रूपमा बहराइनका राजकुमार नेपाल आउनुले पर्यटन क्षेत्रमा आशा गर्ने ठाउँ बनेको छ।

यतिखेर कोरोना महामारीले असर नगरेको कुनै क्षेत्र छैन। जारी महामारीको सबैभन्दा बढी असर त पर्यटन क्षेत्रमै परेको छ। होटल, रेष्टुरेन्ट, ट्रेकिङ र पर्वतारोहणको क्षेत्र शुन्यप्राय: बनेको छ। कोरोना भाइरस हुँदैन थियो भने यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुन्थे। विभिन्न हिमालमा आरोहण गर्ने पर्यटकको लर्को लागेको हुन्थ्यो।

महामारीले पाँच वर्षसम्म उठ्नै नसक्ने गरी थलिएको पर्यटन क्षेत्रमा राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने देखिएको छ। नेपालको पर्यटन बजार सधैं आन्तरिक पर्यटक भन्दा बाह्य पर्यटकले धान्‍ने गरेको छ।

विदेशी पर्यटकलाई आकर्षित गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा लागू गर्ने र पर्यटकलाई विशेष प्याकेज घोषणा गरी, तीन दिन क्वारेन्टाइन र विमानस्थलमा पीसीआर परीक्षण गर्ने व्यवस्थासहित सरकारले प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको पर्यटन व्यावसायी बताउँछन्।

'सरकारले पर्यटन क्षेत्र सुरक्षित छ भन्नुपर्छ'

महामारीका बीचमा पर्यटक र पर्वतारोहीको रूपमा राजकीय परिवारको भ्रमण हुनु पर्यटन क्षेत्रमा नेपालको लागि सुखद पक्ष रहेको नेपाल पर्वतारोही संघका अध्यक्ष शन्तवीर लामा बताउँछन्। अन्तरदेशीय सम्बन्धका कारणले राजकीय भ्रमण हुँदा नेपालको पर्यटन क्षेत्र फेरि चलमलाउने धेरै सम्भावना रहेको उनले बताए।

'स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्र सुरक्षित छ भनेर विदेशमा सूचना जारी गर्न सक्नुपर्छ। विशेष पर्यटक बोलाएर बिस्तारै सुरुवात गरिनुपर्छ,' उनले भने, 'सरकारले प्रभावकारी कदम चालेमा आगामी वर्षदेखि केही पर्यटक आउने सम्भावना रहन्छ। यही अवस्था रहिरहेमा भने केही वर्षसम्म पर्यटकको संख्या शून्यमा झर्ने सम्भावना छ।'

यतिखेर पर्यटन क्षेत्रमा आश्रित धेरैको रोजगारी गुमेको छ। पर्वतारोहीले हिमाल सफा गर्छौं भन्दा सरकारले सहयोग नगरेको उनले गुनासो गरे। हिमालको फोटो मात्रै प्रचार गर्नसके पनि विदेशी पर्यटक नेपालतर्फ आकर्षित हुने उनको दाबी छ।

'पर्यटकका लागि तीन दिन क्वारेन्टाइन'

निश्चित मापदण्ड अपनाएर पर्यटकीय क्षेत्र खुला गर्नुपर्ने ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बताउँछन्‌। नेपाल आउने विदेशी पर्यटकलाई सात दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था व्यवहारिक नभएको उनको भनाई छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटकीय बजारलाई पूर्ण रूपमा खुला गर्न सकिने उनको सुझाव छ।

'पर्यटकलाई सात दिन होइन, तीन दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनपर्छ, विदेशबाट पीसीआर परीक्षण गरेर आएका हुन्छन्‌,' सुवेदीले भने, 'विमानस्थलमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ। २-३ घण्टामा पीसीआरको नतिजा दिने व्यवस्थासहित राख्नुपर्छ।'

विदेशी पर्यटकको सरकारले गाइडलाइन बनाउनुपर्ने र स्थानीय तथा केन्द्र सरकार मिलेर पर्यटन क्षेत्रमा पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छ भन्ने आभास पर्यटकलाई दिलाउन सकेमात्र काठमाडौं बाहिर घुम्न जानसक्ने उनले बताए। अनलाइनबाट भिसा सुविधा व्यवस्था गरिनुपर्ने उनले सुझाए।

'कोरोना संक्रमण बढ्दै गए थप जोखिम'

नेपालमा कोरोना संक्रमण दर बढिरहेको बेला पर्यटकीय क्षेत्रमा झन्‌ प्रभावित हुँदै गइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङ बताउँछन्। पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडान नखुलेको अवस्थामा अहिले पर्यटन क्षेत्रबारे केही भन्न नसकिने उनले बताए।

'नेपालमा पहिलो कुरा कोरोना नियन्त्रण हुनुपर्‍यो। घुम्न आउने अधिकांश पर्यटकको सम्बन्धित मुलुकमा रोजगारी गुमेको छ,' उनले भने, 'आर्थिक रूपमा सक्षम भए भने विदेशी पर्यटक नेपाल आउँछन्। अर्थतन्त्र जोखिममा रहेको बेला घुम्न आउँछन भन्ने केही निश्‍चित छैन।'

कात्तिक दोस्रो सातादेखि सीमित विदेशी पर्यटकका लागि नेपाल प्रवेशको लागि अनुमति दिएको, तर ट्रेकिङ र हिमाल आरोहण गर्न आउनेको लागि मात्र नेपाल प्रवेश खुला गरिएको उनले प्रस्ट पारे।

मनोवैज्ञानिक रूपमै नेपाल सुरक्षित छ र घुम्‍न जान सकिन्छ भन्ने महसुस भएमा मात्र पर्यटकहरू नेपाल आउने उनी बताउँछन्‌। अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक मन्दी छाएकाले घुम्न खोज्‍नेका लागि पनि प्रतिकूल अवस्था रहेको तथा अहिले नेपालको पर्यटन क्षेत्रमा यसै हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको उनको भनाई छ। 'महामारीको अवस्थामा १५-२० जना पर्यटक आउँदैमा उत्साहित भइ हाल्नुपर्ने अवस्था छैन,' तामाङले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.